२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

स्याउले समृद्धि ल्याएको सिंजाका जोडु र फुङ्ग्र गाउँ

“पहिले स्याउ झर्थ्यो, कुहिन्थ्यो, खेर जान्थ्यो। आज त्यही स्याउ बगैंचाबाटै लाखौं आम्दानी ल्याउँछ।” यो बदलिँदो दृश्य हो - जुम्लाको दुर्गम गाउँ सिंजा - ६ को जोडु र सिंजा -५ को फुङ्ग्र। जहाँ कहिल्यै बजारको मुहार देख्न नपाएका स्याउले अहिले गाउँको मुहार नै फेरिदिएका छन्। एक दशकअगाडि यो सपना जस्तो लाग्थ्यो।

आज त्यो सपना सडकको धुलोसँगै टायरले कोरेको सम्भावनाको बाटो बनेर गाउँको गोरेटोलाई समृद्धिको राजमार्गमा बदल्दै छ। जगतबहादुर बुढा, जोडु गाउँका एक प्रगतिशील किसान, बगैंचामै उभिएर मुस्कुराउँदै भन्छन्, “यसपालि मैले३ लाख ५२ हजार रुपैयाँ मात्रै कमाएँ, त्यो पनि बगैंचामै बेचेको स्याउबाट।”

उनको बगैंचा १७ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ, जहाँ ५ सय बढी फल दिने स्याउका बोट छन्। स्याउ प्रतिकेजी ६० रुपैयाँमा बेचियो। यो आँकडा मात्रै होइन, यो त्यो सन्देश हो - जहाँ विकास पुग्छ, त्यहाँ उत्पादन मूल्य पाउँछ।

जगतबहादुर मात्र होइन, गाउँका अन्य किसानले पनि यो वर्ष अभूत पूर्व कमाइ गरेका छन्।अन्य किसानहरू नरबहादुर बुढाले २ लाख १५ हजार रुपैयाँ,  चन्द्रबहादुर बुढा २ लाख ६० हजार ४ सय ८० रुपैयाँ र गोपाल बुढाले १ लाख ८५ हजार रुपैयाँ समाते।

वडाध्यक्ष लालबहादुर बुढा बताउँछन्, “जोडुका १ सय ११ घरधुरीमध्ये हरेक घरले कम्तीमा पनि ५० हजार रुपैयाँ आम्दानी गरेको छ।”

सिर्जना गरिएको कुल आम्दानी ५५ लाख ५० हजार रुपैयाँ। यस्तै फुङ्ग्र गाउँका किसान नर्मजङ रोकाया भन्छन्, “मैले यसपालि ५७ क्विन्टल स्याउ बेचें, आम्दानी भयो ६ लाख रुपैयाँ।”

फुङ्ग्रमा १ सय ६ घरधुरी छन्। अधिकांशले ८० हजारदेखि १ लाख रुपैयाँसम्म कमाएका छन्। वडाध्यक्ष कृष्णबहादुर रोकाया भन्छन्, “यो वर्ष मात्रै गाउँमा १ करोड ६० लाख रुपैयाँ स्याउबाट आएको छ।”

कुनै बेला गाउँबाट स्याउ बोकेर एक दिन हिंड्नुपर्थ्यो खलंगा पुग्न। अहिले भने ट्रकहरू घरको आँगनमै आइपुग्छन्। स्याउ सुर्खेत, नेपालगञ्ज, कोहलपुर, पोखरा हुँदै काठमाडौं पुग्छ।

दलबहादुर बुढा, एक वृद्ध किसान भन्छन्, “स्याउ बिक्न थालेपछि गाह्राे  कम भयो, छोराछोरी पढाउन सकिने भयो, अस्पताल जान सकिने भयो। हामी अब आत्मनिर्भर हुँदैछौं।”

कृषि विकास कार्यालय जुम्लाका अनुसार, जुम्लामा  स्याउ खेती क्षेत्रफल ४ हजार ४ सय हेक्टर छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार गत वर्ष ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेको हो।

२० हजार ५ सय ११ मेट्रिक टन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो। जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।

यहाँ रेड, रोयल, गोल्डेन जातदेखि उच्च घनत्वका स्याउ समेत फलाइन्छ। जुम्लाका ७ गाउँपालिका र १ नगरपालिका अन्तर्गतका ६० वटै वडामा स्याउ फल्छ।

अब स्याउ मात्र बेच्ने हैन - स्याउका परिकार उत्पादन गरेर थप मूल्य सिर्जना गर्न थालिएको छ। सिंजाको उद्योग विकास शाखाले किसानलाई स्याउको जाम, अचार र सस बनाउने तालिम दिंदै छ।

“अब स्याउ कुहिंदैन, आम्दानीको नयाँ ढोका खुल्छ,” भन्छन् शाखा प्रमुख नर्मजङ रोकाया।

सिंजा गाउँपालिकामा स्याउसँगै आलु, मकै, गहुँ, कोदो, चिनो, फापर, ओखर, सिमी, भाँगो, कागुनो जस्ता बाली पनि उत्पादन हुन्छ। पहिले बजारको अभावले मूल्य पाउँदैनथे, अहिले सडकले उत्पादनलाई बजारसँग जोडिदिएको छ।

स्याउको कथा फलफूलको कथा मात्रै होइन - यो संघर्षबाट समृद्धिमा पुगेको यात्राको कथा हो। यो गाउँमा पैसाको प्रवेश मात्र होइन, स्वाभिमान र अवसरको पुनर्जन्म हो।

विकासको मूल च्यानल–सडक, सीप र बजार मिलाइयो भने जुम्लाको जस्तो कृषि क्रान्ति देशभर फैलिन सक्छ। स्याउ अब कुहिंदैन, आत्मनिर्भर भविष्यको रस बगाउँछ। स्याउ अब सस्तो कोसेली होइन, हाम्रो पहिचान हो।

प्रकाशित: २३ आश्विन २०८२ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App