१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोजर चलाएको विरोधमा इलेक्ट्रिक रिक्सा व्यवसायी आन्दोलित

डोजर चलाएको भन्दै आन्दोलनमा उत्रिएका इलेक्ट्रिक रिक्सा व्यवसायी। तस्बिर : नागरिक

इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। इलेक्ट्रिक रिक्सामाथि अनाहकमा डोजर चलाएको भन्दै उनीहरू बुधबार आन्दोलित भएका हुन्।

कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सा नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयले मंगलबार डोजर चलाएको थियो। इलेक्ट्रिक रिक्सा व्यवसायी संघ बाँकेको अगुवाइमा बुधबार बिहान ११ ः३० बजेदेखि बिपी चोकमा रहेको उपमहानगरपालिका कार्यालय घेराउ गरेका हुन्। ठुलो संख्यामा रिक्सा सडकमा तेर्साएर व्यवसायीले कार्यालयको मुल गेटमा नाराबाजी गरेका छन्।

इलेक्ट्रिक रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष कुमारसिंह ठकुरीले आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन नरोक्ने चेतावनी दिए। ‘हाम्रा व्यवसायीमाथि जुन खालको अन्याय र अत्याचार गरिएको छ, यसविरुद्ध हामी आन्दोलित भएका हौं, माग पुरा नहुँदसम्म आन्दोलन चल्छ’, उनले भने।

संघले इलेक्ट्रिक रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्वारा नष्ट गरिएका रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका रिक्साहरूलाई एकपटकका लागि फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका रिक्सा नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘इलेक्ट्रिक रिक्सा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि– २०७८’ पूर्णरुपमा लागु गर्नुपर्ने माग राखेको छ।

आन्दोलनरत इलेक्ट्रिक रिक्सा व्यवसायीले अवैध रिक्सा ठहर भए प्रमाण पेस गर्न उपमहानगरपालिकालाई चेतावनीसमेत दिएका छन्। ‘गरिबको रिक्सामा डोजर चलाउन मिल्छ ?’, व्यवसायीले भने ‘कहिलेकाहीं कागज हराउँछ, कागज हराउँदैमा रिक्सामाथि डोजर चलाइदिने ?’

आन्दोलनरत इलेक्ट्रिक रिक्सा व्यवसायीले उपमहानगरपालिकाका मेयर र उपमेयरको चर्को विरोध गरेका छन्। रिक्सा व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको मुलगेटमा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन भएका छन्।

गत मंसिर १९ देखि सुरु गरेको उक्त प्रक्रियाअनुसार उपमहानगरपालिकाले जाँच गरेर कागजपत्र नभएका पाँचवटा रिक्सालाई मंगलबार डोजर चलाएर नष्ट गरेको थियो। उपमहानगरपालिकाले भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको रिक्सालाई नष्ट गरेको गरेको थियो।

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले भने आवश्यक कागजात नभएका ती रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको बताएका छन्। उपमहानगरमा अवैध इलेक्ट्रिक रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानअनुसार नष्ट गर्ने काम गरिएको उनको भनाइ छ।

मेयर विष्टले भने, ‘हामीले पटकपटक भनेका हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौं, अवैध रिक्सालाई नष्ट गर्न सुरु गरेका हौं।’

उपमहानगरपालिकाले हालसम्म ६ सय २३ वटा रिक्सा नियन्त्रणमा लिइसकेको छ। तीमध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएका पाँच सय ३८ वटा रिक्सा फिर्ता भएका छन्। अझै ८५ वटा रिक्सा नियन्त्रणमा रहेको उपमहानगरपालिकाको नगर प्रहरी शाखाले जनाएको छ।

प्रकाशित: २५ पुस २०८० ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App