१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

जुम्लामा व्यवसायिक मौरीपालक किसानलाई सीप तालिम

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१, काब्रागाउँमा मौरीपालक किसानलाई तालिम दिइएको छ। वडाका १० गाउँका २० किसान सहभागी थिए। 

वडाको १ लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानका लागि पाँच दिने तालिम आयोजना गरिएको वडाध्यक्ष भीमबहादुर भण्डारीले बताए। उनले भने, ‘महको उत्पादन र गुणस्तर वृद्धि गर्ने उद्देश्य हो।’  

भण्डारीका अनुसार, यी गाउँहरू मह उत्पादनमा जिल्लामै अग्रणी छन्। वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिनेछ। किसानलाई दक्ष बनाउन तालिममा सीप सिकाइएको हो। प्रत्येक किसानसँग २४ वा सोभन्दा बढी मौरीघार छन्। वडाभर ५०४ मौरीघार छन्।  

पाँच दिने आधारभूत तालिममा कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड, जुम्लाका सचिव नारायण चौलागाईले सहजीकरण गरे। उनले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा जोड दिइएको बताए। उनले भने, ‘आत्मनिर्भर र व्यवसायिक सीप सिकाइयो।’ सहभागीले तालिममा सिकेका कुरा व्यवहारिक भएको बताए। उनीहरूले मौरीपालनका आधारभूत कुरा सिकेको दाबी गरे।  

कनकासुन्दरी–१, म्रर्फान गाउँका चन्द्रबहादुर भण्डारीसँग ३५ मौरीघार छन्। उनले भने, ‘व्यवसायिक प्रशोधनबाट धेरै आम्दानी लिन सकिन्छ। पहिले ज्ञान नहुँदा सामान्य कुरामा ध्यान नदिँदा नोक्सान बेहोरे। अब सिकेका सीप व्यवहारमा उतार्छु।’ त्यस्तै, बुम्र गाउँका जयबहादुर बुढासँग २४ मौरीघार छन्। उनले परम्परागत मौरीपालनलाई व्यवसायिक बनाउने तालिम उपयोगी भएको बताए।

सागेपाल्त गाउँका जग भण्डारी १८ वर्षदेखि मौरीपालनमा छन्। उनसँग २२ घार छन्। उनले भने, ‘मेहनत र लगावको महत्व सिकायो। मैले जानेका कुरा अरूलाई सिकाउँछु र व्यवसायिक बन्न प्रेरित गर्छु।’ सहभागीलाई बाल्टिन, मह निकाल्ने जालीलगायत सामग्री पनि दिइयो।

जुम्लामा ‘सेराना’ जातको मौरी पालिन्छ। जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामा मौरीपालन हुन्छ। जुम्लाको मह काठमाडौं, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवन र पोखरामा पुग्छ। सरकारी तथ्यांक नभए पनि कर्णाली मौरीपालन सहकारीका अनुसार, जुम्लामा ८ हजार ४०० मौरीघार छन्। सहकारीका अनुसार, ‘वर्षमा ५० हजार ००० किलो हाराहारी मह उत्पादन हुन्छ। प्रतिकिलो २ हजार ५०० मा बिक्री हुँदा वार्षिक १२ करोड रुपैयाँ जिल्लामा भित्रिन्छ।’

पातारासी गाउँपालिकामा १ हजार ६००, तिलामा १ हजार ५००, गुठीचौरमा १ हजार ४००, कनकासुन्दरीमा १ हजार २००, हिमामा ७००, चन्दननाथमा एक हजार र तातोपानी तथा सिँजामा ५००/५०० घार मौरी पालिएका छन्।

प्रकाशित: १२ वैशाख २०८२ २०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App