७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

तमोरको सभ्यताः टिप्तलाको यात्रा

नियात्रा

पाँचथर सदरमुकाम फिदिमबाट झोला बोकेर निस्किएँ। हिडौँ भनेको साथीहरू मानेनन्। जिपले साँझमा ताप्लेजुङ सदरमुकाम फुङलिन पुर्‍यायो। चैत नै भए पनि ज्याकेट लगाउनुपर्ने अवस्था थियो।

धेरैलाई जाऊँ भनेँ, अहँ, कोही साथ दिन तयार भएन। एक्लै भएपछि जान्छु भन्दा धेरैले रोक्न खोजे। पटकपटक असफल भएकाले यसपल्ट यो यात्रा पार लगाउनै थियो। ‘हराए म नै त हराउने हो नि’ भन्ने सोचमा थिएँ। यी हराउने, खोज्ने भन्ने किसिमका भावनात्मक कुरा भ्रम पनि भइजान्छन्।

कमल विष्ट जाने विचारमा थिए। उनका केही प्राविधिक समस्याहरू थिए। मैले जबरजस्ती गर्न सकिनँ। बिहान तयार भएँ। फावाखोलाका विष्ट भेडीगोठ व्यवसायी हुन्। भेडीगोठ लिएर हिमाल चारेका छन्। उनी पेन्टर पनि हुन्। कञ्चनजङ्गा क्षेत्रमा उनले लेखेका बोर्डहरू र रङ्गाएका स्नोपोल भेटिन्छन्।

पिकअपमा दिउँसो यात्रा प्रारम्भ भयो। ओलाङचुङ्गोला हुदैँ नेपाल–चीन सीमाना टिप्तला पुग्ने यात्रा प्रारम्भ भयो। सदरमुकामबाट कच्ची सडक सुरु भयो। अग्ला पहाडमुनि बनाइएको सडक। गाडीमा थिए फक्तालुङ–६ का वडाध्यक्ष चन्द्र शेर्पा। राजनीतिक तथा हिमाली क्षेत्रका बारे गफ भए।

हाङदेम्बाको भोटेगाउँ भन्ने ठाउँबाट गाडीमा बोराका बोरा मकै लगाइयो। हिमाली क्षेत्रका खच्चडका लागि यहाँबाट मकै दानाको रूपमा लगिँदो रहेछ। यहाँ दुई ग्लास मोही खाएर हाम्रो यात्रा अघि बढ्यो।

तमोरको किनारैकिनार सडक बनेको छ। कतै जलविद्युत आयोजनाको काम भइरहेको देखिन्थ्यो। कतै पसिना बगाउँदै हिँडिरहेका गाउँलेहरू। कच्ची बाटो अप्ठ्यारो थियो। झ्यालबाट हेर्दा छ्याङ्गै तमोर देखिन्थ्यो, तर भिरको मुनि। कहिलेकाहिँ निकै डर लाग्थ्यो।  

तापेथोक भन्ने ठाँउमा फुटबल प्रतियोगिता भइरहेको थियो। तमोर नदी नजिकै खेलमैदान थियो। अग्लाअग्ला पहाडको मुनि खेलमैदानमा युवतीहरू फुटबल खेलिरहेका थिए। खेलमैदानमा ढुङ्गाको रोडानै रोडा देखिन्थ्यो। खेलमैदान छेउमा सेउलाले छाएका सानासाना होटल थिए। होटलमा जाँड, थुक्पा लगायतका खानेकुरा देखिन्थे। पुरुष र महिला फुटबल प्रतियोगिता हुँदै रहेछ। गाउँलेहरू यही फुटबल प्रतियोगितामा रमाएका देखिन्थे।  

पारिपट्टिका भित्तामा कोइरालो फुलेको देखिन्थ्यो। यो फूलको अचार मिठो हुन्छ। पहाड अग्ला थिए। पातल तथा परम्परागत शैलीका घरहरू बनेका थिए। तापेथोकमा गाउँपालिकाको केन्द्र भएकाले चहलपलह देखिन्थ्यो। स्थानीय तह बनेसँगै पहाडका गाउँमा केन्द्र निर्माण भएका छन्। ग्रामीण केन्द्रमा चहलपलह बढेको छ, सुविधा थपिएको छ।  

सेकाथुम भन्ने ठाँउ पुगियो, गाडीमा भएको समान पुर्‍याउनलाई। यो कञ्चनजंघा बेस क्याप प्रवेश क्षेत्र पनि हो। तर यहाँ अहिले जलविद्युत आयोजना बनाउनका लागि सडक बनाएर पहाड खोलिएको रहेछ। पहिले कुमारी लाग्ने यी डाँडामा जताततै सडक देखिन्थे। 

पोमा डोमाले चिया खुवाएर स्वागत गरिन्। यो पल्ट विदेशी पर्यटक आउने आश रहेको उनले सुनाइन्। त्यहाँबाट फर्किएर हामी लेलेपतिर लाग्यौँ। चालक फेरिए। धादिङका रहेछन्, नाम बिर्सें। गफ राम्रै भयो। लेलेपबाट बत्ती बाल्नु पर्‍यो। फोन नलाग्ने, बाटो पनि अप्ठ्यारो रहेछ। छेउतिर तमोर देखिने तर डरलाग्दो भिर। जुन तमोरमा टल्किथ्यो, यता मुटु ढुकढुक गथ्र्यो।  

इलाडाँडा पुग्दा रात निकै परेको थियो। ओलाङचुङ्गोला सामान लैजाने खच्चड लस्करै राखिएको थियो। इलाडाँडासम्म गाडी चल्दो रहेछ। ओलाङचुङ्गोला, याङमा जानेहरू यही बास बस्छन्। यहाँबाट सामान खच्चडले बोकेर लैजाने। खच्चड खेद्नेहरूसँग एकछिन गफ गरियो। तमोर नदीको आवाज चर्को नै थियो। टावर नआउने भएकाले फोन चलाउनुपरेन। गाडी नआउँदा पनि यो ठाँउ बास बस्ने ठाँउ नै रहेछ। पहिले ताप्लेजुङ सदरमुकामबाट हिँड्नु पथ्र्यो। विस्तारै थिवा, रानीपुल हुँदै इलाडाँडा गाडी आइपुग्यो। यहाँसम्म सदरमुकामबाट सामान ल्याउँदा प्रतिकेजी १० रूपैयाँ भाडा लाग्दो रहेछ। यहाँबाट ओलाङचुङ्गोला पुर्‍याउँदा प्रतिकेजी ५० रूपैयाँ भाडा। सदरमुकामबाट इलाडाँडा पुग्न करिब ६ घण्टा लाग्छ गाडीमा।  

बिहान उठ्दा आठ बजेछ। ६ बजे नै हिँड्ने योजना थियो। ‘सरहरू आज यहीँ बस्ने र’छ भनेर नउठाएको नि’ पेमा लामु शेर्पाले ठट्टा गरिन्। उनका श्रीमान् नाम्ग्या बारीमा बिहानको काम सकेर घर फर्किएका रहेछन्। एकछिन ठट्टा गरियो। अग्लो पहाडमुनिको घर। नजिकै तमोर नदी बग्दै थियो। पारिपट्टि निकै लामो भिर थियो। घरहरू एकदुईवटामात्र। सडक बनाउन आउनेले चहलपहल बढाएका थिए। अग्लो पहाडको काखमा निकै आनन्द लाग्ने।

ढिला भो यतै बस्नु भन्दै थिए। तर खाना खाएर यात्रा सुरु गरियो। घुमाउरो सडक बनेका रहेछन्। उकालोमा बनाइएको सडकमा हिँड्न निकै कठिन भयो। पिडुँला फर्किन्छन् कि जस्तो लाग्यो। हिँड्न थाल्दै निकै कठिन भयो। लेकाली जंगल घना थियो। तमोर बेगवान् थियो। झोलुङ्गेपुलसम्म पानीका छिटा आइपुग्थे। 

सुकेपानी भन्ने ठाँउसम्म सडक खन्ने काम भएको रहेछ। कञ्चनजङ्घा संरक्षण क्षेत्र भएकाले यहाँ विष्फोटन गर्ने अनुमति नपाएर काम रोकिएको रहेछ। सडक छोडेर पुरानो बाटो हिँडियो। सजिलो हुन्छ भनेर खोलाको छेउबाट बाटो बनाएका होलान् पूर्खाहरूले। प्रायः लामो बाटो गड तीरतीरै हुन्छ। जंगलको बाटो, यात्रा गर्ने केवल दुईजना थियौँ। चराहरूको आवाज सुनिन्थ्यो तर मान्छे कोही भेटिएन। दिनभर यात्रा गर्दा बाटोमा एउटा कुकुर भेटिएको थियो। त्यसले पनि हामीलाई जित्यो।  

झोला बोकेर ठमठम हिँड्नुको मज्जा छुट्टै। हिँड्दै गर्दामा सोचमा हराउने पनि गर्छु। विगतका दिनहरू बेसी याद गर्न रमाइलो लाग्छ। ओलाङचुङ्गोला यात्रामा फरक किसिमको अनुभूति र रहरका साथ निस्किएका थिए। कमलजीका सम्झनाका किस्सा रमाइला लाग्ने किसिमका थिए। कति हिँडेपछि पुगिन्छ भन्ने अन्योलताको यात्रा थियो। अर्थात् हामी नयाँ थियौँ।  

गुराँसको सिजन थियो। बाटोमा अनेक किसिमका गुराँस फुलेका थिए। कतै तमोर नदीको पानी छुँदै हिड्नुपर्ने। तमोर विभिन्न ठाँउबाट आएको पानी मिसिएको देखिन्थ्यो। फेदी भन्ने ठाँउबाट ओलाङचुङ्गोला र याङमा जाने बाटो छुटिदो रहेछ। सेलाब भन्ने ठाउँसम्म ओलाङचुङ्गोलाबाट सडक आएको रहेछ। तर ट्रयाकमात्र, अनेक ठाउँ भत्किएको। कतिपय ठाउँमा त सडकको डोब पनि भेटिएन। सडकको ट्रयाक जोड्न केबल तीन किलोमिटरमात्र बाँकि रहेछ। तर कठिन भुवनोट। सेलाबबाट ओलाङचुङ्गोलाको दुरी दश किलोमिटर रहेछ। गोलादेखि यहाँसम्म नेपाली ठेकेदारले चीनको मेसिन प्रयोग गरेर सडक बनाएका रहेछन्। नेपाल–चीन सीमाना टिप्तलादेखि ओलाङचुङ्गोलासम्म भने गोलामा जन्मिएर विभिन्न ठाउँमा रहेकाहरूले रकम संकलन गरेर नेपाल सरकारको दायित्व नपर्ने गरी सरकारकै अनुमतिमा चीनको मेसिन प्रयोग गरेर बाटो बनाएका रहेछन्।

जोङ्गिम फराकिलो चौँरी थियो। अग्ला डाँडा थिए। हावा झोलुङ्गेपुलमा बाँधिएका खादा चुडाउने गरी चल्दै थियो। दिन ढल्किँदै गएकाले हामीले यात्रालाई जोड दियौँ। थकान थियो तर बीचमा बस्ने ठाउँ थिएन। कति बेला पुगिन्छ भन्ने अन्योलता थियो। पुग्ने बेला भएको रहेछ। पसिनाले भिजेको शरीरलाई पानीले निथु्रक्क बनायो। केही उकालो चढेपछि बिजुली बलेको देखियो। यही रहेछ ओलाङचुङ्गोला। पुग्दापुग्दैको डाँडाको घरमा गयौँ। सन्जोगले होटल रहेछ। लुम्बासुम्बा याक गेस्ट हाउसमा हाम्रो बसाइ हुने भयो। पुग्दा बेलुकाको आठ बजेको थियो।  

गोजीबाट फोन निकालेँ। टावर आउँदो रहेछ। हिजो दिउँसोदेखि फोनले टावर पाएको थिएन। फोन र म्यासेज खासै देखिएन। यहाँ पुगेर पहिलोपल्ट कसलाई फोन गर्ने होला?

पासाङकी शेर्पाले हामीलाई हतारहतार खाना पकाएर दिइन्। ‘याकको मासु खान्छ’ पासाङकीले सोधिन्। भुईंमा कुरा नखस्दै भन्दिएँ, खान्छ भनेर। यो मासु ६ महिना अगाडिको रहेछ। निकै ठुलो रहर, अपेक्षा बोकेर ओलाङचुङ्गोला पुगिएको थियो। यहाँ पुग्दा निकै ठुलो उपलब्धि पाएको अनुभूति थियो। पानी रोकिएको थिएन। पानीले गोलामा झिलमिल बत्ती भने मधुरो बनाएको थियो। जस्तामा झरेको पानीको धुनसँगै रुमानी सम्झना राखेर पहिलोपल्ट ओलाङचुङ्गोलामा सुतियो।  

बिहानै सबेरै उठियो। नयाँ वर्षको दिन थियो, अर्थात् वैशाख १ गते। फोनमा केही शुभकामना बाँडियो। छेतेन शेर्पाले फोन गरेर ‘सुन्दर ठाउँमा नयाँ वर्ष आनन्दले मनाउनुस्’ भन्ने शुभकामना दिए। पछि उनी यही वार्डको वडाध्यक्षमा सर्वसम्मत निर्वाचित भए।  

मौसम छ्याङ्गै खुलेको थियो। अग्ला डाँडामा हिउँ देखिन्थ्यो। ओलाङचुङ्गोला निकै सुन्दर रहेछ। ढुङ्गा, माटो र काठले बनाएका घर थिए। घरैपिच्छे झण्डा थिए, धार्मिक आस्थाका। बालुङहरूको थातथलो गोलामा घरहरू बाक्ला थिए। बीचमा बाटो थियो। परम्परागत पोशाकमा यहाँका बासिन्दा आवतजावत गरिरहेका देखिन्थे। ओलाङचुङ्गोलालाई थरीथरीका गुराँसले घेरिएको थियो। तल तमोरलाई पनि गुराँसले घेरिएको रहेछ। तमोर सङ्लो बगिरहेको थियो। लघु जलविद्युत आयोजना सञ्चालनमा रहेछ।  

बाक्लो बस्ती भए पनि हल्लाखल्ला थिएन। ठाउँठाउँमा माने रहेका थिए। घरैपिच्छे कोइलामा धूप सल्काइएको थियो। बिहान अगाउन्जेली ओलाङचुङ्गोला हेरियो। नयाँ वर्षको पहिलो दिन गोलालाई छुट्याइयो।  

प्रायः सामग्री चीनको चलाइँदो रहेछ। कोभिडपछि टिप्तला नाका बन्द भएपछि ठुलो समस्या पारेको रहेछ। चीनले वर्षेनी राहत दिँदो रहेछ। विगतमा यो ठाउँमा चीनका सामान प्रशस्त पाउने भए पनि पछिल्ला वर्ष सामान किन्न पाएका रहेनछन्। याक चीन बेच्न पाएका रहेनछन्। घरैपिच्छे बनाइने गलैचाले पनि राम्रो दाम कमाएको रहेनछ।  

महिलाहरू धागो बनाइरहेका देखिन्थे। कोही तानमा गलैँचा बुन्दै। पुरुषहरू पनि घरायसी काम गर्दै बसेका देखिन्थे। यहाँ युवायुवती खासै नदेखिने। पढ्नलाई दार्जिलिङ, काठमाडौँ वा विदेशतिर पुगेका छन् युवायुवतीहरू। यहाँ प्राथमिक तहसम्मको विद्यालय र स्वास्थ्य चौकी रहेका छन्। सन्दुक रुइतको गाउँ पनि यही हो। घर रहेन छ, जग्गा देखाए।  

अग्लाअग्ला माने बनाएका रहेछन्। ओलाङचुङ्गोलाबासीको प्रमुख चाहना सडक रहेछ। टिप्तलाबाट आउने सडक चीन सरकारले स्तरोन्नति गरिदिने भएको रहेछ। कोभिडका कारण हुन सकेन। सदरमुकामबाट आउने सडक कहिले आउने होला भन्ने आशा रहेको सुनाए पासाङ छिरिङले। उनले घुमाउँदै गाउँलेलाई चिनाए। कोही त फोटो खिच्न मान्दैनथे, बरु साना केटाकेटी हाम्रो पछि लागे। प्रायः घर उही किमिसका थिए।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी) रहेछ। सशस्त्र प्रहरी इक्स्पेक्टर अनिल खड्का युवा रहेछन्। हिमाली क्षेत्रका विभिन्न ठाउँ पुगिसकेछन्। अफिसमा फोटाहरू टासेका रहेछन्। चर्चित पुस्तकहरू राखेका रहेछन्। रामेछापका खड्कासँग एकछिन गफियौँ। बेलुका खाना खाने निम्तो दिए।

गलैँचा बुनिरहेका दिदीबैनीसँग गफ भयो। गलैँचा चीन जान रोकिएपछि बेच्ने समस्या रहेछ। फाट्टफुट्ट काठमाडौँ जाँदो रहेछ। प्रायः घरैपिच्छे तान थियो। सानैदेखि गलैँचा बुन्न सिकेको देन्जी याङ्मीले सुनाइन्।

दिउँसो दिकी छ्योलिङ गुम्बा गइयो। गुम्बाका पुसो (लामा गुरु) भुला उक्याबसँग भेट भयो। निकै उमेर ढल्किएका उक्याबले गुम्बाबारे सुनाए। यो गुम्बा निकै पुरानो रहेछ। गुम्बा बनेको ४ सय ६८ वर्ष पुगेको उनले सुनाए। भुटानबाट आएका लामाले यो गुम्बा बनाएको भन्ने रहेछ। यहाँ फुटुक पर्व निकै भव्यताका साथ मनाइदो रहेछ। गुम्बाबाट पूरै गाउँ देखिँदो रहेछ। गुम्बालाई अनेक हिसाबबाट सजाइएको रहेछ।  

दिन ढल्किँदै जाँदा पानी पर्‍यो। यहाँको धोन्ज्याङ नाँच चर्चित रहेछ। पाहुनालाई स्वागत गर्न नाँचिदो रहेछ। तर हामीले देख्न पाएनौँ।  

भोलिपल्ट बिहान खाना खाएर टिप्तलातर्फको यात्रा सुरु भयो। हाम्रो यात्रालाई सशस्त्र प्रहरी दिलीप श्रेष्ठले साथ दिए। उनी इलामका रहेछन्, बढो भलादमी। घाम लागेकाले यात्रा गर्न ठिकै थियो। बाटोमा दाउरा भेला गर्नेहरू भेटिए। तमोर किनारैकिनार थरीथरीका गुराँस फूलको बाटो भएर यात्रा अघि बढ्यो। बीचबाट लुम्बासुम्बा पास जाने बाटो छुटियो। यहाँबाट मकालु बेसक्याप पुगिँदो रहेछ।  

उचाइ बढ्दै थियो। अग्ला रूखहरू देखिन छाड्दै गए। बाटोमा खाजा झोलामा बोकेको चाउचाउ बिस्कुट नै हुन्। बाटोमा गोठ भेटिन्थे। याक चौँरी थिए। मौमाटार भन्ने ठाउँमा घुयेँत्रो हान्दै याक भेला पारिँदै थियो। मौमाटारमा सशस्त्र प्रहरीको भवन बनेको रहेछ। फराकिलो सुन्दर चउरमा भवन रहेछ।

याकले तमोर तरेको दृश्य रमाइलो लाग्यो। लामबद्ध भएर याकगोठतर्फ जाँदै थिए। पातलो गरी हिउँ पर्न थाल्यो। घुयेँत्रो हान्दै चौँरी खेदाउने योञ्जेन शेर्पा रहेछन्। मज्जाले गफ गर्ने। याक बेच्न पाए गाउँ फर्किने उनले सुनाए। नाका नखोल्दा याक बेच्न नपाएको उनले सुनाए। यहाँका याक चीन बिक्दा रहेछन्। उनको उमेरले ७० टेकेछ। ठमठम हिँड्दै थिए।

हामीले सानोमा पढ्दा ‘यबाट याक, याक माने चौरी गाई’ भन्दै पढ्थ्यौँ। तर याक र चौँरी छुट्टै रहेछ। बेलुकाको बास गेले शेर्पाको गोठमा हुने भयो। गेलेले खाना पकाएर खुवाए। हिउँ पर्दै थियो। चौरी गोठको बास दुःखसुख ठिकै मानियो। अगेनाको छेउमा बस्न बाध्य बनायो हिउँले। अगनो छेउतिरकै ओछ्यान थियो हाम्रा लागि। याकले बेलाबेला बिउझाउँथे पनि।  

बिहान हिउँमाथि घाम टल्किएको थियो। बासी भात खाएर टिप्तलातर्फको यात्रा सुरु भयो। हिमालनजिकै देखिन थाले। हिमाली भूगोल फराकिलो थियो। सडक हिमालकै काखबाट बनाइएको रहेछ। तर हामी छोटोबाटो हिँड्यौँ। हामीलाई गेलेदाइले साथ दिए। यी हिमालका नाम के हुन् चिन्नै गारो। यहीँनेर बनाइएको सडकमा गाडी कुद्न पाएका छैनन्।  

समस्या हिँड्नमा भयो। जति उचाइमा गयो, उति सुन्दर दृश्य देख्न थालियो। यहाँ विरलैमात्र मान्छे घुम्न आउने रहेछन्। याक भेटियो, मान्छे भेटिएन। हिमाल नजिकै देखिन्थे। तमोर सानोसानो हुँदै गयो। तमोरको बैँस त पाँचथर पुगेपछि आउँछ।  

गेलेदाइको चिन्ता उही थियो। कहिले नाका खुल्छ र याक बेच्नु, सुविधा लिनु। यो क्षेत्रमा ओलाङचुङ्गोलाका बासिन्दाले गोठ राखेका रहेछन्। घरपरिवारदेखि टाढा गोठ पाल्ने गरिन्छ। दुःखबिरामको खबर मान्छेले नै पुर्‍याउनुपर्छ। घरपरिवार एकातिर, गोठ बस्ने हिमालतिर। गोठमा अधिकतर पुरुष भेटिन्छन्।  

दोस्रो स्थानीय तहको निर्वाचन नजिकिँदै थियो। निर्वाचन सम्बन्धी गफ सुनेर गेलेदाइ छक्क परे। ‘फेरि चुनाव आइसक्यो र?’ उनले प्रश्न गरे। हिड्न जति नै गारो भए पनि हामीलाई टिप्तला पुग्ने हुटहटी थियो।

टिप्तला भञ्याङ हिउँले भरिएको थियो। टिप्तला पुग्दा मौसम बिग्रियो। ५ हजार २ सय ३२ मिटरको उचाइमा यो भञ्याङ रहेको छ। टिप्तलामा चीनले गेट बनाएको रहेछ। अत्याधुनिक सुविधासहितको। नेपालतर्फ केही संरचना थिएनन्। २०७९ सालको तेस्रो दिन ७९ नम्बरको पिलरमा पुगिएको थियो। अग्ला डाँडभरि हिउँ देखिन्थ्यो। ढुङ्गालाई हिउँले छोपेको थियो। चीनतर्फ नजिकको बजार रिउ रहेछ। गेलेदाइका अनुसार नाका खुल्दा यहाँ निकै चहलपहल हुन्थ्यो रे। चीनको गाडी टिप्तलासम्म आइपुग्ने गरेको गेलेले सुनाए।  

बेजोडले हावा चल्यो, उभिनै नसक्ने गरी। हिउँले छापेको जमिनमा के उम्रियोस् र खै। यो बाटो हिँड्नेहरूले ढुङ्गाको देवल बनाएका देखिन्थे।

हिउँ पर्न सुरु गर्‍यो। मौसम बिग्रिएपछि टिप्तलाको यात्रा छोट्यायौँ। यही छेउमा तमोर नदीको मुहान रहेछ। यहाँबाट सुरु भएको तमोर धनकुटाको त्रिवेणीमा पुगेर सप्तकोसी नदीमा पुगिन्छ। तमोर नदीमात्र नभएर सभ्यता पनि भएको चर्चा गरिन्छ।  

ओरालो झर्न अलि सहज भयो। गेलेदाइको गोठमा आइपुग्दा तीन बजेको थियो। हतारहतार खाना खाएर ओरालो लाग्यौँ। बाक्लो गरी हिँउ पर्न थाल्यो। सुरुमा हिउँ पर्दा रमाइलो भयो। तर बिस्तारै हैरानी भयो। हिउँ परेकाले सिजेङमा ताल जान सकिएन। ओलाङचुङ्गोलातर्फ झर्‍यौँ। थकान र हिउँका कारण निकै सास्ती पाइयो। हामीलाई हिउँले गोला नजिकसम्म लखेट्यो। 

प्रकाशित: २५ असार २०७९ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App