बढैयाताल गाउँपालिका –५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्। श्रीमान शिबशरण कोहलपुर आफन्त कहाँ जादा बीच बाटोमा राज्य पक्षका प्रहरीले पक्राउ गरे ।
चार महिना बिभिन्न हिरासतमा यातना सहदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिए । त्यसपछि पीडामा बाँचेकी उनी श्रीमानको सहारा चाहिँदा भित्तामा टाँसेको फोटो हेर्न विवश छन् । उनी भन्छिन, ‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन ।’
दश वर्षे द्वन्द्वमा राज्य र बिद्रोही पक्षबाट आफन्त गुमाएको प्रश्र पीडामा रहेको यो प्रतिनिधि घटनाले पुष्टि गर्छ । बर्दियामा बेपत्ता भएका २ सय ७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन् । सास देउ कि लास देउ भनेर वर्षोदेखि सडकमा उत्रिएका बेपत्ता परिवार अहिले सम्म राज्यबाट बेवास्ता भईरहँदा उनीहरू आक्रोशित भएका छन् ।
२०६० फागुन ३० गते बिद्रोही पक्षका नेता पदम रिजाले भनेका कुरा सम्झिदा बढैयाताल गाउपालिका ९ मुनालबस्तीकी जुना सापकोटालाई सम्हालिन गाह्रो हुन्छ ।
श्रीमान नारायण सापकोटालाई बिद्रोही माओबादी रिजालले फर्काउँने बाचा गरेको उनको मानसपटलमा अझै ताजा छ । ‘माओाबादीका नेता रिजालले घर ल्याईदिने भन्दै लगेका थिए,’ उनले भनिन, ‘तर वर्षो बितिसक्दा पनि श्रमिानको अवस्था अज्ञात छ । उनले चैत २ गते मारेको खबर त पाईन, तर शव हेर्न पाईनन् । बिभिन्न संघ संस्था धाउदा पनि श्रीमानको बाचेको वा मरेको भन्ने प्रमाण सम्म पाउँँन नसकेको उनी गुनासो गर्छिन ।
बढैयाताल–९ लक्ष्मी खड्काले २०६० साल फागुन ३० गते श्रीमान बिद्रोही माओबादी लगेका थिए । घर फर्काउँने बाचामा लगेका उनी पनि बेपत्ता छन् । खाना खाएर सुत्ने बेलामा डिल बहादुर खड्कालाई बिद्रोही माओबादीका नेता पदम रिजाल‘नविन’को नेतृत्वमा आएको टोलीले लगेको थिए । डिलको लास खोज्दै लक्ष्मी काठमाडौंमा सम्म भौतारिन् । सास वा लासको पर्खाईमा रहेकी उनी यतिबेला निराश छिन् । ‘श्रीमानलाई बेपत्ता बनाउँने बिद्राही पक्षका नेता खुलेआम घुमिरहेका छन,’ उनले भनिन्, ‘बृद्ध अवस्थामा बेसाहारा बन्न परेको छ ।’
बढैयाताल गाउपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दा गर्दे थाकिसके । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानअधिकार संघ संस्थामा पेश गरेका छन् । तर, उनी गुनासो गर्छन, ‘छोरीका लास पाईयो न सास ।’
२०६० सालमा नेपालगंजमा अध्यनरत छोरी दिपाको सुरक्षाकर्मीको टोलीले नियन्त्रण लिएका थिए । त्यसपछि बेपत्ता छोरी पर्खाईमा बसेका उनलाई बुढ्यौलीले छोईसकेको छ । देशमा पंचायत कालदेखि गणतन्त्र आउँदा पात्र मात्र फेरिएको उनले सुनाए । ‘पंचायत देखि गणतन्त्रसम्म नेतृत्व फेरिया शैली उस्तै छ,’ उनले भने, ‘हाम्रा सन्ततिको रगत बगेर बिष बन्यो ।’ उनी थप्छन, ‘पद नपाउँदा सम्म बोल्छन । त्यसपछि चुप लाग्छन ।’ द्पन्द्वको समयमा बिद्रोही पक्ष माओबादीका समर्थक उनी भन्छन्, ‘हाम्रा आफन्त शरिरबाट बगेर गएको रगत बिष बन्यो । पद पाएपछि नेताले सबै भुले ।’ राजनितिज्ञसँगको तीब्र असुन्तुष्टि रहेको उनले व्यक्त गरे ।
राज्यले बेपत्ता परिवारलाई बिभिन्न किसिमको नाम मात्रको आवश्वासन दिएको बेपत्ता परिवारको गुनासो छ । ‘बेपत्ता परिवारको लागि बिभिन्न किसिमका आयोग बने,’ बेपक्ता परिवार भन्छन, ‘आश्वासन सबैबाट पाईयो, कही कतैबाट सहयोय पाईनएन ।’ कारबाहीको माग गरेको वर्षो बितिसक्दा पनि राज्यले बेपत्ता परिवारको माग प्रति वेवास्ता गरेको उनीहरूको आरोप छ । जिल्लामा बिभिन्न बहाना राज्य र बिद्रोही पक्षले बेपत्ता बनाएका संख्या देशमा पहिलो भएको महिला कानुन बिकास मन्चका काशीराम चौधरीले बताए । ‘राज्यले बेपत्ता परिवार आश्वासन मात्र दिने गरेको छ,’ उनले भने, ‘बेपत्ता परिवारको घाउँमा मलम लगाउँने काम समेत राज्य गर्न सकेको छैन ।’
प्रकाशित: १३ भाद्र २०७७ १५:३० शनिबार