कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनलाई ध्यानमा राखेर कोशी प्रदेश सरकारले सात वटा कानुन संशोधनको तयारी गरेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती विषयक अन्तरसंवादमा मुख्यमन्त्री कार्कीले लगानीको वातावरण बनाउन कानुन संशोधनको तयारी गरेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले उद्योगी व्यवसायीको लगानीको संरक्षणका लागि कोशी प्रदेश सरकार तयार रहेको धारणा राखे । उनले कोशी प्रदेशले गर्न लागेको लगानी सम्मेलन प्रदेश संरचनाले गरेको पहिलो लगानी सम्मेलन भएको दाबी गरे । कार्कीले भने‘ संघीय संरचना मा गए पछि पहिलोपटक कोशी प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको छ ।’ कार्कीले लगानीको वातावरण बनाउन अरु कानुन संसोधन गर्नु परे पनि प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । कार्कीले कोशी प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे । मुख्यमन्त्री कार्कीले असार मसान्तभित्रै प्रदेश सरकार मातहतमा हुने कामका लागि एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताए । उनले भने‘ असार मसान्त भित्रै एकद्वार प्रणालीबाट सेवा प्रदान गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ । अब, सेवा ग्राहीले एउटै कामका लागि धेरै वटा निकायमा चाहर्नु पर्दैन ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म आर्थिक विकास सम्भव नहुने बताए । उनले निजी क्षेत्रलाई राज्यले प्रोत्साहित गरे मात्रै लगानी भित्रने, उद्योग धन्दा, व्यापार, व्यवसाय फष्टाउने र रोजगारी सृजना हुने धारणा राखे । ढकालले पाथिभरा केबलकारको विवादलाई वार्ता र छलफलबाट समाधान खोज्नुपर्ने धारणा राखे । उनले धर्म, संस्कृति, पहिचान नमासिने गरी केबलकार निर्माण गर्न तयार रहेको बताए । उनले केबलकार निर्माणका लागि त्यहाँको धर्म, संस्कृति, जातीय पहिचानको संरक्षणका लागि कम्पनीले गर्नुपर्ने हरेक किसिमको काम गर्न तयार रहेको स्पष्ट पारे । ‘स्थानीयको पूरा गर्न सकिने हरेक किसिमको पूरा गर्न सकिने माग पूरा गर्न केबलकार निर्माण कम्पनी तयार छ’ ढकालले भने । उनले त्यसका लागि वार्ता र छलफल गर्न आफू तयार रहेको स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल बनाउन निजी क्षेत्र प्रतिबद्ध रहेको बताए । उनले कोशी प्रदेशका लगानीका थुप्रै सम्भावनाहरू रहेका कारण प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा विज्ञ भेषराज पौडेलले कोशी प्रदेशको आर्थिक अवस्था , लगानीका सम्भावना र चुनौति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रकाशित: १२ वैशाख २०८२ २०:१६ शुक्रबार




