जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिँदा रक्षात्मक अवस्थामा पुगेको नेकपा एमाले एकाएक आक्रामक शैलीमा उत्रिन थालेको छ। वर्तमान सरकार एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने रणनीतिमा देखिएपछि एमाले आक्रामक देखिन थालेको हो।
सरकारले जेन–जी आन्दोलनका क्रममा भएको प्रहरी दमनमा जिम्मेवार दाबी गर्दै एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न चाहेको प्रस्टै देखिएको छ। जसमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल खुलेरै प्रयासमा उत्रिएको समाचारहरू आइरहेका छन्।
दसैँ बिदाअघि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले प्रधानमन्त्री कार्कीलाई भेटेरै दुवै जनालाई तत्काल पक्राउ गर्न दबाब दिएका थिए। तर, सरकारले तत्काल पक्राउ गरेन। त्यो बेला गृहमन्त्री अर्यालले पक्राउ गर्नुपर्ने अडान राख्दा प्रधानमन्त्री कार्कीले असहमति जनाएको स्रोत बताउँछ।
बरु त्यही बेला असोज १२ गते जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखकसहितका पाँच जनाको विदेश यात्रामा रोक लगाउन र आयोगको अनुमतिबेगर काठमाडौं उपत्यका नछाड्ने वातावरण मिलाउन सरकारलाई सिफारिस गरेको थियो। आयोगको त्यो निर्णयविरुद्ध एमाले र नेपाली कांग्रेसले असहमति जनाएका थिए।
दसैँ बिदा सकिए लगत्तै केही दिन मनसुनका कारण सिर्जना भएको विपद् व्यवस्थापन र प्रतिकार्यमा सरकार अलमलिएको थियो। सोमबार मौसमको खतरा टरेपछि एकाएक हामी नेपालका संस्थापक सुदन गुरुङ, जेन–अभियन्ताहरू रक्षा बम, युजन राजभण्डारीलगायतले सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’, ‘एरेस्ट रमेश लेखक’ जस्ता ट्रेन्ड चलाउन सुरु गरे। उनीहरूले त्यो अभियान सुरु गराउन गृहमन्त्रालयबाटै सिग्नल गएको दाबी गरिएको छ।
सामाजिक सञ्जालमा यो अभियान सुरु गरे लगत्तै ओली र लेखकलाई पक्राउको मागसहित किटानी जाहेरी बोकेर हामी नेपालका संस्थापक सुदन जिल्ला प्रहरी परिसर, काठमाडौं पुगे।
प्रहरीले जाहेरी लिन मानेन। त्यसपछि सुदनले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालमाथि दबाब बढाउन गएका थिए। त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले ओली र लेखकलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका थिए। तर, प्रहरीले जाँचबुझ आयोग बनिसकेका बेला आयोगकै कार्यादेशमा भएको विषयलाई उछिनेर पक्राउ गर्न लाग्दा सुरक्षा अवस्था झन् खलबलिने भन्दै ओली र लेखकलाई पक्राउ गर्न अस्वीकार गरेको थियो।
प्रधानमन्त्री कार्कीले चार वटै सुरक्षा निकायका प्रमुख बोलाएर सोमबार रातभरि नै छलफल गरेकी थिइन्। जहाँ सुरक्षा निकायका प्रमुखले मुलुकको सुरक्षा अवस्थालाई हेरेर अहिल्यै पक्राउ गर्न नहुने भन्दै अडान लिएपछि पक्राउ गर्ने रणनीतिबाट सरकार तत्काललाई पछि हटेको थियो।
सोही अनुसार मंगलबार सुदनले दिएको जाहेरी काठमाडौं प्रहरी परिसरले बुझेर आयोगलाई पठाइदिएको छ।
अनि एमाले संगठन आक्रामक
अध्यक्ष ओली पक्राउ गर्न जेन–जी अभियन्ता, काठमाडौं महानगरका मेयर बालेन, स्वयं सरकारका प्रधानमन्त्री र गृहमन्त्री दबाब दिन थालेको खुलासा भएपछि एमालेका जनसङ्गठनहरू जागेका छन्।
विशेष गरी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबारै आक्रामक मोर्चा सम्हालेको छ भने, बुधबार राष्ट्रिय युवा संघ पनि मिसिएको छ।
अनेरास्ववियुले मंगलबार मेयर बालेन र हामी नेपालका संस्थापक सुदनविरुद्ध काठमाडौं प्रहरी परिसरमा ‘काउन्टर’ जाहेरी बुझाएको छ। अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल, वर्तमान महासचिव दीपक धामी लगायतका नेता कार्यकर्ता जाहेरी बुझाउन गएका थिए। जाहेरीमा सिंहदरबार तथा राज्यका सम्पदा जलाएको, प्रहरीको हत्या गरेको, व्यापारिक भवनमा आगो लगाएर त्यहाँ रहेका व्यक्तिको हत्या गरेको, मुलुकका महत्त्वपूर्ण सूचना विदेशी निकायसम्म पु¥याएको जस्ता आरोप लगाइएको छ।
यसै गरी अनेरास्ववियुका महासचिव धामीले बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर बालेन र सुदनविरुद्ध जाहेरीबारे जानकारी दिएका छन्। सँगै उनले देशभरिबाट दुवै जना विरुद्ध जाहेरी दिने पनि घोषणा गरेका छन्। जसअनुसार अनेरास्ववियु जिल्ला जिल्लामा बालेन र सुदनविरुद्ध जाहेरी दिन सुरु गरिसकेको छ।
‘हामीले कसैलाई काउन्टर दिनुपर्ने केही छैन। विधिको शासनको सन्दर्भमा अराजकता सृजना गर्ने, हत्या हिंसा र लुट मच्चाउनेहरू विरुद्ध हामीले जाहेरी दिएका हौँ,’ धामीले भने, ‘उनीहरूले दिएका हिंसा भड्काउने अभिव्यक्ति, गोप्य बैठकमा भएको कुराकानी र अन्य प्रमाणहरू प्रहरीलाई बुझाइसकेका छौँ।’
धामीले अध्यक्ष ओलीलाई पक्राउ गर्दा देशभर ६ लाख एमाले कार्यकर्ता राख्न मिल्ने जेल बनाउन पनि सरकारलाई चुनौती दिएका छन्।
अर्कातिर बुधवारै पोलिटब्युरो सदस्य महेश बस्नेतको उपस्थितिमा राष्ट्रिय युवा संघले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेको छ। जहाँ बस्नेत सरकारविरुद्ध निकै खरो रूपमा उत्रिँदै ओली र आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिए।
सबै खाले छानबिनका लागि आफूहरू तयार रहेको बताउँदै त्यस्तै छानबिन सरकारमा बसेकाहरूमाथि पनि हुनुपर्ने उनले बताए। उनले सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल बढी निसाना साधिरहे। घिसिङलाई त ‘ठुलो भ्रष्टाचारी’ नै करार गरे।
सोही पत्रकार सम्मेलनमा युवा संघका उपाध्यक्ष महाराज गुरुङले बालेन र सुदनले देशमा अझै धेरै अराजकता मच्चाउन खोजिरहेको दाबी गरे। उनले बालेनका बुबा, बालेन, सुदन र हामी नेपालमाथि सम्पत्ति शुद्धीकरणले छानबिन गर्नुपर्ने समेत बताए।
बस्नेतले एमालेले अब वडा वडामा ‘डिजिटल जेनेरेसन’को टिम खडा गरेर प्रतिवाद सुरु गर्ने घोषणा गरे। सँगै एमालेले यसै महिनाभित्रै सरकारबारे पार्टीको धारणा बनाएर जाने पनि बताए।
जन वर्गीय संगठन आक्रामक हुनु अगावै नेता बस्नेत र अध्यक्ष ओली सरकारविरुद्ध सुनिइसकेका थिए। ओलीले दसैँअघि युवा संघको कार्यक्रममा बोल्दै ‘हाहाहुहु’को सरकार भन्दै टिप्पणी गरेका थिए।
प्रकाशित: २२ आश्विन २०८२ १७:०१ बुधबार





