२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गरेका छन्।  

मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग विहान काभ्रेकको नमोबद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पुर्याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गरेका हुन्।

उनले अस्थायी सडक सञ्चालनका लागि छिटोभन्दा छिटो राजमार्ग सूचारु गर्ने गरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिए। उनले भने, 'थप उपकरण र जनशक्ति प्रयोग गरेर राती काम गरेर भएपनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिनुहोला।'

मन्त्री घिसिङले सडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी मानवसहित मेशिनरी प्रयोग गरेर प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिएका हुन्। उनले गत साल असोजमा रोशी खोलाले बगाएको बिपी राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिब्रिज निर्माणसमेत गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङको राजमार्ग अवलोकनका क्रममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराउँदै विभागका कर्मचारीले आफहरूसँग समन्वय गर्नुपर्ने माग राखेका थिए। बाढीले कटान गर्दा उक्त राजमार्गको करिब चार किलोमिटर डाइभर्सन पूर्ण रूपमा क्षति पुगेको छ। राजमार्गको रोशी क्षेत्रमा गत सालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।  

आठ स्थानबाट डाइभर्सन बनाइँदै

बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा आठ स्थानबाट खोला फर्काएर डाइभर्सन बनाउन सुरु गरिएको छ। उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान तथा सिन्धुलीको तीन खण्डबाट डाइभर्सन निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।  

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरेखोलामा डाईभर्सन बनाउने काम भइरहेको छ। डाइभर्सन बनाउने काम काभ्रेपलाञ्चोक खण्डमा १२ स्काभेटर, ४ वडा ह्वील लोडर र ८ टिपर प्रयोग भइरहेको छ।  

यस्तै, सिन्धुलीको नेपालथोक लगायतका तीन स्थानबाटबाट पनि डाइभर्सन बनाउन थालिएको हो। सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेका अनुसार तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्मका निर्माण भैसक्नेछ भने अन्य एक स्थानमा नयाँ कटान गरेको कारण शुक्रबारसम्ममा डाइभर्सन बनिसक्नेछ।  

जिल्ला ट्राफिक कार्यालयका अनुसार हाल राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको हो।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्।

प्रकाशित: २३ आश्विन २०८२ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App