२७ चैत्र २०८१ बुधबार
image/svg+xml ३:५३ पूर्वाह्न
कला/संस्कृति

जीवन दिन्छु भन्नेले धोका दिएसि भ्रष्टाचारको मुद्दा लाग्छ कि लाग्दैन!

मुक्तक

१) मुक्तक 

विमर्शभन्दा विरोध गर्छन् न वार न पार बनाउँछन्,

ढुङ्गामुढा फलाम चिन्दैनन घोटेर धार बनाउँछन्।

सुखसयल खोज्दै बिदेशिएर बुद्धिजीवी हुँ भन्नेहरू,

बुढा नेतालाइ देश बिगार्ने ठेकेदार बनाउँछन्।

२) मुक्तक

ओइलियो पात, झर्यो फूल फेरि बोट जाग्छ कि जाग्दैन,

थाह छैन जलेको मनले शीतल छाया माग्छ कि माग्दैन।

सरकार, अदालत अख्तियार भए नि सुशासन छैन तै नि यत्ति भनिदे,

जीवन दिन्छु भन्नेले धोका दिएसि  भ्रस्टाचारको मुद्दा लाग्छ कि लाग्दैन।

३) मुक्तक

मूल्यवान् धातु जस्तो हिरा या सुन बन्नु,

सातै सुर सङ्गीतको कर्णप्रिय धुन बन्नु।

काँडै बिच फक्रेर काँडैले नचुमेकी तिमी,

शुभकामना छ प्रिय पूर्णिामाको जून बन्नु।

४) मुक्तक

टाढिँदा चन्द्रसूर्य वस्तुभन्दा छाँया बढी हुँदोरहेछ

दुखको घडी चल्दा आफन्तको कित्ता बाँया हुँदोरहेछ।

घुमाउने घर, खरको छानाभित्र हुर्केको मान्छेलाई

सिमेन्ट कंक्रिटभन्दा ढुङा माटोको माया हुँदोरहेछ।

५) मुक्तक

सबै कुराको सुरुवात बोलेर हुने हो बुझिराख्नु,

सामिप्यता मन,पेट खोलेर हुने हो बुझिराख्नु।

सुन्दा अनेक, एकमा एक जोड्दा फेरि एक,

दुई मुटुलाई प्रेमको रापले पोलेर हुने हो बुझिराख्नु।

६) मुक्तक

जीवनभर जसले अहिरो खनेको हुन्छ,

देख्दा चितामा उसैले कठै भनेको हुन्छ।

घात गर्छ कहिलेकाही विश्वासले पनि

त्यसैले त अस्पतालमा मुर्दाघर बनेको हुन्छ।

७) मुक्तक

सास रोकेर जिउँदै चितामा बस्नु पर्दोरहेछ,

हजारौं सपनाको घाँटीमा छुरा धस्नु पर्दोरहेछ।

खुशी पारेर दुनियाँ, चलाउन आफ्नो दैनिकी, 

बुझ्दैछु सगरको जून धर्तीमा खस्नु पर्दोरहेछ।

८) मुक्तक

ऋण, धन, व्यवहारको भारी बोक्नु र बिसाउनुमा फरक रहेछ बा,

आफू खुशी हुनु र अरूलाइ  खुशी बनाउनुमा फरक रहेछ बा।

स्वयं आफै छोरा र बाको दोहोरो भूमिकामा परेपछि बुझेको छु बल्ल

यी औंला छोराछोरीले र तपाईले समाउनुमा फरक रहेछ बा।

९) मुक्तक 

गाउँमै हुर्केको भएनि उ अक्सर शहर बस्छ,

गर्दैन जागिर पेशा मात्र बोलीमा चिल्लो घस्छ।

अघिपछि लगाएर हिड्छ चुल्ठे मुन्द्रे बुझिन्न केही,

वर्षैपिच्छे करोडौं करोड उसको घर कसरी पस्छ।

१०) मुक्तक 

वर या  पर  कता सर्छेउ भन्नै पर्छ तिमीले,

कसलाई कति माया गर्छेउ भन्नै पर्छ तिमीले।

सधैं ठिक्कै पार्दा पार्दै  दिक्कै पारी सकेउ

खाली सिउँदो कहिले भर्छेउ भन्नै पर्छ तिमीले।

- कृष्ण सुवेदी

प्रकाशित: १९ फाल्गुन २०८१ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App