२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
राजनीति

भ्रातृ संगठन लक्षित सुमनाले भनिन- ’विद्यार्थी मारिँदा चुप, नेताको बचाउमा जाइलाग्ने ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी प्रशासनमा रहेका सबै दलीय भ्रातृ संगठनहरू खारेज गर्नुपर्ने माग गरेकी छन्।

एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का अभियन्ता सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएको घटनाप्रति टिप्पणी गर्दै उनले यस्ता संगठनहरूले आफ्नो पेशागत मर्यादा र विद्यार्थीको हकहितभन्दा दलका नेताको अन्धभक्ति र बचाउमा मात्र काम गरेको आरोप लगाइन्।

मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले विद्यार्थी संगठनहरूको दोहोरो चरित्रमाथि प्रश्न उठाइन्। ‘युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो- मतलब छैन विद्यार्थी संगठनलाई ! तर- गोली चलाउन आदेश दिने दलको प्रमुखमाथि उजुरी पर्‍यो, तुरुन्त जाइलाग्यो !’ उनले लेखेकी छन्, ‘यसैले दलीय भ्रातृ संगठन- चाहे त्यो विद्यार्थीको होस् वा प्रशासनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नुपर्छ !’

श्रेष्ठले यस्ता संगठनहरूले सम्मानित पेशाको गरिमा घटाएको र विद्यार्थीलाई केवल राजनीतिक स्वार्थमा प्रयोग गरेको उल्लेख गरिन्। ‘सम्मानित पेशालाई सम्मानित रहन देऊ ! विद्यार्थीलाई विद्यार्थी रहन देऊ !’ उनले भनिन्।

गत भदौको जेन-जी आन्दोलनमा भएको हिंसा र मानवीय क्षतिलाई लिएर पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएपछि त्यसको प्रतिवादमा अनेरास्ववियुले मेयर शाह र गुरुङविरुद्ध तोडफोड र आगजनीमा संलग्न भएको आरोप लगाउँदै जाहेरी दिन प्रहरी परिसर पुगेको थियो।

प्रकाशित: २१ आश्विन २०८२ २०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App