१) मुक्तक
शहीद बन्नुपऱ्यो भने आफ्नै देशका खातिर हुन्छु,
खुकुरीको धार टल्काउँछु, शत्रु मार्छु म वीर हुन्छु।
देश बचाउन देशका लागि मर्ने मान्छे चाहिएमा,
शहीद बन्न बोलाउनू, भोलिपल्टै हाजिर हुन्छु।
२) मुक्तक
आँखामा टिलपिलटिलपिल बाँचेको आँसु, झरेपछि बाँच्दैन
हृदयमा बाँच्नुपर्ने प्रेम, घृणाको घाटमा सरेपछि बाँच्दैन
सम्बन्ध रोटी जस्तै हो, एकोहोरो पाक्दै पाक्दैन रहेछ
बाँचुञ्जेल नबाँचेको सम्बन्ध, जे गरे पनि मरेपछि बाँच्दैन।
३) मुक्तक
पञ्चायत फाल्ने पनि मै हुँ
प्रजातन्त्र ढाल्ने पनि मै हुँ
गणतन्त्र ल्याई नपुगेपछि
गाउँ शहर बाल्ने पनि मै हुँ।
४) मुक्तक
केलाई साँच्छौ खुशी अनि केलाई साँच्छौ धन
सबैभन्दा खुशी राख्नुपर्ने रै’छ मन
आधी जीवन बितेपछि चाल पाउँछन् मान्छे
पानी जस्तै बगी जाने रै’छ यो जीवन।
५) मुक्तक
कहीं भगवान् भएको छु, कहीं सैतान भएको छु
जसले बुझ्यो मेरो जीवन, उसलाई महान् भएको छु
कपाल फुल्यो भन्छन् कोही, कोही बुढो भइस् भन्छन्
पहिले अलि बुढो थिएँ, आजकल जवान भएको छु।
६) मुक्तक
उनी हाँस्दा चन्द्रमा नै लजाएर झर्छिन्
अरूसँग हासें भने रिसाएझैं गर्छिन्
मन पराउने सबैलाई पंक्तिबद्ध गरे
मेरी प्रिय सधैंभरि एक नम्बरमै पर्छिन्।
७) मुक्तक
जीवन यो सबको जसोतसो चलिरहेको हुन्छ
कसैलाई अँगाल्छ सुखले, कसैलाई छलिरहेको हुन्छ
यः ईर्ष्या करोति, सः अपि दह्यते, अर्थात
जो डाह गर्छ, ऊ बाँचेर पनि जलिरहेको हुन्छ।
८) मुक्तक
धनको अघि बहँदा बहँदैको नदी पनि उल्टो बहन्छ भन्छन्
पैसा भए हारिसकेको मुद्दा पनि जित्ने बन्छ भन्छन्
बुझ्नेले कुरा नबुझेर हो, यति कुरा सुनिराख्नुस् महोदय
वर्षौं वर्ष लुकाएको पाप पनि मर्ने बेला निस्कन्छ भन्छन्।
९) मुक्तक
कुरा काट्दा पैसा फले रातदिन कुरा काट्थे होलान्
अझ डलर झर्ने भए अलकत्रा नै चाट्थे होलान्
छाती फुट्दा सिसा जस्तै आवाज आउँदै पैसा झरे
लोभीहरू सिसासँग आफ्नो छाती साट्थे होलान्।
१०) मुक्तक
नजानेकालाई जिउने पद्धति सिकाउने महान् हुन्छन्
पीडामा समेत आफ्नै मन रिझाउने महान् हुन्छन्
हारेको तक्मा भिरिएला, केही दिन हो, केही छैन
आफू हारेर पनि अरूलाई जिताउने महान् हुन्छन्।
प्रकाशित: ३० माघ २०८१ ०८:३१ बुधबार