प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै क्षेत्रमा सामाजिक आन्दोलन, अधिकार अभियान र जनस्तरका गतिविधिबाट उदाएका नेताहरू विजयी भएका छन्। लामो समयदेखि समुदायस्तरमा सक्रिय रहँदै आएका सुरेशकुमार चौधरी, मोहम्मद इस्तियाक राई र खगेन्द्र सुनार जनमतबाट अनुमोदित भएका हुन्। जनअनुमोदनपछि उनीहरूको संसद् यात्रा सुरु भएको छ।
बाँके–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चौधरी निर्वाचित भएका छन्। शिक्षा, मानवअधिकार र सीमान्तकृत समुदायका अधिकारका विषयमा लामो समयदेखि सक्रिय चौधरी सामाजिक आन्दोलनबाट उदाएका नेता मानिन्छन्।
विशेषगरी कमैया मुक्ति आन्दोलनका अगुवामध्ये उनी एक हुन्। कमैया मुक्ति आन्दोलनका केन्द्रीय संयोजक तथा कमैया मुक्ति मञ्चका महासचिवसमेत भइसकेका उनले पश्चिम तराईमा लामो समयसम्म कमैया मुक्ति आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गरेका छन्। कमैया समुदायको मुक्ति, पुनस्र्थापना र अधिकारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
चौधरी मानवअधिकार क्षेत्रमा पनि सक्रिय छन्। मानव अधिकार सचेतना मञ्च बाँकेको संयोजकको जिम्मेवारी सम्हाल्दै उनले उत्पीडित र पछाडि पारिएका समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका छन्। २०३९ सालदेखि सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय उनले केही समय शिक्षण पेसामा पनि बिताएका छन्। शिक्षकको रूपमा काम गर्दा उनले सामाजिक चेतना फैलाउने र समुदायमा परिवर्तन ल्याउने अभियानलाई अघि बढाएका थिए।
बाँके–२ बाट एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नेपालगन्जका राई मधेस आन्दोलनबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका नेता हुन्। विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनले २०५३ सालतिर औपचारिक रूपमा राजनीति सुरु गरेका थिए। २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा आबद्ध भएपछि उनको राजनीतिक यात्रा तीव्ररूपमा अघि बढ्यो।
मधेस आन्दोलनका क्रममा पटकपटक पक्राउ परेका राई पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्यमा बाँके–२ बाट निर्वाचित भएका थिए। त्यसपछि उनले विभिन्न समयमा मन्त्रीको जिम्मेवारी पनि सम्हाले। २०६८ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेका राई २०७४ सालको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकासमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए।
बाँके–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनार दलित समुदायको हक, अधिकार र सामाजिक न्यायका मुद्दामा लामो समयदेखि सक्रिय अभियन्ता हुन्। रास्वपाबाट उम्मेदवार बनेका उनी २९ हजार ५५१ मत पाएर निर्वाचित भएका हुन्। दैलेखमा जन्मिएका सुनारले पत्रकारिता, कला र सामाजिक अभियान मार्फत सार्वजनिक जीवन सुरु गरेका हुन्।
प्रकाशित: २५ फाल्गुन २०८२ ०९:२० सोमबार





