१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रूसी सेनामा ‘कुकुरजस्तो व्यवहार’

युक्रेनसँग लड्न रुसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ। गरिबीका कारण रुसी सेनामा भर्नामध्ये अधिकजसो नेपाली अहिले घर फर्कन व्याकुल छन्। तीमध्ये ३५ वर्षीय गणेश घर फर्कन सफल भाग्यमानीमा पर्छन्। उनले साढे ४ महिना डोनेत्सकमा युक्रेनविरुद्ध लडाइँ लडेका थिए।

रुसी सेनामा नेपालीलाई  कुकुरलाई जस्तो अमानवीय व्यवहार गरिने उनको भनाइ छ। ‘त्यो अत्यन्त डरलाग्दो स्थिति थियो। मानिस–मानिस र गोलीबाट मात्र गरिने युद्ध थिएन, ड्रोनबाट आक्रमण हुन्थ्यो। डरलाग्दो थियो’, उनले भने। उनी युद्धको अग्रमोर्चामा बसेर लडेका थिए।

नेपाल फर्केपछि मन्दिरमा प्रार्थना गर्न लागेका बेला मन्दिर परिसरमै हामीले उनीसँग कुराकानी गरेका थियौं। घर फर्कंदा उनलाई राहत त मिलेको छ तर त्यो पीडाबाट उनी अझै पनि प्रभावित छन्। तेस्रो प्रयासमा गणेश रुसी सेनाको कब्जाबाट भाग्न सफल भएका थिए।

उनका अनुसार यसरी भर्ना भएका सैनिकलाई मस्कोभन्दा बाहिर रहेको एभानगार्ड सैनिक तालिम केन्द्रमा दुई साता तालिम दिइन्छ। गणेशले भारतीय सेनामा १० वर्ष काम गरेका थिए। रुसी सेनामा भर्ना भएका उनका अरू साथी भने अनुभवबिनाका थिए। कतिपयले यसअघि कहिल्यै बन्दुक पनि बोकेका थिएनन्।

पर्याप्त सामग्रीबिना द्वन्द्वग्रस्त क्षेत्रमा

प्रशिक्षण सकिएपछि विदेशी सैनिकलाई गरिने व्यवहार फरक हुने र पर्याप्त सामग्रीबिना युद्धमा खटाइने गरेको उनले बताए। ‘पहिलो दुई सातासम्म त सबै ठिकठाक थियो। जब हामीलाई युक्रेन पठाइयो, हामीसँग यथेस्ट खाना पनि थिएने। रुसी सैनिकले हामीलाई कुट्थे। अत्यन्त नराम्रो स्थिति थियो त्यो,’ उनले भने।

नेपाली र अन्य देशका सैनिकलाई युद्धको अग्रमोर्चामा तैनाथ गरिने र पछाडि मात्र रुसी सैनिकलाई राखिने उनले बताए। आफ्नैअघि तीनजना नेपाली मारिएको देखेका उनले अरू धेरै हताहत भएको सुनेको बताए।

‘अवसरै अवसर छ भनियो’

लक्जेमबर्गमा काम खोजी गरिदिन एक एजेन्टसमक्ष पुगेका उनलाई रुसमा अवसरै अवसर भएको भन्दै त्यहाँ जान सल्लाह दिइएको थियो। त्यसपछि १० लाख रूपैयाँ (६ हजार डलर) तिरेर पर्यटक भिसामा उनी दुबई हुँदै मस्को पुगेका थिए। ती एजेन्टले क्रेमलिनको युद्ध अभियानमा सहभागी भएमा मासिक एक हजार ६ सय ७५ अमरिकी डलर कमाउन सक्ने बताएका थिए। रुस पुगिसकेपछि सैनिक तालिम शिविरसम्म पुग्न अर्काे एजेन्टलाई थप ८ सय अमेरिकी डलर बुझाएको उनले बताए।

 रुसी सेनामा दुई हजार नेपाली भर्ना भएको तथ्यांक रुसको अध्यागमन र त्यहाँबाट फर्केर आएका नेपालीको भनाइमा आधारित छ। हाल युद्धमोर्चामा रहेका र मृत्यु भैसकेकाका परिवारलाई सहयोग पु¥याइरहेका अभियन्ताले दिएको जानकारीले समेत यो तथ्यांकलाई पुष्टि गरेको छ। रुसमा जाने धेरैजसो नेपालीले विद्यार्थी अथवा पर्यटक भिसा प्रयोग गरेको देखिन्छ।

नेपाली फर्काउन अपिल

रुसलगायत कुनै पनि विदेशी सेनाको पक्षबाट लड्नु नेपालीका लागि गैरकानुनी हो। गत जनवरीदेखि नेपाल सरकारले कामका लागि रुस र युक्रेन जान बन्देज लगाएको छ। नेपाल सरकारले रुसी सरकारलाई त्यहाँको सेनामा भर्ना गरिएका नेपालीलाई घर फर्काइदिन पनि अनुरोध गर्दै आएको छ। नेपाल प्रहरीका एसएसपी नवराज अधिकारीले रुस पु¥याएर त्यहाँ सेनामा भर्ना हुन बाध्य पार्ने एजेन्टहरूको खोजी भैरहेको स्काई न्युजलाई बताए।  

‘हामीले २२ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेका छौं। यो गम्भीर समस्या हो’, उनले भने। सम्पर्कविहीन भएपछि रुसी सेनामा कार्यरत एक सय ५० नेपालीका परिवारले उनीहरूको खोजी गर्न कन्सुलर विभागलाई अनुरोध गरेका छन। यसो हुँदाहुँदै पनि गरिबीबाट मुक्ति पाउने चाहनाका कारण नेपाली युवा रुसी सेनामा भर्ना हुने गरेका छन्।  

टिकटकमा देखिए झैं छैन

कतिपयले रुसी सेनाको प्रशिक्षणमा रमाएकाहरूले पोस्ट गरेका टिकटकका कारण आफूहरू त्यहाँ जान आकर्षित भएको बताउने गरेका छन्। तर गणेश त्यसरी नजान सुझाव दिन्छन्। ‘म कसैलाई पनि जान सल्लाह दिन्नँ। टिकटकमा फेन्सी युनिफर्म र बन्दुक देखिए पनि अवस्था सोचे जस्तो छैन’, उनले भने।  

 टिकटकमा रुसी सेनामा नेपाली  

रुसी सेनामा भर्ना भएर युद्ध मैदानमा उत्रिएकाहरू त्यहाँबाट उम्कने सम्भावना अत्यन्त कम छ। अरू ६ नेपालीसँगै पहिलो पटक भाग्न खोज्दा गणेश समातिएका थिए र रुसी सैनिकले उनलाई निर्घात पिटेका थिए। उनले दोस्रो पटक एक एजेन्टमार्फत भाग्ने प्रयास गरेका थिए। त्यसका लागि एक नेपाली एजेन्टले १७ सय अमेरिकी डलर पठाउन भनेको थियो। ‘मैले त्यो पैसा पठाएँ,’ उनी सम्झन्छन्। 

अन्य कैयन नेपालीलेसमेत भाग्न यस्तो प्रयास गरेको उनी बताउँछन्। ‘मैले एजेन्टले झुक्याएका १० देखि १५ नेपालीलाई देखेको छु’, उनी भन्छन्। तेस्रो पटकको प्रयासमा पैदल हिँडेर भागेका गणेश बाटोमा पर्ने पुराना घरहरूमा सुत्दै अगाडि बढेका थिए। डोनेत्सकमा तैनाथ रुसी प्रहरीका सामु आत्मसमर्पण गर्नुअघि एक सातासम्म उनले जंगलमै बिताएका थिए।

‘सीमा पार गर्न नसक्ने मैले ठानें। जंगलमा बस्दा पनि बाँच्न नसकिने ठानें। अनि मैले प्रहरीका सामु आत्मसमर्पण गरें। मलाई डेढ महिनासम्म थुनामा राखियो। र, अन्तत नेपाल फर्काइयो,’ उनले सम्झिए।

सामाजिक अभियन्ता तथा राजनीतिज्ञ कृतु भण्डारी यो समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा जुटेकी छन्। उनले सात सय घरपरिवारले हालै सहयोगको याचना गरेको बताइन्। रुसी सेनामा भर्ना भएका २६० जना नेपाली सम्पर्कविहीन रहेको तथ्यांक उनीसँग छ। नेपाल सरकारले हाल २४६ जना नेपाली रुसी सेनामा भर्ना भएको र २१ को मृत्यु भएको जनाएको छ। तर मानवअधिकारकर्मी तथा राजनीतिक दलका नेताले यो सही आकडा नभएको बताएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले रुसी अधिकारीले युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार बताएको जनाएको छ। रुसका परराष्ट्रमन्त्री सेरगाई लाभरोभले यो समस्या समाधानमा रुसले सहयोग गर्ने आश्वासन दिएका छन्। तर नेपालीलाई भर्ना रोक्ने अथवा मारिएकाको श नेपाल फर्काउने सम्बन्धमा ठोस प्रगति हुन सकेको छैन।

स्काई न्युजले रुसको रक्षा मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासलाई गणेशले दिएको बयानबारे सोधेको थियो। तर दुवै निकायले कुनै उत्तर दिएनन्। यसैगरी कति नेपाली रुसी सेनामा छन् भन्ने प्रश्नमा पनि उनीहरू मौन रहे। यसरी आफ्नो कुनै सरोकार नभएका द्वन्द्वमा नेपाल फसेको छ। गरिबीको चपेटाबाट बाहिरिन चाहने युवाका कारण यो समस्या निम्तिएको हो। रुसी सेनामा भर्ना भएका नेपाली सुरक्षित हिसाबले घर फर्कने कुनै ग्यारेन्टी छैन। उनीहरू जोखिममा छन्। – स्काई न्युज

प्रकाशित: ८ चैत्र २०८० ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App