१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेमा आफ्नो विकल्प खोज्नेसँग ओलीको प्रश्न: भ्रम छर्न खोजेको कि, भ्रममा सहभागी भएको ?

सरकारको आलोचनाबारे पार्टीभित्रबाट पर्याप्त प्रतिरक्षा नभएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि पोखेका छन्। कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले असन्तुष्टि पोखेका हुन्। 

‘गाली खानका लागि कुनै गल्ती गर्नु पर्दैन भन्ने अहिले.. गल्ती गर्नेहरूले, अपराधीहरूले, समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्त्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबभन्दा बढी घेराबन्दी गर्ने, विरोध गर्ने गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने। यसमा विभिन्न प्रकारका शक्ति सामेल भएको उनले दाबी गरे। विरोधीहरूले सङ्गठित तवरले घेराबन्दी र हमला गर्ने नै भएको पनि उनले बताए। 

‘तर, हाम्रै साथीहरूमा पनि कताकति फेरि....!’ भन्दै पार्टीका नेता कार्यकर्तामाथि प्रश्न उठाए। ‘यत्तिकै यो विरोध भएको छ त ? यत्तिकै विरोध त भएको होइन होला? यो भ्रम छर्न खोज्या हो कि, भ्रममा सामेल हुन खोजेको नबुझिने गरी त्यस्ता आशङ्का उब्जिने गरी बोल्ने गरेको पाइन्छ,’ प्रधानमन्त्री ओलीले भने। 

विभिन्न प्रकारका वैदेशिक शक्तिहरूले एमालेलाई सहयोग नगरिरहेको उनले बताए। ‘यहाँ नेतृत्वले केही गल्ती त गरेन?’ भनेर पार्टीभित्रै प्रश्न गर्नेहरू रहेकोतर्फ उनले सङ्केत गरे। 

उनले भने, ‘राष्ट्रियताका सम्बन्धमा सवाल उठायो होला, विरोधको सामना गरिराख्या छ। जनताका सवाल, अग्रगमनका सवाल उठाएको छ। आलोचनाको तारो भइराख्या छ।’ त्यसपछि पार्टीभित्रै ‘आलोचनाको तारो नहुने खालको पो नेता खोज्नुपर्छ कि?’ भन्ने प्रश्न उठेको संशय उठेको आशय व्यक्त गरे। 

एमालेले आन्दोलनको उद्देश्य, राष्ट्रियताको सवाल छोडिदिए त हाइहाइ भइहाल्ने प्रधानमन्त्री ओलीले दाबी गरे । ‘म पनि जेठ महिनाभित्र हाइहाइ भइहाल्छु नि। यसो गरे त। मैले गल्ती छाडेँ भन्दिने हो भने हाइहाइ भइहालिन्छ नि,’ उनले भने। 

तर हाम्रो पथ एमालेको नभएको उनले दाबी गरे। उनले भने, ‘हामी महान् परिवर्तनको सोचबाट आएका हाँै। सुशासनयुक्त लोकतान्त्रिक गणतन्त्र बनाउने र नमुना स्थापना गर्ने । समृद्ध नेपाल र सुखी नेपाली बनाएर छाड्ने ।’

प्रकाशित: ९ वैशाख २०८२ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App