२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा

उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।

पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित २०औं माछापुच्छ्रे कप टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रदीपले भारतीय खेलाडी अभिनंशु बोर ठाकुरलाई पराजित गर्दै फाइनल सुरक्षित गरे। उनले अब उपाधिका लागि संरक्षक भूषण बज्राचार्यसँग खेल्नेछन्।

पहिलो सेट ३-६ ले गुमाएका खड्काले दोस्रो सेट आफ्नो पक्षमा लिंदै उत्कृष्ट कमब्याक गरे। पहिलो सेटमा आफ्नो सर्भिस प्वाइन्टलाई भारतीय खेलाडी ठाकुरले ब्रेक गरेपछि खड्का पहिलो सेट गुमाउन पुगे।

तर दोस्रो सेटमा भने उनले कमब्याक गरी छाडे। ६-२ ले सेट लिँदै खेललाई निर्णायक सेटमा पुर्‍याए। फोरह्यान्डमा निकै अब्बल रहेका ठाकुरको ब्याकह्यान्ड भने केही कमजोर देखिएको थियो। त्यसको फाइदा उठाउँदै खड्काले दोस्रो सेट सहजै जिते।

अन्तिम सेटमा खड्का १-२ को अवस्थाबाट अगाडि बढे। आफ्नो सर्भिसमा प्वाइन्ट जोड्दै निकै संघर्षपूर्ण अवस्थामा रहे। ४-४ को बराबरी सेटमा खेलिरहँदा खड्काले ठाकुरको सर्भिस प्वाइन्ट ब्रेक गर्दै खेललाई ५-४ को अवस्थामा पुर्‍याए। म्याच प्वाइन्ट सेटमा उनले आफ्नो सर्भिसलाई नगुमाई  ६-४ को स्थिति साथ जितको खुसी मनाए।

अर्को सेमिफाइनलमा संरक्षकभूषण वज्राचार्यले रितिक राना (बुटवल) लाई ६-२, ६-३ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।

महिलातर्फको प्रतिस्पर्धामा सोनिरा थापाले उपाधिका लागि अभिलाषा विष्टसँग खेल्नेछिन्। थापाले रायना शाहलाई ६-३, ६-७ र ७-५ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन्।

महिलातर्फकै दोस्रो सेमिफाइनलमा अभिलाषा विष्टले महिका राणालाई ६-३, ४-६ र ६-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरिन्। महिला तथा पुरुष च्याम्पियनले नगद ८० हजार प्राप्त गर्नेछन्।

उपविजेता महिला तथा पुरुषले ४० हजार प्राप्त गर्नेछन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल आइतबार पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगिताका निर्देशक राजन पौडेलले जनाए।

प्रकाशित: १५ पुस २०८० ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App