५ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:४१ पूर्वाह्न
कला

जसलाई सडकबाट उठाएर दिलमा सजाएँ!

मुक्तक

१) मुक्तक

दुःखको बेला हात समाउनु भाग्यमा नै हो

यति असल मान्छे पाउनु भाग्यमा नै हो

शब्द कुनै भेटिन तिम्रो बयान गर्नलाई सानू

तिमी मेरो जिन्दगीमा आउनु भाग्यमा नै हो।

) मुक्तक

सानोतिनो समस्या हल गर्न सक्दैनाै भने

मान्छेसँग व्यवहार असल गर्न सक्दैनाै भने

फेरि अर्कोलाई रोजी के नै पो गर्छाै मित्र

पहिलो सम्बन्ध नै सफल गर्न सक्दैनाै भने।

३) मुक्तक

अरूले पनि पर्खेर बसेकी छिन् सोचेकै थिइनँ

भोग्नुपर्ला आज यस्तो दिन सोचेकै थिइनँ

जसलाई सडकबाट उठाएर दिलमा सजाएँ

उसैले भन्ला आज चरित्रहीन सोचेकै थिइनँ।

४) मुक्तक

भोटमा पनि भयो तिम्रै बहुमत मैले स्वीकारें

मैरै कारण भयो विश्वास जफत मैले स्वीकारें

शिर नै झुकाएर माफी माग्छु तिम्रो सामु

तिमी नै सही म आफै भए गलत मैले स्वीकारें।

५) मुक्तक

छैन जिन्दगीमा कसैको भर सुन्न नपरोस्

आफ्नै कारण भयो असर सुन्न नपरोस्

हिजो मलाई लात हानी गएको मान्छेको

बेहालमा छ जीवन भन्ने खबर सुन्न नपरोस्।

६) मुक्तक

हुन पाइँदैन खुसी अनि हर्ष खाडीमा गर्नुपर्छ

अबको केही चारपाँच वर्ष खाडीमा गर्नुपर्छ

तिमी डिग्री पढेको कुरा नसुनाउन मित्र

आखिर हामी नेपालीले कडा सङ्घर्ष खाडीमा गर्नुपर्छ।

७) मुक्तक

बस्दा पनि आँसु झारी मेरै भागमा किन

जिन्दगीलाई दुःखमा पारी मेरै भागमा किन

सुख भन्ने भाग्यमा नै छैन र भगवान् मेरो

हरदिन दुःखको भकारी मेरै भागमा किन?

८) मुक्तक

दुःख लुकाएर मुस्कुराउन बानी सजिलो छैन आमा

बोकेर हिंड्न पीडाको खानी सजिलो छैन आमा

देख्नेले त भन्ने गर्छन् भोज छ जिन्दगी भनेर सधैं

साँच्चै कटाउनलाई यो जिन्दगानी सजिलो छैन आमा।

९) मुक्तक

यो दिलभित्र ठुलै हानि भएको बेला

रुँदै कराउँदै हिंड्ने बानी भएको बेला

फेरि मेरो अर्को बर्बादी सुरू हुन लाग्यो

सपनाको घर जलेर खरानी भएको बेला।

१०) मुक्तक

आफ्नै कारण आफ्नै इमान मर्ला भनेकै त थिए

एकदुई शब्दले नै ठुलै असर गर्ला भनेकै त थिए

आकाशमा फर्की थुकेर ठुलै घमण्ड नगर न मित्र

त्यही थुकको छिट्टा मुहारमा पर्ला भनेकै त थिए।

-सपना कुँवर

प्रकाशित: ८ फाल्गुन २०८१ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App