२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १३:३९ अपराह्न
प्रविधि

अर्को सेतो छडी

बारा सिमराका कृष्ण तिमल्सिनाले आँखाको ज्योति गुमाएको तीन दशक भइसक्यो। ज्वरोका कारण बाल्यकालमै दृष्टि गुमाएका तिमल्सिनाले दुई महिनायता भने ‘संसार देख्न' थालेको अनुभव गरेका छन्।‘मैले फेसबुक चलाउन थालेको दुई महिना भयो,' उनले भने, ‘फ्रेन्ड लिस्टमा रहेका दुई सय ४० जनासँग रमाउँदा दृष्टि मिलेजस्तो भान भएको छ।' टेलिफोनमार्फत साथीभाइसँग कुरा गर्दे आएका तिमल्सिनाले अन्य दृष्टिविहीन सहपाठीले मज्जाले फेसबुक चलाउन थालेपछि यसतर्फ आकर्षित भएको सुनाए।
‘मैले कम्प्युटर चलाउन सिकेँ अनि फेसबुक,' उनी भन्छन्, ‘स्त्रि्कन रिडर सफ्टवेयर कम्प्युटरमा डाउनलोड गरेपछि हामीलाई सजिलो भएको छ।' जज, टक्सल नाम गरेका यी सफ्टवेयरले स्त्रि्कनमा देखिने अंग्रेजी र युनिकोडका अक्षरलाई आवाजमार्फत सुनाउँछ। 
‘यिनै सफ्टवेयरका कारण देश–विदेशका समाचार पनि अनलाइनमै बसेर सुन्न थालेको छु,' उनले भने, ‘त्यसपछि त अरूसँग समाचार पढेर सुनाइदिनू भन्ने दिन पनि गए।'
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए गर्दै गरेका शिवप्रसाद चापागार्इंलाई पनि प्रविधिले अध्ययनका लागि सजिलो बनाएको छ। ‘आफूलाई आवश्यक जानकारी अनलाइनबाटै लिन थालेको छु,' उनले भने, ‘अहिले त इन्टरनेट दृष्टिविहीनका लागि दोस्रो सेतो छडीजस्तै बनेको छ।'
१२ कक्षा पढ्दै गर्दा १८ वर्षको उमेरमा उनले आँखाको ज्योति गुमाए। उनी फुर्सदमा च्याट गर्ने र आफन्त, साथीसँग फेसबुकमा मज्जाले कुरा गर्न सक्छन्। ‘इन्टरनेटमा प्रवेश गरेसँगै फेरि आँखा मिलेजस्तै लागेको छ,' दुई वर्षयता प्रविधिमा रमाउन थालेका उनी भन्छन्, ‘कहिलेकाहीँ त दृष्टि छैन भन्ने पनि बिर्सन्छु।' उनको फेसबुकमा ३ सय ६५ साथी छन्, तीमध्ये १ सय ९० आफूजस्तै दृष्टिविहीन। ‘च्याट गर्दा दृष्टि भएका र दृष्टिविहीन भन्ने नै छुट्टिन्न,' उनले भने, ‘हामी पनि थाहा पाउन्नौ, अरूले पनि हाम्रो बारेमा थाहा पाउँदैनन्।'
फेसबुकमा अपलोड गरिएका तस्बिर उनी देख्न सक्दैनन्, तर अरूले तस्बिरबारे गरेका कमेन्ट र लाइकका आधारमा आफूले कमेन्ट गर्ने गरेको उनले सुनाए। 
परिलक्षित कम्प्युटर इन्स्टिच्युटका प्रशिक्षक सुशील अधिकारी दृष्टिविहीन हुन्। आँखाको ज्योति गुमेका, सुन्न तथा बोल्न नसक्ने र अन्य अपांगलाई कम्प्युटरसम्बन्धी सिप सिकाउँदै आएका उनी प्रविधिले दृष्टिविहीन र साधारण मान्छेबीचको दुरी घटेको बताउँछन्। ‘प्रविधितर्फ अपांगहरूको पनि आकर्षण बढेको छ,' उनले भने, ‘ब्रेलमा लेख्नेभन्दा किबोर्ड थिच्नेको संख्या बढ्दो छ।'
निजी स्तरबाट प्रयास थालिए पनि सरकारले दृष्टिविहीनका लागि प्राविधिक सिपको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्। ‘प्रविधिले दृष्टिविहीनहरू सक्षम बन्दैछन्,' उनले भने, ‘उनीहरूको भविष्यका लागि पनि राज्यले पहल गर्नैपर्छ।'
एक वर्षयता एप्पल कम्पनीको आइफोन बोक्दै आएका सुगम भट्टराई अल्प दृष्टिविहीन (पार्सियल ब्लाइन्ड) हुन्। ‘आइफोनले मलाई झन् सजिलो बनाएको छ,' नेपाल नेत्रहीन संघ सूचना प्रविधि विभागका प्रमुखसमेत रहेका उनी भन्छन्, ‘यसको कम्पनीले पहिले नै ‘भ्वाइस ओभर' सफ्टवेयर फिट गरेको छ।' 
ठूला कम्पनीहरूले दृष्टिविहीनमैत्री सफ्टवेयर निर्माण गर्न थालेपछि एन्ड्रोइड मोबाइल बोक्ने दृष्टिविहीनको संख्या बढिरहेको छ। ‘उनीहरू आधुनिक मोबाइलतर्फ आकर्षित हुँदैछन्,' उनले भने, ‘अबको दुनियाँमा प्रविधिको प्रयोग अपरिहार्य बनिसक्यो।'
संघका अध्यक्ष रमेश पोखरेल दृष्टिविहीनमैत्री प्रविधिको विस्तारमा सरकारी सहयोग जरुरी रहेको बताउँछन्। ‘प्रविधिले दृष्टिविहीनका लागि अर्को आँखा दिएको छ,' उनले भने। 
शिक्षा, सिप र प्रविधिका कारण अरूको सहयोग लिँदै आएका दृष्टिविहीन पछिल्लो समय सक्षम बन्दैछन्। ९५ हजार हाराहारी दृष्टिविहीन रहेको सरकारी तथ्यांक रहे पनि अहिले पूर्णदृष्टिविहीन र अल्पदृष्टिविहीनको संख्या चार लाख ५० हजार रहेको पोखरेलले बताए। ‘यीमध्ये पढेलेखेका अधिकांशमा मोबाइल र आधुनिक प्रविधिको पहुँच पुगिसकेको छ,' उनले भने।

बोल्न–सुन्न नसक्ने मोबाइलमा 
मनोज पन्त सुन्न सक्दैनन्, न त बोल्न नै। तर उनीसँग थि्रजी मोबाइल छ। स्काइपमार्फत नै उनी आफन्तसँग मज्जाले ‘कुराकानी' गर्छन्। 
ग्वार्कोस्थित बेकरी क्याफेमा कार्यरत पन्तलाई मोबाइल निक्कै प्यारो लाग्छ। ‘एक वर्षकी छोरीले हाँसेको म यसमै देख्न पाउँछु,' उनले मोबाइल देखाउँदै उनले इसारामा कुरा गरे, ‘कोठामा रहेकी श्रीमतीसँग पनि काम गर्ने ठाउँबाटै इसारामै कुरा गर्छु।' स्काइपको पहुँचसम्म नआउँदा उनी एसएमएसमार्फत श्रीमती र आफन्तसँग कुरा गर्थे। ‘अहिले त स्काइपमै कुरा हुन्छ,' उनी भन्छन्, ‘छेउमै बसेर कुरा गरेजस्तो हुन्छ। छोरीको नियास्रो पनि मेटिएको छ।' 
पर्वतमा रहेका बुवाआमासँग उनी कुरा गर्न सक्दैनन्। ‘एसएमएस पनि बुझ्दैनन्, त्यहाँ थि्रजी पनि छैन,' उनले भने, ‘त्यति बेलाचाहिँ नरमाइलो लाग्छ।' सरकारले बोल्न/सुन्न नसक्नेका लागि सहुलियतमा इन्टरनेट सुविधा दिनुपर्ने उनी बताउँछन्। क्याफेमा इन्टरनेट सुविधा भए पनि कोठामा उनले खर्च लाग्ने उनी बताउँछन्। ‘छोरीको अनुहार हेर्न स्काइप खोल्यो, उसैले पापा खाने पैसा गुम्छ,' उनी हाँस्छन्। 
उनकै सहकर्मी धु्रव न्यौपाने बहिरा हुन्। उनी पनि थि्रजी मोबाइलमा रमाइरहेका छन्। एक महिनाअगाडि वैवाहिक जीवनमा बाँधिएका उनी फुर्सदको समयमा घरमा रहेकी श्रीमतीसंग च्याट गर्ने गरेको सुनाउँछन्। 
ललितपुर महालक्ष्मीस्थानमा डेरा बस्ने बद्री खनालको जीवनमा पनि मोबाइलले नयाँ मोड ल्याइदिएको छ। ‘हाम्रो बोली नआए पनि मोबाइलले मनको कुरा बोलिदिन्छ,' उनले भने, ‘मोबाइल नै दुःख–सुखको सहारा।' 
क्याफेका क्यासियर सन्तोष तिमल्सिना बहिरा अपांगहरू फुर्सदको समय मोबाइलमै रमाउने गरेको सुनाउँछन्। ‘काममा समस्या नहुने गरी उनीहरू मोबाइल चलाउँछन्,' उनले भने। 
राजधानीमा रहेका करिब १५ हजार बहिरामध्ये अधिकांश प्रविधि नजिक रहेको नेपाल बहिरा संघका कोषाध्यक्ष कुबेर न्यौपाने बताउँछन्।

प्रकाशित: ६ वैशाख २०७१ ००:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App