नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई जनताको आकांक्षाअनुरूप अघि बढाउन विगतका कमजोरी सुधार्दै जनतामाझ पुग्ने प्रक्रिया सुरु भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस र १५६औं लेनिन जयन्तीको अवसरमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरे।
दाहालले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा स्मरण गर्दै टुटफुट र घात–प्रतिघातका बीचबाट पनि आन्दोलनले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे।
“हाम्रो आन्दोलनलाई एकताबद्ध गर्नु आजको प्रमुख आवश्यकता हो। हामी विचार र सिद्धान्तमा आधारित एकताका लागि जनतामाझ पुगेर आफ्ना कमजोरी सुधार्दैछौँ,” उनले भने।
उनले जनयुद्धका सहिद र बेपत्ता योद्धाहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूका परिवारसँगको संवादलाई पार्टीको जिम्मेवारीको रूपमा लिएको बताए।
वर्तमान सरकारको गैरजिम्मेवार रवैयाप्रति कडा आलोचना गर्दै दाहालले शिक्षक, लघुवित्त पीडित, सहकारी पीडित र चिकित्सकहरूको आन्दोलनप्रति सरकार उदासीन रहेको आरोप लगाए।
“लाखौँ शिक्षक आन्दोलनमा छन्, तर सरकारले उनीहरूको मागलाई बेवास्ता गरेको छ। मैले प्रधानमन्त्री हुँदा गरेको सहमतिअनुसारको विधेयक संसद्मा दर्ता भइसकेको छ। सरकारले यसलाई तत्काल अघि बढाएर जनभावनाको कदर गर्नुपर्छ,” उनले जोड दिए।
उनले सरकार जनताको आवाजप्रति गम्भीर नभएर पूर्ण रूपमा असफल भएको जिकिर गरे। दाहलले कम्युनिस्ट आन्दोलनको एकताको झन्डा कहिल्यै नछोड्ने प्रतिबद्धता दोहोर्याए।
“लेनिनको प्रेरणाबाट स्थापित यो आन्दोलन ७७ वर्षको गौरवपूर्ण इतिहास बोकेर अघि बढिरहेको छ। हामी सच्चा कम्युनिस्टहरूको एकतामार्फत जनताको विश्वास जित्नेछौँ,” उनले भने।
प्रकाशित: ९ वैशाख २०८२ १४:५८ मंगलबार





