१ वैशाख २०८२ सोमबार
image/svg+xml १७:६ अपराह्न
खेल

नेपाल सुपर लिग: पोखराको पहिलो जित

काठमाडौंविरुद्ध बल अघि बढाउँदै पोखराका सुदिल राई (नीलो)। तस्बिर: नागरिक

पोखरा थन्डर्सले पूर्वविजेता काठमाडौं रेजर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्समाथि २–० को जित निकालेको हो। पोखराको जितमा स्टेफन बिनोङ र सुदिल राईले गोल गरेका हुन्। तीन खेलबाट पोखराले पहिलो तीन अंक बटुलेको हो।

 काठमाडौंको भने तीन खेलसम्म जितविहीन भएको छ। काठमाडौं यसअघि पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसँग २–२ र झापा एफसीसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो। तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको काठमाडौंको लक्ष्य पूरा भएन। यससँगै काठमाडौंले तीन खेलबाट दुई अंक मात्र जोडेको छ।

सात टोली सहभागी तेस्रो संस्करणमा तेस्रो खेलसम्म जितविहीन रहँदा काठमाडौं दबाबमा पनि परेको छ। यता, पोखरा पनि यस खेलअगाडिसम्म अंकविहीन टोली हो। तर, तेस्रो खेलमा भने पोखराले जित निकाल्यो। पोखराले यसअघि दुवै खेल हारेको थियो। उसले पहिलो खेलमा एफसी चितवनसँग २–० र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग २–१ ले हार बेहोरेको थियो। त्यसैले काठमाडौंविरुद्ध जित्नैपर्ने दबाबका साथ पोखरा मैदान उत्रिएको थियो।

सोहीअनुरूप सफल पनि भयो र पोखराको तीन अंक जोड्यो। पोखराले खेलको दोस्रो मिनेटमा नै पोखराका सुदिल राईको गोल गर्ने प्रयास सफल भएन। करिब २० यार्ड टाढाबाट उनको सशक्त प्रहार क्रसबारमा लागेर फर्कियो। यससँगै पोखराले राम्रो अवसर गुमायो।

सातौं मिनेटमा काठमाडौंले पनि अवसर सदुपयोग गर्न सकेन। जिलेस्पीजंग कार्कीको थ्रु पासमा भिनसेन्ट कोजिएलोले अफसाइड ट्य्राप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहार पोखराका गोलकिपर प्रिसोले असफल बनाए। रिबाउन्डमा पनि अर्मान्डो डियोपको प्रहार पोखराका डिफेन्डरले गोललाइन नजिकैबाट बचाए।

२२औं मिनेटमा पोखराको प्रयासमा गोलकिपर अभिषेक बराल बाधक भए। कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समीर तामाङको प्रहारलाई गोलकिपर अभिषेकले उत्कृष्ट बचाउ गरे। तर, २५औं मिनेटमा भने स्टेफन बिनोङको गोलबाट पोखराले अग्रता लियो।

साइडोस्टन जाफारोले दिएको क्रसमा बिनोङको डाइभिङ हेडर गोलमा परिणत भएको हो। ३३औं मिनेटमा पोखराले अग्रता दोब्बर बनाउने अवसर गुमायो। काठमाडौंका कप्तान कुलदीप कार्कीले स्टेफन बिनोङलाई बक्सभित्र तानेर लडाएपछि रेफ्री श्याम दनुवारले पोखरालाई पेनाल्टी अवसर दिए। तर, समीरको पेनाल्टी प्रहार काठमाडौंका गोलकिपर अभिषेकले डाइभ गर्दै रोके। पोखरा दोस्रो गोल गर्न चुक्यो। ३९औं मिनेटमा फेरि पोखराले अर्को अवसर गुमायो। आयुष घलानको सटीक क्रसमा बिनोङको ओपन हेडर फितलो बन्यो। यससँगै पहिलो हाफमा पोखराले १–० को अग्रता बनायो।

काठमाडौं दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। ५९औं मिनेटमा पोखराले अग्रता दोब्बर बनायो। आयुषले डिफेन्डर कुलदीप कार्कीलाई बिट गर्दे दिएको क्रसमा सुदिलको सामान्य टच काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो। यससँगै काठमाडौं २–० ले पछि पर्‍यो। काठमाडौंले ८५औं मिनेटमा गोल गर्ने मौका खेर फाल्यो।

दिनेश हेन्जानको पासमा बुया टुरेको हेडर माथिल्लो बारमा लागेर फर्कियो। ८९औं मिनेटमा जिलेस्पीजंग कार्कीको प्रहारमा पनि फेरि माथिको बारमा नै लागेर फर्किन पुग्यो। त्यसपछि पनि काठमाडौंले गोल गर्न सकेन र पोखरा २–० को जित निकाल्न सफल भयो।

काठमाडौंले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुरसँग २–२ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा पनि झापा एफसीसँग गोलरहित बराबरीको नतिजा सामना गरेको काठमाडौंले तेस्रो खेलमा भने हार सामना गरेको छ।

गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई हराउँदै उपाधि जितेको थियो। यस संस्करणमा वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन्। आगामी वैशाख १३ गतेसम्म हुँदै छ।  

प्रकाशित: २४ चैत्र २०८१ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App