२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

मुगुमा भाइरल एन्फ्लुएन्जा नफैलिएको स्वास्थ्य कार्यालयको दाबी

स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँचजनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण रहेको जनाएको छ। भाइरल एन्फ्लुएन्जाका कारण हालसम्म कुनै पनि बिरामीको मृत्यु नभएको र एन्फुलुएन्जाको लक्षणसमेत नभेटिएको उसको दाबी छ।

स्वास्थ्य सेवा कार्यालय मुगुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहसँग समन्वय तथा तथ्य संकलन गर्दा हालै भएका मृत्यु  दीर्घकालीन रोग तथा अन्य स्वास्थ्य समस्याबाट भएको स्पष्ट पारेको छ। ती मृत्यु भाइरल एन्फ्लुएन्जासँग प्रत्यक्ष रूपमा सम्बन्धित नरहेको देखिएको विज्ञप्तिमा उल्लेख छ।

मृत्यु भएको भनिएको वाम क्षेत्रमा स्वास्थ्य सेवा कार्यालय मुगुको चिकित्सक टोली पुगेर तीन सय २८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो।

सो क्रममा केहीमा फ्लु तथा भाइरल ज्वरोको लक्षण देखिए पनि बिरामीलाई अस्पताल पुर्‍याएर भर्ना गर्नुपर्ने अवस्था नदेखिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।

‘मुगुको कार्मारोङ गाउँपालिकामा पनि चिकित्सक टोली पुगेर तीनदिने स्वास्थ्य परीक्षण गरेर फर्किएको थियो। माग्री क्षेत्रमा १० जनामा फ्लुजस्ता लक्षण देखिएका बिरामी भेटिएका थिए’, निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. पूजा आचार्यले प्रेस विज्ञप्तिमा भनेकी छन्, ‘संकलन गरिएकामध्ये एकजनामा एन्फ्लुएन्जा टाइप बी पुष्टि भएको छ। शंकास्पद देखिएका बिरामीको भिटिएम नमुना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा पठाउने प्रक्रिया अघि बढाइएको छ।’

बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षणका साथै उनीह्रूलाई औषधि वितरण गरिएको डा. आचार्यले बताइन्। हालसम्म कुनै पनि बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको उनको भनाइए छ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भाइरल एन्फ्लुएन्जा फैलिएको खबर प्राप्त हुनेबित्तिकै मुगु अस्पतालसँग समन्वय भएको जनाएको छ।

 उपकुलपति डा. पुजनकुमार रोकायाले स्वास्थ्य सेवा कार्यालय मुगु र मुगु अस्पतालमा समन्वय गर्दा भाइरल एन्फ्लुएन्जा फैलिएको खबर तथ्यहीन भएको जानकारी पाएको बताए।

प्रकाशित: ११ पुस २०८२ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App