नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षकहरूलाई पटक–पटकको धोकाविरुद्ध धैर्यतापूर्वक आन्दोलन जारी राख्न आह्वान गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षकहरूको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाए।
शिक्षा सुधारको माग राख्दै विगत २१ दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई सम्बोधन गर्दै दाहालले सरकारले बारम्बार सम्झौता गरेर पनि धोका दिएको आरोप लगाए।
“शिक्षक साथीहरूले पटक–पटक आन्दोलन गर्नुभयो, सम्झौता गर्नुभयो, तर हरेक पटक धोका भएको छ। अब धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन म अपिल गर्छु,” उनले भने।
दाहालले सरकारको गैरजिम्मेवार रवैयाप्रति आपत्ति जनाउँदै शिक्षकहरूको जायज माग तत्काल सम्बोधन गर्नुपर्ने बताए।
उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग भएको सहमतिअनुसार संसद्मा दर्ता भएको विधेयकलाई अविलम्ब अघि बढाउन सरकारलाई आग्रह गरे।
कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै दाहालले जनताका मागलाई सम्बोधन गर्न कम्युनिस्टहरूको एकता र सङ्घर्ष अपरिहार्य रहेको बताए। उनले शिक्षक आन्दोलनलाई जनताको न्यायपूर्ण सङ्घर्षको हिस्साको रूपमा व्याख्या गरे।
प्रकाशित: ९ वैशाख २०८२ १५:१५ मंगलबार





