१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सद्भावले जोडेको नेपालगन्ज सहर

हिन्दु समुदायसँग टीका लगाउँदै मुस्लिम समुदायका अब्दुल वाहिद मन्सुरी। तस्बिर: नागरिक

नेपालगन्जका अब्दुल वाहिद मन्सुरी इस्लाम धर्ममा आस्था राख्छन्। तर, उनी हरेक वर्ष हिन्दु धर्मावलम्बीका महान् चाडपर्व दसैं र तिहार धुमधामका साथ मनाउँछन्। नेपालगन्ज धम्बोझीनिवासी पुनम सिंहसँग उनले भाइटीका लगाउन थालेको २० वर्ष बितिसकेको छ। दसैंमा पनि उनी टीका थाप्न हिन्दु धर्मका आफन्त र इष्टमित्रकहाँ पुग्छन्। ‘बहिनीसँग मैले हरेक वर्ष भाइटीका लगाउँछु, हाम्रो पारिवारिक सम्बन्ध राम्रो छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका मन्सुरीले नागरिकसँग भने, ‘दसैंमा पनि आफन्त र इष्टमित्रकहाँ पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्छु।’

बेलाबेलामा नेपालगन्जको धार्मिक सद्भाव खल्बलिने प्रयास भए पनि आफूहरूलाई खासै असर नपर्ने मन्सुरीले सुनाए। नेपालगन्जमा तीन दिनअघि दुई समुदायबीच तनाव उत्पन्न हुँदा आफूहरूलाई दुःख लागेको बताए।

‘दसैंतिहारमा टीका थाप्न म उहाँहरूको घरमा जान्छु, इदमाचाहिँ मेरो घरमा आउनुहुन्छ,’ उनले थपे।

आफूहरूबीच जोडिएको नाता र सम्बन्ध निकै प्रगाढ भएको मन्सुरीले बताए। ‘यस पटकको दसैंमा त मैले अछामसम्म पुग्ने सोच बनाएको छु, त्यहाँ पनि मेरा आफन्त र इष्टमित्र हुनुहुन्छ, इस्लाम धर्ममा मेरो आस्था रहे पनि हिन्दुहरूको चार्डपर्वलाई उत्तिकै सम्मान र मन पराउँछु,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रानिवासी आलम खान र रोल्पा माडीचौरकी सीमा घर्तीले एकअर्काको प्रेम सम्बन्धलाई २०६८ सालमा विवाहमा परिणत गरे।

नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रानिवासी आलम खान र रोल्पा माडीचौरकी सीमा घर्तीले एकअर्काको प्रेम सम्बन्धलाई २०६८ सालमा विवाहमा परिणत गरे। अन्तर धार्मिक विवाह गरेका आलम र सीमाको साथमा अहिले पाँच वर्षकी छोरी छिन्।

अन्तर धार्मिक विवाह गरेका आलम र सीमाको साथमा अहिले पाँच वर्षकी छोरी छिन्। प्रायः उनीहरू दसैंतिहार मनाउन रोल्पा पुग्छन् भने इद मनाउन ससुराली घरबाट नेपालगन्ज आइपुग्छन्। ‘जब हामीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत ग¥यौं, त्यसपछि हाम्रो पारिवारिक सम्बन्ध झन् राम्रो भयो,’ मानव अधिकारकर्मीसमेत रहेका खानले भने, ‘धर्मले हामीलाई कुनै अवरोध पुर्‍याएको छैन।’

नेपालगन्जमा धार्मिक सद्भाव बिथोल्न अनेक प्रयास भए पनि आफूहरूलाई यसले कुनै असर नगरेको सीमा बताउँछिन्। मुस्लिम परिवारमा बुहारी बनेर आएपछि उनी ‘कुरान’समेत पढ्नसक्ने भएकी छिन्। तीन वर्षअघि मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिना समेत पुगेर उनी फर्किएकी थिइन्। ‘इस्लाम धर्मका चाडपर्वलाई जति महत्त्व दिन्छौं, हिन्दु धर्मका चाडपर्वमा पनि हाम्रो परिवार उत्तिकै रमाउँछ,’ उनले भनिन्।

नेपालगन्जकी गंगा सुनार र सराफत अलि खाँले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्ध कायम गरेको अढाई दशकभन्दा बढी समय भइसक्यो। बर्दियाकी गंगा र नेपालगन्जका सराफतबीच जोडिएको वैवाहिक सम्बन्ध अहिले पनि उत्तिकै सुमधुर रहेको छ। उनीहरूबाट जन्मेका सन्तान पनि हुर्किसके। अन्तर धार्मिक विवाह गरे पनि घर र माइती पक्षबीच सम्बन्ध सुमधुर छ।

सराफत भन्छन्, ‘हामीबीचको विवाहलाई मेरो घर र ससुराली पक्षले सजिलै स्वीकार गर्नुभयो, हरेक दुःखसुखमा म ससुरालीकहाँ पुग्छु र त्यहाँबाट पनि हाम्रो घरमा आउनुहुन्छ।’

जागिरको सिलसिलामा बर्दियामा रहँदा सराफत र गंगाबीच प्रेम सम्बन्ध जोडिएको थियो। प्रेमलाई विवाहमा परिणत गर्दा उनीहरूलाई धर्मले छेकेन। उनीहरू दुवै धर्मका चार्डपर्वलाई समान तरिकाले मनाउने गरेका छन्। गंगाले घरमा रहुन्जेल इस्लाम धर्म, संस्कृतिअनुसार व्रत लिन्छिन् भने माइत गइसकेपछि हिन्दु धर्मका सबै चार्डपर्वलाई महत्त्व दिन्छिन्।

नेपालगन्जमा धार्मिक सद्भाव कस्तो छ? यी केही उदाहरण मात्र हुन्। एक धर्मले अर्को धर्मका चार्डपर्व मनाउने, अन्तर धार्मिक विवाह गर्ने, एक धर्मका व्यक्ति अर्को धर्मका व्यक्तिको जन्म र मत्यु संस्कारमा सहभागी हुने चलन छ।

हिन्दु र मुस्लिम धर्मबीच मात्र होइन। अन्य धर्मावलम्बीबीच पनि उत्तिकै सद्भाव जोडिएको छ। यहाँ शिख, इसाई र बौद्ध धर्ममा आस्था राख्ने समुदायबीच पनि सद्भाव गहिरोेसँग जोडिएको छ।

विगतमा धार्मिक समुदायबीच द्वन्द्व उत्पन्न गराएर राजनीतिक फाइदा लिने प्रयास नभएको होइन। गलत नियतले गरिएको उक्त प्रयास भने पटक–पटक असफल हुँदै आएका छन्। यसपटक पनि पुनः गरिएको प्रयास असफल भएको छ।

पटक–पटक धार्मिक सद्भाव भड्काउन केही तत्व सक्रिय हुन खोजे पनि उनीहरू असफल भइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओली बताउँछन्। यहाँका धर्मगुरु, राजनीतिक दल, सामाजिक संस्था, प्रशासन एक ठाउँमा उभिँदा सद्भावमा असर नपुर्‍याएको उनको भनाइ छ। ‘बेलाबेलामा सद्भाव भड्काउन खोजिन्छ तर पनि सबैको भूमिकाले गर्दा सद्भाव कायम रहेको छ,’ उनले भने।

नेपालगन्जमा धर्मगुरुको सहभागितामा ‘धार्मिक तथा सामाजिक सदभाव मञ्च’समेत क्रियाशील छ। मञ्चको नेतृत्व बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले गरेका छन्। राजनीतिक रूपले फाइदा लिनका लागि सद्भाव भड्काउन खोजे पनि उनीहरू सफल हुन नसकेको मूल महन्त योगी बताउँछन्।

समाजमा केही ‘कुतत्व’ रहेको र उनीहरूले सद्भाव बिगार्न चाहे पनि सफल नहुने उनको तर्क छ। ‘कुतत्वका कारण हाम्रो सद्भाव खल्बलिँदैन,’ योगीले भने, ‘समाजलाई बिगार्न कुतत्वहरू चाहन्छन् तर हाम्रो सद्भावलाई यिनीहरूले तोड्न सक्दैनन्।’ नेपालगन्जमा एक धर्मले अर्काे धर्मका चार्डपर्व मनाउने, अन्तर धार्मिक विवाह गर्ने, जन्म र मत्यु संस्कारमा सहभागी हुने परम्परा नै रहेको योगी बताउँछन्।

मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव ‘गुलाबको फूलजस्तै’ रहेको बताउँछन्।

‘यो सामाजिक सद्भावलाई बचाई राखौं, यसमा हामी सबै धर्मगुरुहरू एकजुट छौं,’ उनले भने, ‘जसले सद्भावलाई बिगार्छ, त्यसको पक्षमा हामी छैनौं।’

नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भाव कस्तो छ भन्ने कुरालाई यहाँ मनाउने दसैं, तिहार, इद, मोहर्रम, क्रिसमस डेमा देखिने उल्लासको वातावरणले पुष्टि गर्छ।

यहाँ हिन्दु समुदायका दसैं, तिहार, होलीजस्ता चार्डपर्वलाई मुस्लिम समुदायले सँगै बसेर मनाउँछन् भने मुस्लिम समुदायको इद, मोहर्रमजस्ता पर्वमा हिन्दु समुदाय पनि इदगाहामा पुगेर शुभकामना साटासाट गर्दै मनाउँछन्।

प्रकाशित: १९ आश्विन २०८० ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App