२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

सीके राउतलाई ‘स्वर्णिम युग’ र ’ईश्वरको वरदान’ भन्दै सचिवालयले गर्‍यो अन्य मधेशी नेतासँग तुलना

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले उनलाई स्वर्णिम युग र ईश्वरको वरदानको संज्ञा दिँदै अन्य मधेशी नेताहरूसँग तुलना गरेको छ।

बुधबार सचिवालयले सामाजिक सञ्जालमार्फत ५६ बुँदे तुलनात्मक सूची सार्वजनिक गर्दै डा. राउत अन्य नेताभन्दा हरेक पक्षमा फरक र उत्कृष्ट रहेको दाबी गरेको हो।

उक्त सूचीमा डा. राउतलाई पदको लालच नभएको निस्वार्थ नेताको रूपमा प्रस्तुत गरिएको छ। ‘डा. सीके राउतसँग पदको लालच छैन, आफैँ उपप्रधानमन्त्री/मन्त्री बनेनन्, अरूलाई बनाए,’ पहिलो बुँदामा भनिएको छ, ‘अरू अध्यक्ष/नेता ४/५ देखि २० पटकसम्म मन्त्री बनेका छन्, जहिले पनि आफैँ मन्त्री बन्न तम्सिन्छन्।’

सचिवालयले डा. राउत जनताप्रति पूर्ण समर्पित रहेको दाबी गरेको छ। सांसद भएपछि जनसम्पर्क कार्यालय खोल्ने, जनगुनासो पेटिका राख्ने, बाढी-पहिरो र शीतलहर जस्ता विपत्तिमा जनताको बीचमा रहने तर अन्य नेताहरूले जितेपछि जनतालाई बिर्सिने गरेको आरोप लगाइएको छ।

विकास निर्माण र भिजनको सवालमा पनि डा. राउतलाई अब्बल देखाइएको छ। सप्तरी-२ मा ६०० भन्दा बढी र मधेशमा ७० भन्दा बढी गौरवका योजना ल्याएको एआई, स्पेस सेन्टर जस्ता आधुनिक अवधारणा भित्र्याएको तर अन्य नेताहरूसँग मधेशका लागि कुनै भिजन नै नभएको जिकिर गरिएको छ।

सचिवालयले डा. राउतको बौद्धिक र अन्तर्राष्ट्रिय छविको प्रशंसा गर्दै अन्य नेताहरूको आलोचना गरेको छ। क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका, अक्सफोर्ड र हार्वर्ड जस्ता विश्वविद्यालयमा लेक्चर दिएका राउतको तुलनामा अन्य नेताहरूले अनपढ र असभ्य छवि बनाएर मधेशीलाई बदनाम गरेको आरोप लगाइएको छ।

मधेशको अधिकार र पहिचानका लागि डा. राउतले गरेको संघर्षलाई पनि सूचीमा प्रमुखता दिइएको छ। रंगभेदविरुद्ध काठमाडौंमा सभा गर्ने, धोती र्‍याली गर्ने, मधेशी भाषामा शपथ लिने र अहिंसात्मक आन्दोलनबाट मधेशको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको तर अन्य नेताहरूले हिंसात्मक आन्दोलनलाई प्रश्रय दिएको दाबी गरिएको छ।

हालैको जेन-जी आन्दोलनका बेला डा. राउतले राजीनामा दिएको तर अन्य नेताहरू पदमा टाँसिरहेको विषयलाई पनि तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित: २२ आश्विन २०८२ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App