विगतमा गाउँले गुञ्जन गर्थ्यो । खाना पकाउने धुवाँ, गोठको गन्ध, गाईबस्तुको हल्ला, स्कुले बालबालिकाको हाँसो, खेतबारीमा दिदिबैनिको भाका अनि चुलो बाल्ने बा आमाको कराह । आज त्यही गाउँ मौन छ । मौनताले चिच्याइरहेको छ गाउँले भन्दै छ “म एक्लिएँ।”
वर्तमान समयमा नेपालका पहाडी गाउँको अवस्था विकराल बन्दै गएको छ । एउटा सिङ्गो वडा घुम्दा ५०-६० जना मान्छे भेट्न कठिन हुन्छ । मानौँ त्यहाँ मान्छे मात्र होइन, आत्मा समेत पलायन भइसकेको छ । बिपी कोइरालाले भन्नुभएको थियो 'नेपाल गाउँ नै गाउँले भरिएको देश हो ।' आज पनि देश गाउँले नै भरिएको छ तर देसलाई भरेको गाउँ आफू भने रित्तै छ । गाउँ नै देशको मूल मुटु हो, आत्मा हो । तर आज त्यही मुटु स्पन्दनहीन भएको छ । आत्मा उडेर शरीर मात्र बाँकी छ गाउँको ।
आज हाम्रो गाउँका स्कुल दरबार जस्तो छन् - आकर्षक भवन, ठूलो कम्पाउन्ड, रङ्गिन गेट । तर कक्षाहरू रित्तो छन् , त्यहाँ विद्यार्थीको खुट्टा चल्दैन । मुसा र माकुराहरू चल्छन् । शिक्षक छन् तर विद्यार्थी छैनन् । शिक्षा दिने प्रयासहरू भवनसम्म आइपुगेका छन्, तर शिक्षाको आत्मा 'विद्यार्थी' नै हराएको छ ।
वडा कार्यालय, पालिकाका अफिसहरू सहरझैँ बनाइएका छन्- पक्की भवन, सिसाको झ्याल, पर्खालमा स्मार्ट बोर्ड । तर जनतालाई सेवा दिनेहरू जनताकै अनुपस्थितिमा के गर्ने रु स्वास्थ्य चौकी ठडिएका छन् , भवन राम्रो छ, उपकरण पनि कता कता देखिन्छन् तर बिरामीलाई सेवा दिन चिकित्सक छैनन् । प्रहरी चौकीको भवन हेर्दा लाग्छ- ‘सुरक्षा बलियो होला’। तर भित्र सन्नाटा छ, प्रहरीको उपस्थिति नाम मात्रको ।
स्वास्थ्य चौकीहरू, प्रहरी चौकी, वडा र पालिका कार्यालयहरू सबै शहरी सौन्दर्यमा रूपान्तरण भइरहेका छन् । तर सेवा पाउने मान्छे छैनन् । गुनासो गर्ने जनता छैनन् । नीति कार्यान्वयन गर्नुपर्ने वास्तविकतामा मान्छे रित्तिँदा, सबै सेवा प्रणाली आफैँ शिथिल हुँदैछ । विकासको ढाँचा बनाउनेहरूले आत्मा नभएको शरीर खडा गरिरहेका छन् । देख्न मिल्ने तर चालचलन नहुने ।
सडक सञ्जाल गाउँ-गाउँमा पुगेका छन् । ट्र्याक खोस्रेर टाकुरासम्म गाडी चढ्ने सुविधा पुगेको छ । तर ती बाटामा मान्छेको पाइला छैनन् । गाडीहरू गुड्दैनन्, धुलो र हिलो मात्र हुन्छन् । कारण-काम गर्ने जनशक्ति नै गाउँमा छैन । खेत जोत्न, बारीमा सिँचाइ गर्न, घरमा चुलो बलाउन अब कोही छैन ।
बारी बाझिएको छ, पाखाहरू घनघोर जङ्गल जस्तै बनेका छन् , खेतमा बाली छैन, गोठमा गाई छैन, चुलोमा आगो छैन।
आज गाउँमा बाँकी छन्- पहाडहरू, खोलाहरू, झरनाहरू, बादलहरू र तिनको मौनता । बाँकी छैनन् - ती सँग संवाद गर्ने मान्छे, ती सँग बाँचेको अनुभूति साट्ने पीढी ।
हिजोका बाँसुरी बजाएर साँझ घर फर्किने गोठालाहरू आज कानमा इयरफोन लगाएर खाडीको कडा घाममा पसिना बगाउँदै छन् भने कोही अमेरिकाको डाइनिङमा थाल माझ्दै होलान् ।
हिजो सिन्दूर पोतेसहित गाउँको चौतारोमा बसेर गफ गर्ने दिदीबहिनी थिए, आज उनीहरू युरोपका वृद्धाश्रमको सफाइ गर्दै होलान्। कोही भने खाडीका सेखहरूको महल रगड्दै छन् ।
अब गाउँका जीवनशैली, सम्पदा, र संस्कारहरू केवल तस्बिर बनेका छन् । स्मृति बनेका छन् । सुन्दर गाउँको कल्पना अब पर्यटकका फोटो एल्बममा मात्र सीमित हुने खतरामा छ ।
अझैपनी पहाड उस्तै छन्, खोलाहरू अझै झर्छन्, झरनाहरू अझै गुन्जिरहेका छन् । तर ती आवाज सुन्ने मान्छे छैनन् ।
गाउँबाट बिस्तारै जीवनको सुगन्ध हराएर गइरहेको छ । रित्तो स्कुल, सुनसान चोक, हराएका अनुहार ।
नेपाली गाउँ रित्तिँदै गएका छन्, रित्तिँदै छ हाम्रो आत्मा । हामी अझै नचेतिए, ती पहाडहरू इतिहासको मौन साक्षी मात्र बन्नेछन् ।
यो अवस्था देख्दा पनि लाग्छ, देशमा कसैको पेट पोलेको छैन , कसैलाई पीडा महसुस भएको छैन र कोही गाउँको पक्षमा छैन । कोहिपनी गाउँसँग छैनन् ।
यदि अब पनि चेतिएन भने हाम्रो भूगोल त बाँकी रहनेछ, तर समाजको संरचना भत्किनेछ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि, संस्कृति र ग्रामीण जीवनशैली पूर्ण रूपमा लोप हुन पुग्नेछ । अनि साँच्चिकै “गाउँमा अब पहाड मात्र उभिन्छ, मान्छे उभिँदैनन्” भन्ने भनाइ शिलालेखझैँ स्थायी हुनेछ । जुन हामी कहिल्यै चाहन्नौ ।
त्यसैले अबको राजनीतिक लडाइँ गाउँ जोगाउने हुनुपर्छ । अबको अभियन्ताहरूको एजेन्डा गाउँलाई भर्ने हुनुपर्छ । देशको नेतृत्वले, नीतिनिर्माताले ( शिक्षा, स्वास्थ्य, रोजगार गाउँमै सुनिश्चित गरेर गाउँले जीवनलाई उत्पादनसँग जोड्नुपर्छ । गाउँको प्राकृतिक श्रोत साधनको सदुपयोग गर्दै विश्व बजारलाई हाम्रा गाउँले उत्पादनहरूले भर्नुपर्छ ।
गाउँमा जीवन जोगाइएन भने, सहरको भीड पनि एक दिन बोझ बन्नेछ । गाउँ हरायो भने देशको आत्मा हराउनेछ ।
गाउँमा खोजौँ हाम्रा सपनाहरू , गाउँमै भेटाऔँ हाम्रा सम्भावनाहरू । सार्थक बनाऔँ गाउँले जीवनलाई । नत्र यो देश आत्माबिनाको शरीरमा रुपान्तरण हुँदै जाने छ ।
त्यसैले प्रिय युवाहरू सकेसम्म गाउँ फर्कौँ, गाउँ बचाऔँ । गाउँ बनाऔँ ।
प्रकाशित: १ वैशाख २०८२ १६:४२ सोमबार