सरकारले मोटरसाइकलमा चालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ। मोटरसाइकललगायत दुईपांग्रे सवारीसाधनमा चालकको पछाडि सिटमा बस्नेलाई पनि हेल्मेटअनिवार्य गर्नेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदा तयार गरेको हो।
उक्त मस्यौदा मन्त्रालयले आफ्नो बेवसाइटमा समेत राखेको छ। मस्यौदामा लेखिएको छ, ‘सवारी चालक तथा सवारीसाधनको अघिल्लो सिटमा बस्ने व्यक्तिले सुरक्षापेटी बाँध्नुपर्ने तथा मोटरसाइकल र अन्य त्यस्तै दुईपांग्रे सवारीसाधन चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्नेछ।’ मोटरसाइकल (बाइक) मा चालकको पछाडि सिटमा बस्ने व्यक्तिले समेत हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको यो पहिलो पटक भने होइन। यसअघि पनि यस्तै व्यवस्था गरिएको थियो। तर अव्यावहारिक भएको भन्दै त्यसलाई खारेज गरिएको थियो। यात्रुको सुरक्षालाई ध्यानमा राखेर मोटरसाइकलमा चालक पछाडिको सिटमा बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था मस्यौदामा राखिएको मन्त्रालयका उच्च कर्मचारीहरू बताउँछन्।
मस्यौदामा सवारीसाधन चलाउँदा बालबालिकालाई अगाडिको सिटमा राख्न नपाउने व्यवस्था पनि राखिएको छ। मस्यौदामा लेखिएको छ, ‘सरकारले तोकेका सवारीसाधनमा बाहेक अन्य सवारीसाधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा राख्न वा सिसामा अन्य कुनै वस्तुको प्रयोग गरी अपारदर्शी बनाउन पाइनेछैन।’ कसैले व्यावसायिक प्रयोजनका लागि सवारीसाधन चलाउन चाहे प्रदेश कानुनबमोजिम व्यावसायिक सवारीचालक अनुमतिपत्र लिन सक्ने व्यवस्था मस्यौदामा राखिएको छ। व्यावसायिक सवारीचालक अनुमतिपत्र लिएर मात्र व्यावसायिक सवारीसाधन चलाउन पाइने व्यवस्था मस्यौदामा गरिएको छ।
मस्यौदामा लेखिएको छ, ‘तर शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था, ट्राफिक नियम उल्लंघनसम्बन्धी अभिलेख, मादक पदार्थ वा लागु पदार्थ सेवनसम्बन्धी दुर्व्यसन, आपराधिक एवं गैरसामाजिक क्रियाकलापमा संलग्नताको अभिलेख भएको व्यक्तिलाई व्यावसायिक सवारीचालक अनुमति पत्र प्रदान गरिनेछैन।’
ऐन प्रारम्भ हुँदाका बखत सवारीचालक अनुमतिपत्र प्राप्त गरिसकेका सार्वजनिक सवारीका चालकको अनुमतिपत्र स्वतः व्यावसायिक चालक अनुमतिपत्रमा परिणत भएको मानिने मस्यौदामा उल्लेख छ। मस्यौदामा सार्वजनिक यातायातमा प्रयोग भएका सवारीसाधनका धनी, सवारीचालक, परिचालक वा कर्मचारीले भौतिक वा विद्युतीय टिकट जारी गरेर मात्र यात्रुलाई यात्रामा संलग्न गराउनुपर्ने, यात्रुको नाम, ठेगाना उल्लेख भएको सूची यात्रा अवधिभर सवारीसाधनमा राख्नुपर्ने, बाटो अनुमति दिने निकायले तोकेको सिटमा यात्रु राखी सवारीसाधन चलाउनुपर्ने, यात्रुवाहक सार्वजनिक सवारीसाधनका चालकले तोकिएका विश्राम केन्द्र वा स्थानमा प्रत्येक चार घण्टामा एकपटक आधा घण्टा विश्राम गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी लामो रुटमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा प्रत्येक आठ घण्टापछि चालक परिवर्तन गरी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव पनि मस्यौदामा गरिएको छ। ब्युँताइँदै पछाडि बस्नेलाई पनि हेल्मेटको पुरानो नियम
यात्रुवाहक सार्वजनिक सवारीसाधनले छतमा यात्रु राखी चलाउन नहुने, सवारीचालक तथा सहचालकले सवारीसाधन चलाउँदा मादक पदार्थ तथा अन्य नसालु पदार्थ सेवन गर्न नहुने व्यवस्था पनि मस्यौदामा राखिएको छ। सडक यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदा तयार गरेको मन्त्रालयका उच्च कर्मचारीहरूको भनाइ छ। अहिलेसम्म सवारी तथा यातायात सुरक्षासम्बन्धी छुट्टै ऐन नहुँदा सवारी सुरक्षाको विषयमा यातायात व्यवस्था नियमालीमा राखिएका बुँदा कार्यान्वयन भएका छन्।
तर उक्त कानुन अपर्याप्त भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। मन्त्रालयका एक अधिकारीका अनुसार निम्न र मध्यम आय भएका मुलुकले सडक दुर्घटनाका कारण कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशत क्षति बेहोर्नुपरिरहेको अनुमान छ। यसबाहेक सडक दुर्घटनाका कारण राज्यका सबै तहमा आर्थिक असहजपन उत्पन्न हुन्छ। सडक दुर्घटनामा मृत्यु भएकाको भन्दा घाइते हुनेको संख्या ठुलो हुन्छ। नेपालमा हरेक वर्ष सडक दुर्घटनामा परी घाइते हुनेको संख्या कम्तीमा ११ हजार हुने गरेको छ। यो संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ।
प्रकाशित: २० फाल्गुन २०८१ ०६:१९ मंगलबार