२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धार्मिक पर्यटनको लागि बागेश्वरीमा महाआरतीको तयारी

नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि बागेश्वरी मन्दिरमा महाआरती गर्ने तयारी भएको छ।

बागेश्वरी मन्दिरमा आउने भारतीय भक्तजनलाई धार्मिक पर्यटकका रूपमा स्वागत गर्न र उनीहरूलाई नेपालगञ्जमा केही दिन टिकाइराख्न महाआरती गर्ने तयारी भएको बाँके पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।  

उनका अनुसार पशुपतिनाथ मन्दिरसँगको भगिनीसम्बन्ध रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरीमा भारतबाट बर्सेनि १०औँं हजारको सङ्ख्यामा भक्तजन आउने गरेका छन्। धार्मिक पर्यटकीय दृष्टिले निकै महत्व मानिँदै आएको महाआरतीका लागि पर्यटन व्यवसायीले लामो समयदेखि पहल गर्दै आएका थिए।  

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए। महाआरतीका लागि आवश्यक पर्ने बजेट उपमहानगरपालिकाले उपलब्ध गराउने गरी सुरुवातमा रु तीन लाख बजेट सुनिश्चित गरेको उनको भनाइ छ।  

धार्मिक रूपमा दानपुण्यको स्रोतबाट दैनिक महाआरतीको योजना गरिए पनि उपमहानगरपालिकाको आर्थिक सहयोगबाट प्रारम्भिक रूपमा मासिक कम्तीमा दुई पटक उचित दिन हेरेर महाआरती गर्ने तयारी भएको नगर प्रमुख विष्टले बताए। महाआरतीले बागेश्वरी मन्दिरलाई थप आकर्षक र शक्ति सम्पन्न बनाउने उनको विश्वास छ।

बागेश्वरीका मूल महन्त चन्द्रनाथ योगी, बागेश्वरी गुठीसहित, सरोकारवालासँग बृहत छलफल गरेर सम्भवत महाअष्टमीबाट महाआरतीको शुभारम्भ गरिने तयारी भएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) बाँके शाखाका अध्यक्ष श्रीराम सिग्देलले बताए। रासस

प्रकाशित: १२ आश्विन २०७९ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App