८ वैशाख २०८१ शनिबार
समाज

संक्रमणका कारण आमाको दाहसंस्कारबाट जिसस प्रमुख नै बञ्चित

जिसस प्रमुख बबी चाम्लिङकी आमा जयमती राई । तस्बिर : नागरिक

कोरोना संक्रमणका कारण जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ आफ्नै आमाको दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्। कोरोना संक्रमण पुष्टि भएका कारण जिल्ला समन्वय समितिकै क्वाटरमा होम आइसोलेसनमा बसिरहेको अवस्थामा १०२ वर्षीया आमा जयमती राईको निधन भएपछि जिसस प्रमुख चाम्लिङ आमाको दाहसंस्कारमा सहभागी हुन नपाएका हुन्।  

बिक्रम सम्वत १९७५ साल भदौ १० गते (मतदाता नामावलीका अनुसार) जन्मिएकी जयमतीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित घरमा सोमबार बिहान ३ बजेर ५५ मिनेटमा निधन भएको हो। आमा जयमतीको दाहसंस्कारमा जिसस प्रमुख चाम्लिङका दुई दाजु मात्र सहभागी भएका छन्। यद्यपी जिसस प्रमुख चाम्लिङ बिहान घरमा पुगेर सामाजिक दूरी कायम गरेर आमालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेर होम आइसोलेसनमा फर्किएका थिए। नेकपाका प्रदेश कमिटी सदस्य रहेका चाम्लिङलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न थालेको नौ दिनपछि आमाको निधन भएको हो।  

मृतक जयमतीका तीन छोरामध्ये जिसस प्रमुख चाम्लिङ कान्छो छोरा हुन्। होम आइसोलेसनमा बसिरहेको अवस्थामा आमा गुमाउनु परेको क्षणलाई चाम्लिङले आफ्नो जीवनकै सबैभन्दा ठूलो परिघट्ना भएको बताएका छन्। ‘जिल्लाकै इतिहासमा अकल्पनीय परिघट्ना बन्यो। अरुलाई यस्तो नपरोस्, सायद पर्दैन पनि,’ जिसस प्रमुख चाम्लिङले भने, ‘आमाको काजक्रियामा दाजुहरु मात्रै बस्दै हुनुहुन्छ। होम आइसोलेसनबाट निस्किएपछि म पनि बस्छु। यो मेरो जीवनकै सबैभन्दा ठूलो परिघट्ना हुनसक्छ।’ चाम्लिङलाई मातृशोक परेको विषयमा नेकपा तथा अन्य दलका नेता तथा कार्यकर्ताले समवेदना व्यक्त गरिरहेका छन्।  

होम आइसोलेसनमा बसेको अवस्थामा आमाको शारीरिक अवस्था शिथिल हुँदै गएको अवस्थामा पनि भेट गर्न नपाएको विषयमा जिसस प्रमुख चाम्लिङले आइतबार मार्मिक स्टाटस लेखेका थिए। ‘के गर्ने आमा ! संक्रमणका कारण म तपाईलाई भेट्न असमर्थछु । आमा ! माफ गरिदिनोस ल। राम्ररी खाना खान छड्नुभएको त असारदेखिकै हो, त्यसैले कार्यालयमा भन्दा घरमा समय दिन थालेको थिएँ,’ चाम्लिङले लेखेका थिए, ‘तर म आइसोलेसनमा हिँडेपछि आज दिउँसो जानकारी पाएँ, तपाई शिथिल हुँदै जानुभएको छ। झोलिलो पदार्थ पनि मुस्किलले निल्दै हुनुहुन्छ रे, सायद इसाराले हामी छोरा बुहारीकै खोजी गरिरहनुभएको छ। मेरो पुकार सुन्ने कोही छ भने बिन्ती गर्छु कि कोरोना जितेर घर गइ आमासँग भेट होस् उहाँको काखमा एक छिन लुटपुटिएर आशिरवाद लिन पाउँ।’  

यस्तै, नेकपा खोटाङका कार्यालय सदस्य एबं युवा तथा खेलकुद प्रमुख जलसेर राईलाई पनि मातृशोक परेको छ। विक्रम सम्बत १९८९ साल मंसिर २२ गते जन्मिएकी आमा आशा राईको कात्तिक १४ गते साँझ साँढे ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित आफ्नै निवासमा निधन भएको नेकपाका कार्यालय सदस्य एबं युवा तथा खेलकुद प्रमुख राईले बताए । दिवंगत आशाका तीन छोरा र दुई छोरी छन्।

प्रकाशित: १७ कार्तिक २०७७ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App