२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मझौला कम्पनले झस्काइरहेको पश्चिमी नेपाल : महाभूकम्पको जोखिम कति ?

विज्ञ भन्छन्ः पश्चिमी मात्रै होइन, पूर्वी क्षेत्र पनि महाभूकम्पको जोखिममा छ

मंगलबार बिहान नेपालको पूर्वोत्तर सीमा नजिकै चीनमा गएको भूकम्पले २०७२ को कहालीलाग्दो नेपाली भूकम्पको समय सम्झाइदिएको छ । ०७२ को भूकम्प भोगेकाहरूलाई चीनको भूकम्पको झट्काले उसैगरि तर्साएको थियो ।  

पछिल्लो समय नेपालको पश्चिमी भू–भागमा यसैगरी भूकम्पले बारम्बार तर्साइरहेको छ । पुस महिना लागेयता मात्रै ३ म्याग्निच्युडमाथिका ८ भूकम्प गइसकेका छन् । त्यसअघि पनि हरेक महिना यसैगरी भूकम्पले तर्साइरहेको छ ।  

छोटो समयमा धेरै भूकम्प जानुले पश्चिम नेपालमा ठूलो भूकम्प जाने खतरा रहेको सबैले आकलन गरिरहेका छन्। गत वर्षको भूकम्पले थिलथिलो बनाएको जाजरकोट, रुकुम र बझाङ  अझै उठ्न सकेका छैनन् । यसका बाबजुद ठूलो खतरा बाँकी नै रहेको पूर्वानुमानले त्रासमाथि त्रास थपिरहेको छ ।

पश्चिमी क्षेत्रमा ठुलो भूकम्पको खतरा रहेको चर्चा भइरहँदा पूर्वी क्षेत्रमा पनि उस्तै रहेको कतिपय भूकम्पविद्ले बताउने गरेका छन् । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा आवद्ध भूकम्पविद् डा. रमेश गुरागाईँको पनि सोही मत छ । उनको तर्कअनुसार २०७२ सालको भूकम्पपछि पूर्वी नेपालमा भूकम्प जाने शक्ति संचित भएर बसेको छ। यसर्थ नेपालको जुनसुकै भूभागमा पनि फेरि ठुलो भूकम्प जान सक्ने सम्भावना टरेको छैन ।  

पुसमा गएका भूकम्पको विवरण

पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । अर्को दिन पुस ३ गते सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प गयो ।  

पुस ४ गते भने मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो । पुस ६ गतेको भूकम्पले फेरी सुदूरपश्चिलाई केन्द्रबिन्दु बनायो । त्यो दिन बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यो भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको थियो।  

यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।  

यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युड र पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

पुस १८ गते मात्रै सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु रहेको ४.८ म्याग्निच्यूडको पराकम्प गएको थियो। यो पराकम्प भने ०७२ को गोरखा  भूकम्पकै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  

दिनहुँ १० वटा भूकम्प  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रेकर्ड राख्न सकिने भूकम्प औसतमा दैनिक १० पटकसम्म जान्छ। नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्न सक्छन्। यसभन्दा मुनिका साना भूकम्प दैनिक कति जान्छन् रेकर्डमै छैन । जसलाई मानिसले महसुस गर्न नसक्ने भूकम्पविद् डा. गुरागाईँको भनाइ छ। ‘पृथ्वीमा हामीले थाहा नपाउने गरी दैनिक रूपमा धेरैको संख्यामा भूकम्प गइरहेको हुन्छ,’ उनले भने, ‘यसलाई मापन पनि गर्ने गरिएको छैन।’

नेपालमा भूकम्प किन गइरहन्छ?  

नेपालमा भूकम्प जानुको प्रमुख कारण हो, पृथ्वीको बनावट। नेपालको भौगोलिक बनावटका कारण पनि यहाँ भूकम्प धेरै जाने गरेको छ। डा. गुरागाईँका अनुसार नेपाल पृथ्वीमा धेरै भूकम्प गइरहने क्षेत्रमा पर्छ यस कारण पनि यहाँ धेरै भूकम्प जाने गर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिमयुक्त दुईवटा क्षेत्र पर्छन्। दक्षिणतिर अवस्थित इन्डियन प्लेट र उत्तरतिर अवस्थित युरेसियम प्लेट गरी दुइटा प्लेटको सिमाना अथवा जोड्ने भागमा नेपाल अवस्थित छ। यस कारण पनि नेपालमा भूकम्प गइरहने उनले बताए।

पृथ्वीको विभिन्न भागमा रहेका प्लेटको सीमा

वैज्ञानिकहरूका अनुसार यी दुई प्लेटको बीचमा पहिला समुन्द्र थियो भन्ने गरिन्छ। करिब पाँच करोड वर्ष पहिला यी दुई प्लेट आपसमा जुधेका थिए। त्यति बेला दक्षिणतिर अवस्थित समुन्द्र हरायो र त्यति बेला इन्डियन प्लेट युरेसियम प्लेटको मुनि छि¥यो। त्यो छिर्ने क्रम आज पनि जारी रहेको भूकम्पविद् गुरागाईँ बताउँछन्।

पश्चिमको चिन्ता के हो?

चट्टानहरूले एकअर्काको दबाब थेगुन्जेल भूकम्प जाँदैन। जब दबाब थेग्न सक्दैनन् र चट्टान फुट्न थाल्छन्, अनि त्यो शक्ति भूकम्पको रूपमा बाहिर आउँछ। पृथ्वी भित्रका दुई प्लेटबीचको त्यो शक्ति भूकम्पको रूपमा क्षिण भएपछि मात्रै त्यो ठाउँ पहिलाको अवस्थामा फर्किन्छ। नेपाल अथवा हिमालय क्षेत्रमा भूकम्प जानुको कारण पनि यही हो।  

डा. गुरागाईँका अनुसार जति धेरै समयसम्म चट्टानहरूले त्यो शक्ति थेग्न सक्छन्, त्यो बेलासम्म भूकम्प जाँदैन। जब थेग्न सक्दैन, तब भूकम्प जान्छ। पश्चिम नेपालको चिन्ता के हो भने विगत पाँच सय वर्षदेखि यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन। यस कारण यहाँ त्यो शक्ति थेगिएर बसेको छ। यो क्षेत्रमा सन् १५०५ मा एकदमै ठूलो भूकम्प गएको थियो। यस बेलाको भूकम्प १९९० सालको भन्दा पनि ठूलो रहेको उनले बताए। उनका अनुसार सन् १९०५ मा पश्चिमको काँगडामा ठूलो भूकम्प गएको थियो। यस्तै पूर्वी नेपालमा विसं.१९९० मा महाभूकम्प गयो, त्यसअघि करिब सात सय वर्षअघि पनि त्यस क्षेत्रमा भूकम्प गएको अनुसन्धानकर्ताहरू  बताउँछन् ।  

जानकारी अनुसार मध्य नेपालमा सन् १८९० मा पनि शक्तिशाली भूकम्प गएको थियो। त्यसको दुई सय वर्षभन्दा कम समयमै अर्को शक्तिशाली भूकम्प गएको थियो। यस कारण भूकम्प उच्च जोखिमको रहेको सिमाना अर्थात् सुदूर तथा मध्यपश्चिम क्षेत्रको भूभागमा ठूलो भूकम्प नगएका कारण यहाँ महाभूकम्प जान सक्छ भनेर भनिएको हो। तर, कुन ठाउँमा जान्छ भनेर भन्न सक्ने अवस्था भने छैन ।  

‘पूर्वी नेपालमा पनि महाभूकम्प जान सक्छ’

पश्चिमतिर धेरै सय वर्ष भयो महाभूकम्प गएको छैन तर शक्ति संचित भएर बसेको छ। यस्तै ठूलै भूकम्प जाने गरी अर्को ठूलो शक्ति पूर्वी क्षेत्रमा पनि तयार भइसकेको भूकम्पविद् डा. गुरागाईँले जानकारी दिए। नेपालको पूर्वी र पश्चिम क्षेत्रमा महाभूकम्प जाने शक्ति संचित भएका कारण ठ्याकै यही क्षेत्रमा जान्छ भन्ने अवस्था नरहेको उनको भनाइ छ।

‘धेरै सय वर्षसम्म महाभूकम्प पश्चिममा नगएकाले यहाँको चिन्ता बढेको हो तर चिन्ता पूर्वतिर पनि गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ,’ उनले भने।  

परकम्प र भूकम्पलाई कसरी बुझ्ने?

परकम्पलाई बुझ्नु भन्दा पहिले कुन भूकम्पको परकम्प हो भनेर जान्न आवश्यक हुन्छ। महाभूकम्पका कारण चर्किएको भागको लम्बाइ र चौडाइमा फेरि अर्को भूकम्प गएमा त्यसलाई परकम्प भनिन्छ। भने, त्यो भन्दा बाहिर परेको खण्डमा नयाँ भूकम्प मान्न सकिन्छ। हाल नेपालको पश्चिमी क्षेत्रमा गइरहेको भूकम्पलाई परकम्प भन्न नमिल्ने उनी बताउँछन्। किनभने उक्त क्षेत्रमा धेरै सय वर्षदेखि ठूलो भूकम्प गएको छैन।

परकम्प र भूकम्पले गर्ने क्षति उस्तै उस्तै हुने भएकाले परकम्प र भूकम्पबारे अनावश्यक विवाद नगर्नु नै उपयुक्त हुने उनको भनाइ छ। उनका अनुसार ठूलो भूकम्प गएको छ भने लगातार त्यसको परकम्प पनि हुन सक्छ भनेर सबै नागरिक सचेत हुनु एकदमै जरुरी छ। ठूलै भूकम्प गएपछि परकम्प पनि छोटो–छोटो समयमै जाने गर्छ, जुन स्वाभाविक प्रकृया भएको गुरागाईँ बताउँछन् ।  

यस कारण परकम्प र भूकम्पमा धेरै विवाद गर्नुभन्दा यसबाट हुने असर र क्षतिको विषयमा गम्भीर बन्न उनले सुझाए।

लगभग ४० वर्षको समयावधिमा गएका भूकम्पहरूको केन्द्रविन्दुहरूको स्थान। नेपालमा पूर्वदेखि पश्चिमसम्म, दुई वटा प्लेट जोडिएको रेखा पर्छ, ठूला भूकम्पहरू पनि बारम्बार गइरहन्छन्।

भूकम्पको पूर्वजानकारी हुन्छ?

भूकम्प जाने–नजानेबारे पूर्वजानकारी नहुने डा. गुरागाईँले बताए। उनका अनुसार भूकम्प कहिले, कत्रो र कुन ठाउँमा जान सक्छ भनेर किटेरै भन्न सकेको खण्डमा मात्र भूकम्पबारे पूर्वजानकारी भएको मान्न सकिन्छ। यसर्थ यी तीन वटा कुराको जानकारी हुन नसक्नाले भूकम्पबारे पूर्वजानकारी हुँदैन। ‘पूथ्वीको सतहमुनि गहिराइको विस्तृत अध्ययन गर्ने उपकरण नभएका कारण हालसम्म कसैले पनि भूकम्प जान सक्ने समय, यसको मापन र कहाँ जाँदैछ भनेर भन्न नसक्ने अवस्थामा हामी छौँ,’ उनको जिकिर छ। तर, भूकम्पीय उच्च जोखिम क्षेत्र पृथ्वीको कुन भागमा छ भनेर थाहा हुने उनले बताए। उनका अनुसार भूकम्प निम्त्याउने प्लेटहरू कता र कुन जमिनमा चलिरहेका छन् भनेर स्याटेलाइटबाट हेर्न सकिन्छ। यसर्थ नेपाल भूकम्पको उच्च जोखिम क्षेत्र अर्थात् सिमानामा पर्छ भन्ने कुरा ध्रुवसत्य भएको उनले उल्लेख गरे।  

यस्तै भूकम्प गइसकेपछि त्यसको हल्लाइले केही सेकेन्डअघि मात्र पूर्वसूचना पाउन सकिने उनको भनाइ छ। उनका अनुसार भूकम्प सुरु हुँदा केन्द्रबिन्दुभन्दा बाहेकका स्थानहरू (जति टाढा भए) मा कम्पन हुनुभन्दा ६÷७ सेकेन्ड अघि मात्र थाहा हुन्छ।

असर

भूकम्प गएपछि सबैभन्दा पहिले जमिन हल्लिएर घरहरू नै भत्किने हो। त्यसबाट मान्छेको ज्यान त जाने नै भयो साथै लगानी पनि डुब्ने हुन्छ।  विगतमा पनि भूकम्पले घर भत्किएर हजारौँ मानिसको ज्यान गइसकेको छ। साथै ठूलो मात्रामा लगानी पनि डुबेको छ। यसकारण भूकम्पले गर्ने ठूलो क्षति भनेको घर भत्किएर किचिनु वा च्यापिनु नै हो। यदि घरहरू बलियो भयो भने भूकम्पको क्षति कम गर्ने र लगानी पनि कम डुब्ने हुन्छ।

‘हामीले परकम्प र भूकम्पमा टाउको दुखाउनुभन्दा सबैले आफ्नो घर भूकम्पबाट नभत्किने किसिमले बनाउनु तर्फ ध्यान दिनु जरुरी छ,’ उनले भने। सहर बजार मात्र नभएर गाउँघरतिर पनि भूकम्पबाट पनि नढल्ने घर बनाउनतर्फ सचेत हुनु पर्ने उनको सुझाव छ।

सुरक्षित कसरी हुने?

भूकम्पको अति जोखिममा रहेको नेपालमा सबै घरहरू सुरक्षित हुनु नै मानिस आफू पनि सुरक्षित हुनु हो। नयाँ बन्ने सम्पूर्ण घर तथा भौतिक संरचनाहरू सुरक्षित बनाउनु तर्फ सबैले चासो दिनुपर्छ। यसलाई भरपर्दो कसरी बनाउने भनेर तालिम तथा सचेतना दिनु राज्य तथा सरोकारवाला निकायको दायित्व हो। त्यसका लागि नेपालमै उलब्ध रहेका विज्ञहरूसँग समन्वय गरेर भूकम्पबाट सुरक्षित रहने सकिने भूकम्पविद् डा. गुरागाईँले बताए। 

उनका अनुसार भूकम्पबाट हुने क्षतिलाई कम गर्न घर तथा सम्पूर्ण भौतिक संरचनालाई बलियो बनाउनु नै एक मात्र अचुक उपाय हो। साथै बनिसकेका संरचनालाई थप लगानी लगाएर बलियो बनाउने र भूकम्पको पूर्व तथा भूकम्प पश्चातको तयारी गर्नुपर्छ। राज्यको ध्यान यी कुराहरूमा जानुपर्ने उनको माग छ। यसका लागि केन्द्रदेखि स्थानीय सरकारले सचेतना फैलाउँदै जाने र भूकम्प प्रतिरोधी घर बनाउन कडाभन्दा कडा रूपले निगरानी गर्दै लैजाने आजको जोडदार आवश्यकता हो ।

प्रकाशित: २३ पुस २०८१ १८:३८ मंगलबार

#Nepal Earthquake #महाभूकम्पको जोखिम कति ? #पश्चिमी नेपाल