१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

‘ओली भ्रष्टाचारको संरक्षक, सरकारमा बस्ने औचित्य गुमाइसके’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले वैधानिकता र औचित्य गुमाइसकेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई अलोकतान्त्रिक, अपारदर्शी र असंवैधानिक भएको टिप्पणी गरे।

दाहालले ओली सरकारको गठन नै अप्राकृतिक र भ्रष्टाचार संरक्षणमा केन्द्रित रहेको जिकिर गरे। “यो सरकारले भ्रष्टाचारको रक्षा गर्ने र आफ्ना पक्षमा अन्धा बनेर गलत काम गर्नेहरूलाई जोगाउने बाहेक केही गरेको छैन। यस्तो सरकार एक दिन पनि सत्तामा रहने हक राख्दैन,” उनले भने। उनले सरकारको गैरजिम्मेवार रवैयाले जनताको विश्वास गुमाएको दाबी गरे।

शिक्षक, लघुवित्त पीडित, सहकारी पीडित र चिकित्सकहरूको आन्दोलनलाई उदाहरण दिँदै दाहालले सरकार जनताका जायज मागप्रति उदासीन रहेको बताए।

“लाखौँ शिक्षक सडकमा छन्, तर सरकारले उनीहरूलाई धोका दिइरहेको छ। मैले प्रधानमन्त्री हुँदा गरेको सहमतिअनुसारको विधेयक संसद्मा दर्ता भइसकेको छ, तर त्यसलाई अघि बढाउन सरकार गम्भीर छैन,” उनले थपे।

दाहालले कम्युनिस्ट आन्दोलनको एकतामार्फत जनताको पक्षमा सङ्घर्षलाई तीव्र बनाउनुपर्नेमा जोड दिए। “हामी जनतामाझ गएर कमजोरी सुधार्दैछौँ। ओली सरकारको जनविरोधी नीतिविरुद्ध सच्चा कम्युनिस्टहरू एकजुट हुनुपर्छ,” उनले आह्वान गरे।

प्रकाशित: ९ वैशाख २०८२ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App