१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

विचार अनेक हुनसक्छन्, विकासमा एक हुनुपर्छः मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विचार अनेक भए पनि विकासमा एक हुनुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आज धुलिखेलमा आयोजित ‘तीन तहबीच समन्वय र सहजीकरण’ विषयक अन्तरक्रियामा उनले विकास सबैका लागि भए पनि विचारको आधारमा अनेकतालाई अन्यथा मान्न नहुने धारणा राखे।

मुख्यमन्त्री बानियाँले अब स्थानीय तहले प्राथमिकतामा राखेकाबाहेक योजना प्रदेश सरकारले स्वीकार नगर्ने प्रतिबद्धता जनाए।

‘विचारमा अनेकता होला तर विकासमा एकता हुन्छ, जनप्रतिनिधिले नै विकास गर्ने हो। त्यसैले तीन तहका सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वबीचको कानुनअनुसार काम गर्नुपर्छ। प्रदेश सरकारले स्थानीय तहले अगाडि सार्ने योजना स्वीकारेर अगाडि बढ्छ’, उनले भने।

मुख्यमन्त्री बानियाँले काभ्रेपलाञ्चोक, रोशीको थानसिङबेंसीको पुल, जिल्लामा हरित महिला उद्यम, काभ्रेपलाञ्चोकबाट प्रदेश राजधानी हेटौँडा जोड्ने निर्माणाधीन जनमुक्तिमार्ग, जिल्लाको अन्य सहरी क्षेत्रमा निर्माणाधीन सडकमा बजेट थप्ने विषयलाई प्राथमिकता राख्ने प्रतिबद्धता जनाए।

यसैगरी, उनले बनेपा, धुलिखेल र पनौती गरी तीन नगरपालिकामा सञ्चालित एकीकृत खानेपानीलाई व्यवस्थित गर्ने तथा जेन-जी आन्दोलनमा जलेको बनेपा नगरपालिकाको भवनलगायत सुरक्षा निकायका भवन निर्माणलगायत विषयलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढाउने बताए। 

मुख्यमन्त्री बानियाँले सङ्घीयतापछिको अभ्यास क्रममा केही नीतिगत र संरचनागत समस्या देखिनु स्वाभाविक भएको उल्लेख गर्दै ती समस्यालाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने धारणा राखे। 

कार्यक्रममा बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले सङ्घीय संरचनामा सेवा प्रवाह प्रभावकारी बनाउन तीन तहबीच निरन्तर संवाद आवश्यक रहेको बताए। उनले नीति निर्माणका क्रममा स्थानीय तहका व्यावहारिक समस्यालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित: १३ पुस २०८२ २२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App