१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले समय थप्न नमानेपछि सोमबार नै बन्दसूची बुझाउने तयारीमा कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्र बन्दसूची बुझाउन कांग्रेस कार्यसम्पादन समितिको बुधबारदेखि जारी बैठकले गृहकार्यलाई तीव्र बनाएको हो।

सोमबार कार्यालय समयभित्र नै सूची निर्वाचन आयोगमा बुझाउने गरी तयारीलाई तीव्र बनाएको कांग्रेसले समानुपातिकतर्फ नयाँ अनुहारलाई समेट्ने प्रयास गरेको छ।

यसअघि अवसर नपाएकाहरूलाई समेटेर बन्दसूचीको तयारीमा जुटेको कांग्रेसले प्रदेशअनुसार पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी दिएको एक सदस्यले जानकारी दिए।

प्रधानमन्त्री सुशीला कार्कीसँग शनिबार भएको छलफलमा तीन दलका शीर्ष नेताहरूले समानुपातिकको सूची बुझाउने समय केही दिन सार्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री कार्की त्यसका लागि तयार नभएपछि दलहरू निर्धारित समयमै सूची बुझाउने तयारीमा जुटेका हुन्।

त्यस्तै, जारी कार्यसम्पादन समितिले नै माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको उम्मेदवार टुंगो लगाउनेछ। निर्वाचनमा एमालेसहितका दलहरूसँग चुनावी तालमेल गरेर जाने गृहकार्यसमेत भइरहेको एक नेताले जानकारी दिए।

‘शीर्ष नेताहरूबिच चुनावी तालमेल टुंगो लगाएपछि त्यसअनुसारको उम्मेदवारको नाम कार्यसम्पादनले अनुमोदन गर्नेछ,’ ती नेताले भने।

प्रकाशित: १३ पुस २०८२ २१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App