२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

फोनबाट विमानस्थलमा बम छ भनेपछि...

बुधबार ९ः४० बजेतिर त्रिभुवन विमानस्थलको टेलिफोन एक्सचेञ्जमा अपरिचित नम्बरबाट कल आयो। त्यो कललाई विमानस्थलको आन्तरिक टर्मिनल ड्युटी अफिसले रिसिभ गर्‍यो।

रिसिभपछि टेलिफोनमा आवाज आयो, ‘सलामवा लेकुम!’ त्यसपछि नेपालीमै आवाज आउन थाल्यो। आवाजले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा ६/७ ठाउँमा बम रहेका र ती बमहरू २ घण्टाभित्रै बिस्फोट हुने बताएको थियो। यती बताएर पहिलोपल्ट फोन काटियो।

त्यसपछि ९ः५० बजेसम्म अर्कोपटक पनि कल आयो। जसमा सोही नम्बर र सोही आवाज आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। दोस्रो पटक पनि ‘सलामवा लेकुम’ भनेर उसैगरी आन्तरिक टर्मिनलमा बम रहेको र २ घण्टामा बिस्फोट हुने बतायो।

यही समयबीचमा अन्य थप तीनवटा अपरिचित नम्बरबाट पनि कल आएका थिए। प्रवक्ता सिटौलाका अनुसार ती सबै कल नेपालबाहिरका जस्ता थिए। तर प्रहरीले भने त्यसलाई कहाँको कल हो भनेर पुष्टि गर्न सकेको छैन।

यसरी गम्भीर संकटको संकेत गर्दै धमाधम कलहरू आएपछि विमानस्थल कार्यालयले हतार–हतार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयलाई जानकारी गरायो। नेपाली सेनाको बम डिस्पोजल टोली पनि बोलाइयो।

प्रहरी र नेपाली सेना आएर आन्तरिक टर्मिनल क्षेत्रमा रहेका यात्रु तथा अन्य आगन्तुकहरूलाई बाहिर पठाएर खानतलासी गर्न थाल्यो। विमानस्थलमा हुने सम्पूर्ण आन्तरिक उडान तथा अवतरण ठप्प गरियो।

यसक्रममा त्यहाँ रहेका यात्रुहरूमा त्रासको वातावरण सिर्जना भएको थियो। यद्यपी प्रहरी र सेनाले संयमताका साथ भीड सम्हाल्न सफल भएको थियो।

एक घण्टा लामो समयसम्म खानतलासी गर्दा केही पनि फेला परेन। ‘हामीले उच्च सतर्कताका साथ खानतलासी गर्दा केही फेला परेन,’ महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले भने, ‘त्यसपछि विमानस्थल सुचारु गर्न भन्यौं।’

त्यसपछि झन्डै ११ बजेपछि विमानस्थल पुनः सञ्चालनमा आयो। साँझसम्म कुनै किसिमको घटना भएन। विमानस्थल निर्वाध चलिरह्यो। विमानस्थलमा यस्ता धम्की दिने खालको ‘थ्रेट’ आएको यो पहिलो भने होइन। ‘विमानस्थलमा यस्ता थ्रेट प्रायः आइरहन्छन्। हामीकहाँ पनि २/३ वर्षमा एकपल्ट आउनेगरेको मेरो अनुभव छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सिटौलाले भने, ‘तर, हामीकहाँ बम नै भेटिएको घटना अहिलेसम्म छैन ।’ पहिलेका थ्रेट अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा हुनेगरेको उनले बताए। ‘पहिले अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा आउँथे। अहिले आन्तरिकमा आयो,’ उनले भने।

थ्रेट आएपछि नजरअन्दाज गर्न भने नमिल्ने प्रवक्ता सिटौला बताउँछन्। उनले भने, ‘यसरी आइरहन्छन् भनेर नजरअन्दाज गर्न मिल्दैन। संवेदनशील रूपमा सही/गलत के हो भनेर पत्ता लगाउनै पर्छ।’

घटनापछि कलमा संलग्न नम्बरको सत्यता पत्ता लगाउने काम काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ। महाशाखाले तीनवटा नम्बरहरू ल्याएर त्यसको जाँच गरेर सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको छ।

‘नम्बर कताको हो? एप जेनेरेटेट कल हो की, रियल टेलिफोन नम्बर के हो ? कता को हो? कसरी उत्पत्ति भयो भनेर खोजी गरिरहेका छौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, ‘त्यसका लागि सेवा प्रदायक टेलिकम, एसनेलदेखि लिएर अन्य प्राविधिक अनुसन्धान हेर्ने पक्षसँग समन्वय गरिरहेका छौं।’

प्रकाशित: २२ वैशाख २०७९ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App