८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पशुपतिका दुई हजार सल्लाहकार खारेज

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित रूपमा मनाउन पशुपति क्षेत्र विकास कोषले अर्चक-उपासक र सल्लाहकार पद खारेज गरेको छ। यस्ता अर्चक-उपासक १७८ जना र सल्लाहकार दुई हजारभन्दा बढी रहेको कोषले जनाएको छ। यी सबै पद खारेज गरिएको कोषका सदस्य सचिव राजु खत्रीले बताए। यस वर्ष महाशिवरात्रि पर्व यही फागुन २५ गते मनाइँदै छ।

२०५७ सालमा कोषले एक लाख रुपैयाँ लिएर पशुपतिनाथ मन्दिरको अर्चक र ५१ हजार रुपैयाँ लिएर उपासक बनाएको थियो। कोषले उपलब्ध गराउने पासबाट उनीहरूले लाभ उठाउँदै आएको खत्री बताउँछन्। विशेषगरी पशुपति क्षेत्रमा लाग्ने पर्व र मेलामा अर्चक÷उपासक र सल्लाहकारले पशुपतिनाथको दर्शनका लागि पनि पास पाउँथे।

यसैगरी कोषबाट सल्लाहकार नियुक्त भएका दुई हजारभन्दा बढी व्यापारी घरानाकै भएको कोषले जनाएको छ। व्यापारी घरानाकै जोडबलका कारण कोषले पशुपति मन्दिर क्षेत्रमा हुने विभिन्न मेला र पर्वमा अर्चक, उपासक र सल्लाहकार र तीनका परिवारका लागि विशेष सेवा सुविधा उपलब्ध गराउँदै आएको थियो। यसबाट अनावश्यक भीड हुने गरेको थियो। अनावश्यक भीड हुन नदिन यसपटक अर्चक÷उपासक र सल्लाहकार पद खारेज गर्नुपरेको कोषले जनाएको छ।

कोषले यस पटक महाशिवरात्रिका दिन भक्तजनलाई सकेसम्म छोटो पशुपतिनाथको दर्शन गराउने लक्ष्य राखेको छ। त्यसैअनुसार तयारी भएको कोषले जनाएको छ। ‘यसै कारण हामीले विगतमा कायम रहेका २ हजार सल्लाहकार पद खारेज गरी पास नदिने भएका छौं। अर्चक र उपासक पद र उनीहरूलाई दिइने पास पनि खारेज गरेका छौं,’ सदस्य सचिव खत्रीले भने।

उनका अनुसार २०५७ सालमा कोषले एक लाख रूपैयाँ लिएर अर्चक र ५१ हजार लिएर उपासक बनाएको थियो। त्यतिबेलादेखि नै पास बनाएर मन्दिरबाट पाउने सबै सुविधा उपयोग गरिरहेका १७८ अर्चक÷उपासकको पद र उनीहरूलाई पास दिने परम्परा कोषले अहिले खारेज गरेको हो। उनले थपे, ‘पर्व, त्यौहारमा मन्दिरमा भीडभाड भए पनि कोषका कर्मचारी खटाएर सल्लाहाकार, अर्चक÷उपासक र उनीहरूका परिवारलाई पासकै आधारमा मन्दिरको दर्शनसमेत गराउनुपथ्र्यो। यसले अन्य भक्तजनलाई मर्का पर्दै आएको थियो। अब त्यस्तो हुँदैन, यस्तो पासको व्यवस्था हुन्न।’

सदस्य सचिव खत्रीका अनुसार २ हजार बढी सल्लाहकार र १७८ अर्चक-उपासकहरूले करिब अढाइ दुई दशकअघि तिरेको रकमले नै हालसम्म मन्दिरबाट पाउने सुविधा लिँदै आएका थिए। ती सल्लाहकारले भारतमा जाँदा पशुपतिनाथ मन्दिरको पास दुरूपयोग गरेको पाइएको समेत उनले बताए।

कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डनका अनुसार कोषको सदस्यसचिव वसन्त चौधरी भएको बखत आर्थिक स्रोत जुटाउन अर्चक र उपासक बनाएको देखिन्छ। त्यस्तै तत्कालीन सदस्य सचिव सुशील नाहाटाका पालामा पनि सल्लाहकार नियुक्त गरिएको पाइएको उनले बताए। यसले कोषमा सल्लाहाकार थुप्रिँदै गए।

‘सल्लाहकार नियुक्त भए पनि उनीहरूले कहिल्यै कोषलाई कुनै सल्लाह दिएको मलाई थाहा छैन,’ टण्डनले नागरिकसँग भने, ‘बरु पर्व, त्यौहारमा भीडभाड हुँदा पनि कोषले सल्लाहकार र उनीहरूका परिवारलाई पास उपलब्ध गराएर सहजरूपमा दर्शन गराउने गरेको थियो। यस्ता पद खारेजी गर्नु ठिक हो।’ टण्डनका अनुसार पशुपति क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन यस्ता पद खारेजी हुनैपर्छ।

यसैबीच पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्री पर्वको तयारी पूरा भएको जनाएको छ। महाशिरात्रि मेला व्यवस्थित र मर्यादित बनाउन कोषकले आन्तरिक स्रोतबाट डेढ करोड रूपैयाँ विनियोजन गरेको छ। भक्तजनलाई प्राथमिकतामा राखेर तयारी पूरा गरेको कोषका सदस्य सचिव खत्रीले बताए। कोषले लाममा बसेका भक्तजनलाई जति सक्यो छिटो पशुपतिनाथको दर्शन गराउने व्यवस्था गरेको छ।

महाशिवरात्रि व्यवस्थापनका लागि गठित ४१ सदस्यीय मूल समारोह समितिअन्तर्गत विभिन्न उपसमिति बनाइएको छ। सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन व्यवस्था, मन्दिर दर्शन, चन्दन वितरण तथा रात्रिकालीन व्यवस्था, प्रचारप्रसार तथा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण, सरसफाइ तथा जुत्ता–चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था र मेला बजार तथा साजसजावट उपसमिति गठन गरिएको छ।

‘यसपटक कोषले ७ लाख भक्तजन पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरेको छ। कोषले महाशिवरात्रिलाई व्यवस्थित रूपमा मनाउन ६ हजार स्वयंसेवक परिचालन गर्ने भएको छ। सदस्य सचिव खत्रीले भने, ‘यसपटक भिआइपी हटाइएको छ।’ उनका अनुसार ११० वटा संस्थाले भक्तजनका लागि निःशुल्क भोजनको व्यवस्था गर्ने भएका छन्।’

महाशिवरात्रिका दिन चारै ढोकाबाट पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ। ‘लाममा बसेको १० मिनेटभित्र दर्शन गराउने कोषको लक्ष्य हो। कोषले पहिलो पटक बागमती नदीमा सङ्लो पानीको व्यवस्था गरेको छ। मन्दिरमा आउने भक्तजनले बागमतीमा नुहाएर मात्र पशुपतिनाथको दर्शन गर्ने इच्छा राखेको हामीले पायौंं। त्यसैले शिवरात्रिमा १८ करोड ५० क्युसेट पानी छाड्ने व्यवस्था मिलाइएको छ’, सदस्य सचिव खत्रीले भने।

पशुपतिनाथ मन्दिरमा बुधबारसम्म हजारको हाराहारीमा साधुसन्त आइसकेका छन्। उनीहरू धुनी जगाएर बसेका छन्। अन्य साधुसन्त आउनेक्रममा छन्। साधुसन्तका लागि कोषले विभिन्न अखडा र निःशुल्क खानेबस्ने व्यवस्था मिलाएको छ।

कोषले भक्तजनका लागि पनि पयाएप्त शौचालयको व्यवस्था मिलाएको जनाएको छ। ‘पशुपति क्षेत्रको चार किलाभित्र माछा, मासु र मदिरा प्रतिबन्ध गरिएको छ,’ सदस्य सचिव खत्रीले भने, ‘निर्देशन पालना नगर्नेलाई कडा कारबाही हुन्छ।’

प्रकाशित: २४ फाल्गुन २०८० ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App