१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘कोरोनालाई भन्दा समाजको गलत बुझाइलाई चिर्न बढी चुनौती’

आइसोलेसनबाट डिस्चार्ज भएपछि वडाध्यक्ष खुमबहादुर बस्नेतलाई स्वागत गरिँदै । तस्बिर : नागरिक

खुमबहादुर बस्नेत

वडाध्यक्ष, राप्तीसोनारी गाउँपालिका–८, बाँके

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो । उहाँहरू दुःख, कष्ट सहेर आफ्नै हिसाबले नेपाल–भारत सीमासम्म आउनुभएको थियो ।  

सीमासम्म आएर अड्किएका आफ्ना वडाका बासिन्दालाई उद्धार गरी क्वारेन्टिनमा ल्याएर राख्ने मेरो सोच बन्यो । सोहीअनुरूप मैेले जेठ ५ गते नेपाल–भारत सीमा जमुनाहा पुगेर दाजुभाइलाई ल्याउन हरेक प्रयास गरेँ । तर, स्थानीय प्रशासनले कुनै पनि हालतमा सीमा प्रवेश गर्न अनुमति दिएन । त्यसपछि म पुनः जेठ ७ गते बेलुकी जमुनाहा पुगेँ । त्यतिबेला भने माथिबाटै संघीय सरकारको खुकुलो नीतिका कारण स्थानीय प्रशासनले नेपाली नागरिकलाई प्रवेश गर्न अनुमति दियो ।  

सोही दिन बेलुका राप्तीसोनारी घर भएका ५६ जनालाई गाडीमा चढाएर क्वारेन्टिनमा ल्याई त्यहाँको व्यवस्थापनमा खटिएँ । त्यसको भोलिपल्ट राप्तीसोनारी गाउँपालिका–९ ढकेरीको क्वारेन्टिनमा बसिरहेका एक जना युवकलाई ज्वरो आयो । उनलाई उपचारका लागि भेरी अस्पतालमा पठाइयो । त्यहाँ कोरोना जाँच गर्दा युवकलाई पोजेटिभ देखियो । युवकलाई कोरोना पोजेटिभ देखिएपछि म छाँगाबाट खसेझैं भएँ । किनकि ती युवकलाई जमुनाहा नाकाबाट क्वारेन्टिनसम्म ल्याएर राख्ने क्रममा उनीसँग मेरो धेरै सम्पर्क भएको थियो । उनको कन्ट्र्याक्ट टे«सिङबाट जेठ ११ गते मलगायत केही साथीहरूको स्वाब संकलन गरियो । त्यसमध्ये जेठ १४ गते आएको रिपोर्टमा मसहित पाँच जनामा कोरोना पोजेटिभ देखियो ।  

कोरोना पोजेटिभ देखिएपछि कतिपय व्यक्तिहरू डराउने, निराश भएका कतिपय घटना सुनेको थिए । तर, म कत्ति पनि बिचलित भइनँ । मलाई पूर्ण रुपले विश्वास थियो, म जसरी भए पनि कोरोना भाइरसलाई जित्नेछु । मलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि कुनै लक्षण थिएन । रिपोर्ट आएपछि मसहित ५ जना साथी वडा नम्बर ८ मै रहेको शिवशक्ति माध्यमिक विद्यालयको आइसोलेसनमा बस्यौं । आइसोलेसनमा बस्दा नियमित रुपमा व्यायाम गर्ने काम भयो, खानपिनमा विशेष ध्यान दिइयो, मनोबल उच्च राखियो, साथीभाइ र इष्टमित्रबाट हौसला पाइरहँे । मलाई कोरोनाबाट मरिन्छ भन्ने रत्तिभर पनि डर थिएन ।  

बरु मेरो परिवारलाई समाजले गरेको घृणा र व्यवहारबाट म बढी चिन्तित भएँ । यतिसम्म कि मेरो परिवार र मसँग घुलमिल गर्ने साथीलाई पसलमा सामान किन्न जाँदासमेत सामान दिन डराउनेसम्मको स्थिति आयो । मेरो परिवारलाई समाजले घृणा ग¥यो । मलाई कोरोना पोजेटिभ भए पनि मेरो बुवालाई आइसोलेसनमा बसेको कुरा थाहा थिएन । एक दिन मेरो बुवा सामुदायिक वन समूहको राहत वितरणमा जानुभएको थियो, त्यही बेला कसैले मलाई कोरोना लागेको कुरा कसैले भनिदिएछ, बुवा झन्डै त्यहाँ बेहोस हुनुभएछ ।  

मलाई कोरोना पोजेटिभ भए पनि मेरो सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आयो । पहिलो चरणमा परीक्षण गरिएका २६ र दोस्रो चरणमा परीक्षण गरिएका ७१ जनाको रिपोर्ट नेगेटिभ आयो ।  

रिपोर्ट नेगेटिभ आउँदा म कम्ती खुसी भइनँ । किनकि मलाई आफ्नो भन्दा परिवार, आफन्त, साथीभाइ र वडावासीको चिन्ता थियो । उहाँहरूको सबैको रिपोर्ट नेगेटिभ आउनुको एउटै कारण हो, मैले नियमित रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्नु ।  

मैले सामाजिक दुरीलाई विशेष रुपले कायम गरेको थिएँ । ठिक दुई हप्ताको आइसोलेसन बसाइपछि मंगलबार मसहित शिवशक्ति माध्यमिक विद्यालयको आइसोलेसनबाट ३ जना र राप्तीसोनारी–२ बाट ३ जना, वडा नम्बर ९ को आइसोलेसनबाट १ जना गरी सातजना डिस्चार्ज भएर घर फर्केका छौं । हामीले कोरोना भाइरसलाई जित्न सफल हुँदा मभन्दा बढी मेरा वडावासी, आफन्त, इष्टमित्र र शुभचिन्तक बढी खुसी हुनु भएको छ ।  

डिस्चार्ज भइसकेपछि म एक हप्ता जति स्वास्थ्यकर्मीको सल्लाहअनुसार घरमै क्वारेन्टिनमा समय बिताउनेछु । त्यसपछि म यही कोरोना भाइरसविरुद्धको अभियानमा लाग्नेछु । कोरोना भाइरस भएको मान्छेलाई हेर्ने दृष्टिकोण समाजमा गलत छ । कोरोना भाइरसलाई जित्नभन्दा समाजको गलत बुझाइलाई चिर्न बढी चुनौती छ । समाजको गलत दृष्टिकोणलाई परिवर्तन गर्न म सक्रिय हुनेछु । साथै आइसोलेसनमा बसेका संक्रमित व्यक्तिलाई परामर्श दिने काम गर्नेछु । (नागरिककर्मी अर्जुन ओलीसँगको कुराकानीमा आधारित)

प्रकाशित: २८ जेष्ठ २०७७ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App