‘संस्कृतस्य सेवनं, संस्कृताय जीवनम्
लोकहितसमृद्धये भवतु तनु समर्पणम्।’
अर्थात् ‘संस्कृतको सेवन गर्दै संस्कृत भाषाको सेवाका लागि जीवन नै अर्पण गर्नुहोस्, साथै लोकहित र समृद्धिका लागि तपाईंको शरीर समर्पित होस्।’ यो गीतको भावार्थलाई जीवन्तता दिँदै पछिल्लो समय सक्रियताका साथ विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा संस्कृत भाषा पढाउनुपर्छ, भावी पुस्तालाई पनि वैदिक सभ्यताको सूत्रधार बनाउनुपर्छ भन्ने उद्देश्य लिएर अगाडि बढेका व्यक्ति हुन् योगराज रापकोटा। बालबालिकालाई संस्कार र संस्कृतिको पहिचान गराउने लक्ष्यका साथ ‘संस्कृतमय नेपाल: संस्कारमय समाज’ का लागि संस्कृत सोपानम् पुस्तक तयार पारी अभियान नैै चलाएर अगाडि बढेका छन् उनी।
संस्कृत भाषा संसारकै एउटा समृद्ध भाषा हो। संस्कृत नेपाली भाषाको जननी। संस्कृतबाट जस्ताको तस्तै र प्राकृत हुँदै शब्दहरू पाहुना लागेर नेपाली भाषा नै एक समृद्ध भाषा बन्न पुगेको नेपाली वाङ्मय नै हामीमाझ साक्षी छ। पूर्वीय वाङ्मयका रूपमा चिनिने संस्कृत वाङ्मय संसारकै पुरानो वाङ्मय र हिन्दु धर्मदर्शन संसारकै पुरानो वा पहिलो भनेर चिनिएको छ।
‘वेदमूलो संसारः’ संसारको सभ्यताको मूल वेद र वैदिक सभ्यता नै हो। वर्तमान समाजमा चलेका सामाजिक परम्परा, संस्कार–संस्कृति सबैको आधारबिन्दु खोज्दै जाँदा वैदिक सभ्यतामा पुगिने धर्मशास्त्र सप्रमाण प्रस्तुत हुन्छन्। यही वैदिक सारतŒवलाई मनन गर्दै पछिल्लो समय आफैं पुस्तक लेखन तथा सङ्कलन गरी यस क्षेत्रमा अहोरात्र तन, मन र वचनले समर्पित छन् उनी।
आइसल्यान्डमा सर्पको अभाव खड्किएझैँ समाजमा दया, माया, करुणा, सद्भाव, सहानुभूतिलगायत सम्पूर्ण मानवीय व्यवहारकै अभाव खड्किरहेको छ नेपाली समाजमा। पहिलो कारण हो, आयातित संस्कार र संस्कृतिको अन्तर्घुलन वा प्रभाव। दोस्रोमा विज्ञान तथा प्रविधिका साथै भौतिकताले जनमानसलाई नै जकड्नु। तेस्रो हो, पाठ्यक्रम विकास केन्द्रले धार्मिक, आध्यात्मिक तथा नैतिक विषयलाई नजरअन्दाज गर्नु। यसका साथै अरू पनि अनेकौं कारण छन्। तर यहाँ प्रसङ्ग समाजमा देखिएको आवश्यकता हो।
अहिले मानिस सबै कुराले सम्पन्न छ तर मानसिक तथा भावनात्मक रूपमा विक्षिप्त छ। मानसिक रोगी छ। समाज छ, परिवार छ, समुदाय छ तर आपसमा आत्मीयता छैन, परमात्माको चिन्तन त परै जाओस्। मानिसभित्रको आत्मा परमात्माको स्वरूप हो, जसको साधनाले मानिस आत्मिक शक्ति प्राप्त गर्दछ र मुक्तितर्फ उन्मुख हुन्छ तर मानिसले मुक्तिको मार्ग वा ईश्वरप्राप्तिका लागि पञ्चकोशमध्ये अन्नमय कोशको साधनाभन्दा अगाडि बढ्न सकेकै छैन। आत्मशुद्धिको अभावले मानिस तनावग्रस्त छ, विक्षिप्त छ, निराश छ, शून्यतातिर उन्मुख छ।
यी सबै समस्याको समाधान खोज्दै जाने हो भने अध्यात्म चिन्तनमै पुग्नुपर्छ। त्यो अध्यात्म चिन्तनका लागि संस्कृत भाषामा लिखित धर्मशास्त्र र दर्शनका अनेकौं ग्रन्थ छन्। तिनै ग्रन्थमा नीति छ, संस्कार र संस्कृति छ, जीवन विज्ञान, शरीर विज्ञान छ, योग छ, ध्यानका साथै समाधिका मार्ग छन्, दर्शन छ, राजनीति, मनोविज्ञान, समाजशास्त्र सबै थोक त्यहीँ छ। साँच्चै भन्नुपर्दा संस्कृत भाषाका ग्रन्थ वा संस्कृत वाङ्मय साक्षात् कल्पवृक्ष वा कामधेनु गाई हुन्।
संस्कृत भाषा शिक्षणको सन्दर्भतिरै जाऔँ। नेपाल सरकारले दोहोरो शिक्षानीति लागु गरेको छ, सामुदायिक र संस्थागत शैक्षिक संस्थाका रूपमा। साम्राज्यवादी शक्तिहरूको चक्रव्यूहमा फसेका कतिपय संस्थागत विद्यालयहरूले नेपाली विषय र दुई वर्षयता सामाजिकबाहेक सबै विषयमा अंग्रेजीकरण गरेका छन्। जहाँ वा जुनसुकै संस्थागत विद्यालयमा नेपाली भाषामा कुराकानी गर्दा ती अबोध बालबालिकाले शारीरिक तथा मानसिक रूपमा दण्डसजाय पाएका धेरै उदाहरण सप्रमाण प्रस्तुत गर्न सकिन्छ।
पङ्क्तिकार आफैं नेपाली शिक्षक बनेर संस्थागत विद्यालयमा पढाउँदै गर्दा केही समयपहिला विद्यार्थीलाई ‘शौचालयमा गएर भए पनि नेपालीमा बोल है, भाषाप्रतिको अपनत्व राख्नुपर्छ नि’ भनेर उत्प्रेरित गरेको परिघटना यहाँ प्रासंगिक नै होला।
यस्तो अवस्थामा संस्कृत भाषा र संस्कृतिका अभियन्ताकै रूपमा योगराज सापकोटाको योगदान असान्दर्भिक पक्कै हुन्न किनकि हाल अक्षरा स्कुलपरिसरमा प्रायः विद्यार्थीबाट ‘नमो नमः गुरुदेव !’ भन्दै विद्यार्थीमाझ पुकारिने लोकप्रिय पदावली हो यो।
विद्यार्थीलाई संस्कृत भाषामा रहेका देवीदेवताको प्रार्थना, नीतिश्लोकसँगै सामान्य बोलीचालीको भाषालाई अभ्यस्त गराउन उनी आफैं यति अभ्यस्त देखिन्छन् कि साँच्चै नेपाल सरकार, नेपाल संस्कृत विश्वविद्यालयलाई मात्र नभई संस्कृत भाषाको सेवा नै जननीको सेवा हो, अर्थात् हाम्रो मातृभाषा नेपालीको उद्गम नै संस्कृत हो भनेर जीवन समर्पण गरेको यथार्थता मुखले मात्र पस्कनेहरूका लागि उनले चलाएको यो अभियान एउटा गतिलो झटारो जस्तो महसुस हुन्छ। किनकि नेपाल संस्कृत विश्वविद्यालयको आचार्य तह (स्नातकोत्तर)मा अध्ययनरत संस्कृतका छात्र उनले आफैं तयार पारी कक्षा ३ देखि कक्षा ७ सम्म ‘संस्कृत सोपानम्’ नाम दिई पुस्तकको शृङ्खला नै प्रकाशित गरेका छन्।
उनको यो सफलताको पृष्ठभूमिलाई नियाल्ने हो भने उनले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पुस्तकलगायत विभिन्न विद्वान् र संस्थाबाट प्रकाशित पुस्तक तथा उनको लामो समयसम्मको कक्षाशिक्षण रहेको छ। सरकारी तथा संस्थागत सबै विद्यालयमा संस्कृत भाषा शिक्षण अभियान चलाउने भनेर उनले धेरै विद्वान्, सरोकारवाला संस्था वा निकायसँग रायसल्लाह लिए तर प्रायः कहीँकतैबाट पनि रचनात्मक सुझाव नपाएको भन्दै उनी आफ्नो विगत सुनाउँछन्।
अभियानका सहजकर्ता र प्रेरक व्यक्तिका रूपमा उनी आकाश नीलम्, धार्मिक कार्यक्रमका प्रस्तोता जनार्दन घिमिरे र उपप्राध्यापक रोहिणीराज तिमल्सिनालाई सम्झन्छन्। २०७२ सालको भूकम्पअघि लामो समय विभिन्न विद्यालयमा नेपाली भाषा शिक्षण गरेका सापकोटा यसपछि भने तीव्र रूपमा संस्कृत भाषा शिक्षण अभियानमा जोडिए। उनका सहयात्री रोहिणीराज ‘(हाल त्रिवि उपप्राध्यापक) र धार्मिक कार्यक्रमका प्रस्तोता घिमिरेले चलाइरहेको अभियानलाई आधारभूमि बनाई सो अभियानलाई नयाँ रूप दिएर सशक्त रूपमा अगाडि बढेको उनको भनाइ छ। यसरी अगाडि बढेका उनले योजना बनाई सुरुमै उपत्यकाका करिब १५/२० वटा चर्चित संस्थागत विद्यालयमा संस्कृत भाषा पढाउने व्यवस्था मिलाए। त्यसपछि पाठ्यपुस्तकको अभावका कारण आफैं पाठ्यपुस्तक लेख्न थालेको उनले सुुनाए।
संस्कृत भारती र नेपालका केही पाठ्यपुस्तकलाई आधार बनाई उनले सुरुमा २०७९ सालमा काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुल प्रकाशक रहेको ‘सुभाषित माला’ प्रकाशित गरे, जुन किताब प्रकाशन गर्न संस्कारयुक्त शिक्षाका लागि संस्कृत भाषा सिकाइ अनिवार्य रहेको भन्दै संस्कार युक्त शिक्षाकी अभियन्ता एवं अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले सहयोग गरेको उनी बताउँछन्।
काठमाडौं उपत्यकाका करिब २५ वटा स्कुलले ती किताब प्रयोग गरी बालबालिकालाई संस्कृत भाषा र संकृतिको परिचय गराइरहेका छन्। त्यति नै संख्यामा संस्कृतका ज्ञाता गुरुहरूलाई उनले रोजगारको अवसरसमेत सिर्जना गरेका छन्।
भोजपुर जिल्लाको प्याउलीमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका उनी भेटमा हँसिलो अनुहार वा मिठो मुस्कानसहित भन्छन्, ‘तव नाम किम्?’ कुशलम् अस्ति?, अनि भलाकुसारीलाई निरन्तरता दिन्छन् संस्कृत भाषामै। हरेक विद्यार्थीमा संस्कार देखिन्छ, विनम्रता देखिन्छ, नमो नमः गुरुदेव भन्दै उनीसँग संस्कृतमै संवाद गर्न रुचाउँछन् नानीबाबुहरू।
सरकारलगायत सम्बन्धित सरोकारवाला संस्थाहरूले यसमा ध्यान दिने हो भने ‘संस्कृतमय नेपाल र संस्कारमय समाज’ निर्माण हुनेमा उनी विश्वस्त छन्। यो अभियान नेपालभर फैलाउने उनको योजना छ।
संस्थागत विद्यालयमा संस्कृत भाषा पढाएर विदेशी वा आयातित संस्कृतिप्रतिको मोहजालमा फसेका विद्यार्थीलाई मौलिक संस्कार र संकृतिप्रति सचेत गराउनु मुख्य उद्देश्य रहेको बताउँछिन् अभियन्ता सापकोटालाई हरेक दृष्टिकोणले सहयोग गरिरहेकी अर्की अभियन्ता अक्षरा स्कुलकी निर्देशक भट्टराई। संस्कृत भाषा सिकाइका परिकल्पनाकार सापकोटाको ‘संस्कृत–सोपानम्’ चालु शैक्षिक सत्रको पूर्वसन्ध्यामा लोकार्पण गरिएको थियो। सो पुस्तक डा. छत्रपति दाहालद्वारा सम्पादित छ।
‘सोपानम्’मा संस्कृत भाषा–व्याकरणअन्तर्गत धातु तथा शब्द रूपावलीका सामान्य नियम, नीतिश्लोक, नीतिकथा, विभिन्न चाडपर्वसम्बन्धी आशीर्वचन, दियो, कलश र गणेश पूजनविधि, पतञ्जली अष्टाङ्ग योगको परिचय, आयुर्वेद चिकित्सा पद्धतिका साथै संस्कृत वाङ्मयभित्र रहेका वैज्ञानिक तथ्यहरू र ऋषिमुनिहरूका महत्त्वपूर्ण खोजहरूलाई सङ्क्षिप्त रूपमा संकलन गरिएको छ।
उनले ‘संस्कृत भाषा सीमित वर्ग र सम्प्रदायको मात्र भाषा हो’ भन्ने मान्यता समाजमा गरो गाडेर बसेको हुनाले यो मान्यतालाई निस्तेज पार्न संशोधित पाठ्यपुस्तकमा संस्कृत वाङ्मयभित्रका सबै पक्षलाई समेटेका छन्। ‘संस्कृत–सोपानम्’ पाठ्यपुस्तक काठमाडौंका चर्चित २५ वटा संस्थागत विद्यालयले पठनपाठन गराइहेका छन्। ‘संस्कृत भाषा सिकाइ अभियान’मा समर्पित सापकोटाले संस्कृत वाङ्मय र पूर्वीय सभ्यता तथा संस्कृति संरक्षणमा भूमिका निर्वाह गर्दै आइरहेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८१ ०९:५८ शनिबार