२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १३:३९ अपराह्न
समाज

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहनस्वरूप प्रति गाई १० हजार रूपैयाँ अनुदान उपलब्ध गराइने भएको हो।

गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउन प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषकलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त योजना ल्याएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले बताए।

पालिकाले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी आर्थिक वर्ष २०८२/८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्सान कार्यक्रम अघि सारेको हो।

 कार्यक्रमबाट लाभ लिन पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएमा १० हजार रूपैयाँ अनुदान उपलब्ध गराउने जानकारी गराएको छ।

उक्त रकम प्राप्त गर्न कृषकले आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने बताइएको छ।

अनुदान प्राप्त गर्न कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलोपटक ब्याएको व्यहोरा उल्लेख गरिएको कम्तीमा तीन छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए। त्यसकाे साथै निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताए।

गाउँपालिका उपाध्यक्ष निरमाया तरामुकाे अनुसार यसरी अनुदान लिन कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रूपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने छ। पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा विस्तारै लोप हुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्न उक्त अभियान सञ्चालन गर्न लागेको हो।

- रासस

प्रकाशित: ८ श्रावण २०८२ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App