शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामाबारे अनेक अड्कलबाजी भइरहेका छन्। राजीनामाको कारण भट्टराईले ‘स्वास्थ्य’ भनेकी छन्। तर, चासो राख्नेहरू त्यसलाई मान्न तयार छैनन्।
सार्वजनिक तथ्यअनुसार भट्टराई आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सुरुवातदेखि नै सक्रिय थिइन। तर प्रधानमन्त्री केपी शर्मा ओलीबाट आवश्यक सहयोग नमिलेको गुनासो पोख्न थालेकी थिइन।
प्रधानमन्त्री ओली सार्वजनिक मञ्चमै शिक्षक आन्दोलनप्रति रुखो सुनिने गरेका थिए। सोमबार मात्रै पनि ‘सहमति गरेर विद्यालय फर्किहाल्नू’ भन्ने निर्देशनात्मक आदेश जारी गरेका थिए। उनी अहिले नै शिक्षकले भनेअनुसार सबै माग सम्बोधन गर्न नसकिने भन्दै आएका छन्।
विभागीय मन्त्रीको हैसियतमा भट्टराईले प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सभामुख देवराज घिमिरेसँग पनि परामर्श गरेकी थिइन। तर, अर्थमन्त्री विष्णु पौडेर र सभामुख घिमिरेसम्म पनि सकारात्मक देखिएनन्। सभामुखले त बर्खे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पास गर्न नसकिने ठाडो जवाफ फर्काइदिएका थिए।
एकातिर सरकार र संसद् प्रमुखबाट यस्तो प्रतिक्रिया आउनु र अर्कातिर शिक्षकको लगातार आन्दोलनको दबाबले भट्टराई चेपुवामा थिइन। राजीनामाको धरातल बन्न अन्य घटनाक्रम पनि कारक देखिन्छन्। प्रधानमन्त्रीले शिक्षामन्त्री भट्टराईलाई ‘बाइपास’ गरेर शिक्षकसँग गरेको छलफल पनि एक अर्को कारण भनिएको छ।
यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केसर जङ्ग बरालको राजीनामादेखि काठमाडौँ विश्वविद्यालयका उपकुलपति नियुक्तिमा पनि शिक्षामन्त्री भट्टराईको असहमति थियो।
यस्तै त्रिविको जग्गा हिनामिनासम्बन्धी प्रतिवेदन छिटो सार्वजनिक भएर थप अनुसन्धान हुनुपर्ने भट्टराईको धारणा रहेको बताइन्छ। तर प्रधानमन्त्रीले सार्वजनिक नगरिदिँदा उनी असन्तुष्ट थिइन।
यस कारण राजीनामाको कारण ‘स्वास्थ्य’ भन्दा शिक्षाकै सवाल बढी रहेको विश्लेषण भइरहेको छ।
प्रकाशित: ९ वैशाख २०८२ १४:५० मंगलबार





