१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

तीन जनालाई ‘टीकाराम गौतम स्मृति पुरस्कार’

टीकाराम गौतम स्मृति प्रतिष्ठानले मंगलबार एक पत्रकार, एक समाजसेवी र ताप्लेजुङको उत्कृष्ट रेडक्रस उपशाखालाई नगदसहित पुरस्कृत गरेको छ। प्रतिष्ठानको १५औँ स्मृतिसभामा १० हजार १०५ रुपैयाँ राशिको ‘टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार’ रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङलाई प्रदान गरिएको छ। 

पत्रकार महासंघ ताप्लेजुङको सिफारिसमा गुरुङलाई यो पुरस्कार दिइएको हो। लामो समयदेखि पत्रकारिता र अधिकार रक्षाको क्षेत्रमा सक्रिय गुरुङ जिल्ला बाल इजलासमा सहजकर्ता छन्, जहाँ बालबिज्याइँका मुद्दा हेर्ने गरिन्छ। एक दशकसम्म अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को जिल्ला प्रतिनिधि रहेका गुरुङ हाल नेत्रज्योति संघ ताप्लेजुङका कार्यसमिति सदस्य र प्याब्सन ताप्लेजुङका उपाध्यक्ष छन्।  

यस्तै, १० हजार १०५ रुपैयाँ राशिको ‘टीकाराम गौतम स्मृति समाजसेवी पुरस्कार’ फुङलिङ नगरपालिका–५ का दिनेश खवासलाई प्रदान गरिएको छ। ताप्लेजुङमा ब्लड बैंक नहुँदा रक्त समूहअनुसार व्यक्तिहरू खोजेर रगत अभाव टार्ने काम खवासले गर्दै आएका छन्। रगत अभावमा ज्यान जोखिममा परेका व्यक्तिका लागि रक्तदाता व्यवस्थापनमा उनको योगदानको कदर गर्दै प्रतिष्ठानले पुरस्कृत गरेको हो। फुङलिङ नगर कार्यपालिका सदस्यसमेत रहेका खवास होटल व्यवसायी संघ ताप्लेजुङ र ‘ताप्लेजुङ रन’ अभियानका अध्यक्ष छन्।  

यसैगरी, रेडक्रसका २४ उपशाखामध्ये फुङलिङ उपशाखालाई यस वर्षको उत्कृष्ट उपशाखा घोषित गरी १५ हजार १०५ रुपैयाँसहित पुरस्कृत गरिएको छ। फुङलिङ नगरप्रमुख अमिर मादेनले पुरस्कृत व्यक्तित्वहरूलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरे। कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेन, कोशी प्रदेशसभाका पूर्वसदस्य होमकुमारी साँवा र फुङलिङका पूर्वनगरप्रमुख छत्रपति प्याकुरेल उपस्थित थिए।  

टीकाराम गौतम स्मृति प्रतिष्ठानले २०६९ देखि हरेक वर्ष एक पत्रकार, एक समाजसेवी र ताप्लेजुङ रेडक्रसको उत्कृष्ट उपशाखालाई सम्मान गर्दै आएको छ। नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका तत्कालीन सभापति टीकाराम गौतमको २०६६ कात्तिक ११ मा हृदयघातबाट निधन भएको थियो। २०१३ बैशाख ९ मा जन्मिएका गौतमको जन्मजयन्तीमा प्रतिष्ठानले हरेक वर्ष बैशाख ९ मा स्मृतिसभा र पुरस्कार वितरण गर्दै आएको छ। गौतम २०३८ मा रेडक्रस ताप्लेजुङको उपकोषाध्यक्ष बनेर संस्थागत रूपमा जोडिएका थिए। २०४२ देखि २०५४ सम्म सचिव र २०५४ देखि मृत्युसम्म उनी जिल्ला सभापति भएका थिए। 

प्रकाशित: ९ वैशाख २०८२ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App