११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सुन्दरहरैँचाको स्थिति नियन्त्रण लिन ८ राउण्ड हवाई फायर

विराटनगर–विराट चोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१ हरैँचा बजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । घटनापछि आक्रोशित भएका स्थानीयले टिपर आगजनीको प्रयास गरेका थिए । उनीहरुले टिपर आगजनीको प्रयास गर्नुका साथै मृतकको शव उठाउन अवरोध गरेका थिए । घटनास्थलबाट टिपर हटाएर आवतजावत सहज बनाउन खोज्दा आक्रोशित भीडले प्रहरी र टिपरमाथि ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि प्रदर्शनमा उत्रेका स्थानीयले टिपर हटाउने क्रममा प्रहरी र टिपरमाथि ढुंगामुढा प्रहार गर्दा डिएसपी वेदप्रकाश जोशीको टाउकोमा ढुङ्गाले लागी घाइते भएका छन् । अशान्त रहेको घटनास्थलको स्थिति नियन्त्रणमा लिन ९ राउण्ड अश्रु ग्याँस र ८ राउण्ड हवाई  फायर गरेको प्रहरीले जनाएको छ ।

विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा हासिम मियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

सडकमै शव राखेर प्रदर्शनमा उत्रिएको भिडले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएका छन् । स्थानीयले सडकमा टिपरको दादागिरी बढेको आरोप लगाउँदै टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका डिएसपी जोशीले बताए । अहिले घटनास्थल शान्त रहेको र शव उठाइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कान्छाराम कन्स्ट्रक्सनको टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको पत्ता लागेको छ ।

टिपर चालक बारा कोल्बी घर भई हाल सुन्दरहरैँचा–१२ मा डेरा गरी बस्ने २५ वर्षीय पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याएर राखेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान अघि बढी सकेको प्रहरीले जनाएको छ । 

प्रकाशित: १२ वैशाख २०८२ १८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App