७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जनै पूर्णिमा र रक्षा सूत्रको महिमा

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पनि मान्ने गरिन्छ। श्रावण महिनामा पर्ने भएकाले यो चाडलाई श्रावणी पनि भन्ने गरिन्छ। त्यस्तै यो दिन क्वाँटी खाएर मनाइने भएकाले यो दिनलााई क्वाँटी खाने पूर्णिमा पनि भन्ने गरिन्छ। यो चाडलाई सबै धर्मालम्बी र जातिका मानिसहरूले समान रूपले मान्ने भएकाले यो चाडलाई धार्र्मिक समन्वयको चाडका रूपमा लिइन्छ।  

हिन्दु, बौद्ध, शाक्त, बैष्णव सबैले संयुक्त रूपमा यो चाडमा नौथरी गेडागुडी ठूलो केराउ, सानो केराउ, गेडा मास, मस्याङ, भुटी बोडी, भटमास, सिमी, चना, बकुल्ला आदि राखी क्वाँटी बनाएर खाने चलन छ। यो दिन विभिन्न स्थानमा बौद्धहरूले बहालहरूमा भगवान् बुद्धका मूर्तिहरू, पौभाः र पुराना बौद्धकालीन वस्त्र, सर सामान र अन्नसमेत प्रदर्शन गर्ने चलन छ।

यो पूर्णिमाका दिन उपत्यकाका ज्यापु किसानहरूले खेतमा गई भ्यागुतालाई भात खुवाउने गर्छन्। त्यसैले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिनका रूपमा पनि लिइन्छ।  

यो पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरूले सबेरै उठेर गोबर, खरानी वा सेतो माटो जिउमा दलेर नुहाएर सप्तर्षिहरूलाई पूजा गर्ने र तर्पण गर्र्ने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ। तागाधारीहरूले यो दिन विधिपूर्वक बनाइराखेको जनै र रक्षा सूत्रलाई विधिपूर्वक मन्त्र पढेर गुरु वा पुरोहितबाट श्रद्धा, भक्ति भावले जनै लगाउने र हातमा डोरो रक्षा सूत्र बाँध्ने गर्छन्।  

जनै पूर्णिमाका दिन क्वाँटी दान गरेर पुण्य सञ्चय गरी आफूले पनि पौष्टिक तŒव भएको क्वाँटी खाएर शरीरलाई स्वस्थ पारेर बलियो बनाउनुपर्छ भनी हाम्रा पुर्खाहरूले यो चलन चलाएका हुन्। यो समय भनेको असार साउन महिना, त्यसमा पनि दिनभर रोपाईं गरेर शरीरमा लागेको सर्दी र कमजोरीलाई हटाउन हाम्रा पुर्खाहरूले यो क्वाँटी खाने चलन बनाइराखेका हुन्। तराईतिर भने यो दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई राखी बाँधिदिने चलन छ। यो चलनले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइदिन्छ।

रक्षाबन्धनको विषयमा सुनिएका किंवदन्तीअनुसार एकपटक देवता र दैत्यहरूका बीचमा १२ वर्षसम्म युद्ध भएछ। तर त्यस युद्धमा न दैत्यहरूले जित्न सके, न देवताहरूले नै जित्न सके। युद्ध गर्दागर्दा देवताका राजा इन्द्र पनि थाकेछन्। दैत्यहरूलाई किन हराउन सकिएन भनी इन्द्र आश्चर्यमा परेछन्। के गर्दा जित्न सकिन्छ भन्ने विचारले इन्द्र आफ्ना गुरु वृहस्पतिकहाँ गएर उपायका लागि सल्लाह लिन पुग्छन्। ‘हामीले जति युद्ध गर्दा पनि दैत्यहरूलाई हराउन सकेनौँ। हजुरले कृपा गरेर हामीले जित्न सक्ने उपाय बताइदिनुहोस्। मैले के गरेमा युद्ध जित्न सफल हुने छु ?’ भनी इन्द्रले गुरु वृहस्पतिसँग अनुनय विनय गर्छन्। अनि गुरु वृहस्पतिले भन्नुहुन्छ – ‘हे इन्द्र, सबै देवताहरू साथमा लिई इन्द्रणीकहाँ गएर देवताहरू सबैलाई र आफूलाई पनि रक्षाका लागि व्रत गर्नुप¥यो भनेर इन्द्राणीलाई व्रत गराउनू। जब व्रत समापन हुन्छ, त्यस समयमा जुन धागो प्राप्त हुन्छ त्यही धागोले इन्द्रको दाहिने हातमा बाँधी दिनाले तपार्इंहरूको अवश्य नै युद्धमा विजय हुनेछ।’  

गुरु वृहस्पतिको यस्तो आज्ञा पाएपछि सम्पूर्ण देवतासहित इन्द्राणीकहाँ गएर इन्द्रले सबै कुरा बताउँछन्। इन्द्राणीले पनि सम्पूर्ण देवताका रक्षाका लागि विधिपूर्वक व्रत बस्छिन्। व्रत सकिनेबित्तिकै इन्द्रको दाहिने हातमा रक्षा सूत्र धागो बाँधेर निधारमा टीका प्रसाद लगाईदिँदै भन्नुहुन्छ, ‘निर्धक्क भएर युद्धमा जानुहोस्। अवश्य पनि विजयी हुनुहुनेछ।’ यसरी इन्द्रले रक्षा सूत्र बाँधेर युद्धमा जान्छन्। फेरि देवता र दैत्यको बीचमा युद्ध हुन्छ। यसपटक इन्द्रले यति पराक्रम र साहसपूर्वक युद्ध लड्छन् कि दैत्यहरू नै चकित हुन्छन्। अन्ततः देवताहरूकै विजय हुन्छ। उही समयदेखि विजयको प्रतीकको यो पर्व मनाइँदै आइरहेको हो।  

त्यस्तै अर्को किंवदन्तीअनुसार प्राचीनकालमा श्रावण महिनामा ठूलाठूला ऋषिहरू गाउँगाउँ र नगरमा गएर मानिसहरूमा प्रेम, सद्भाव र आत्मीयता फैलाउन उपदेश दिन जाने गर्दा रहेछन्। श्रावणी अर्थात् जनै पूर्णिमाका दिन रक्षा बन्धन गर्ने ती ऋषिहरूले विभिन्न गाउँमा गएर ठूलाठूला यज्ञ गरेर गृहस्थी मानिसहरूलाई त्यस यज्ञमा भाग लिन लगाउने र भक्तजनहरूले पनि अति नै श्रद्धा राखेर ऋषिबाट गुरु मन्त्र लिने गर्दारहेछन्। ऋषिहरूले पनि मन्त्र दिनुअघि मानिसहरूले सत्य, प्रेम र सद्भावमा सधैँ बस्नुपर्ने उपदेश दिँदा रहेछन्। यसका साथै भक्तजनहरूले पनि गुरुको उपदेश जीवनभरि पालना गर्ने छु भनी सत्य बाचा बोल्दा रहेछन्। त्यही बाचाबन्धनलाई सधैँ पालना गर्छु भनी सम्झना गराई राख्न नै हरेक वर्ष ऋषिहरू मानिसहरूका घरघरमा गई हातमा रक्षा सूत्र बाँधी दिने र जनै धारण गरिदिने चलन रहेको हो।

दानवहरूका महाबलि राजालाई जुन सत्यले बाँधिदिए, त्यही सत्यले बाँधिराख्न रक्षा सूत्र बाँधी दिएको हुँ। हे रक्षा सूत्र! तिमी पनि अचल भई बस्नू भनी रक्षा सूत्र बाँधेका यजमान सत्यमा अचल भएर बस्छ भन्ने अर्थमा रक्षा सूत्र बाँधिदिने हो। रक्षा सूत्र बाँधिदिँदा यस्तो मन्त्र पढिन्छ।  

येनबद्धो बली राजा दान मिन्द्रो महाबल।

तेन त्वां प्रतिबध्यानागि रक्षे मां चलमा चल।।

त्यस्तै जनै लगाइदिँदा पनि यसरी मन्त्र पढ्ने गरिन्छ–

यज्ञो पवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात।

आयुष्य मग्यं प्रतिमुञ्च भुभुं यज्ञोपवीतं बलमस्तुतेज।।

आजसम्म पनि यो परम्परा चल्दै आइरहेको छ। यही परम्पराअनुसार ब्राह्मण वा पुरेतले यजमानको हातमा रक्षा सूत्र बाँधिदिने र पुरानो जनै फेरेर नयाँ जनै लगाइदिन्छन्। यजमान सधैँ सत्यतामा बसोस् भनी गुरु पुरेतहरूले आशीर्वाद दिइरहन्छन्। सधैँ यजमानको जीवन सुखमय भएर जीवन सफलतापूर्वक अघि बढिरहोस् भनी पुरेतहरूले आशीर्वाद दिइरहन्छन्।  

प्रकाशित: २८ श्रावण २०७९ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App