२० मंसिर २०७८ सोमबार
राजनीति

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेका बेला नेता रामचन्द्र पौडेल भने आफ्नो टिम (टोली) बनाउन सक्रिय छन्। महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा पुग्न संस्थापन इतरपक्षका नेताहरूलाई मिलाएर टोली बनाउन पौडेल लागिपरेका हुन्।

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई टोलीमा समेटेर आफू सभापति हुने कसरतमा पौडेल जुटेका छन्। सिंह र शेखरलाई उपसभापतिमा मनाएर पार्टीको १४औं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने रणनीति पौडेलको छ।

तर अहिलेसम्म सिंह र शेखर दुवैले सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै आएका छन्। बरु सिंह र शेखरले पौडेललाई पार्टीको अभिभावक बनेर बस्न सुझाउँदै आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै आएका छन्। 

पौडेलले भने शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने दाबी गर्दै एकपटकका लागि सहयोग गर्न संस्थापन इतर नेताहरूलाई आग्रह गर्दै आएका छन्। वर्तमान सभापति देउवाले फेरि पनि दोहोरिन त्यसैअनुसार तयारी थालेका छन्। पौडेलले देउवालाई हराउन सिंह र शेखर दुवैलाई उपसभापतिको उम्मेदवार बन्न आग्रह गरेको स्रोतको दाबी छ।

१३औं महाधिवेशनमा आफूले सहयोग गरेको भन्दै सिंहले पौडेलको प्रस्ताव अस्वीकार गरी सबैलाई समेटेर आफैँ सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका छन्। शेखरले पनि आफू सभापतिबाहेक अन्य पदमा उम्मेदवार नबन्ने बताउँदै आएका छन्। उनले पार्टीका बहुमत नेता तथा कार्यकर्ता आफ्नो पक्षमा रहेको दाबी गर्दै पौडेललाई सभापतिबाहेक अन्य जिम्मेवारी लिन आग्रह गरेका छन्।

पार्टी महामन्त्री शशांक पनि सभापतिका आकांक्षी हुन्। उनले समेत आफूबाहेक देउवालाई अरूले हराउन नसक्ने दाबी गर्दै आएका छन्। तर, उनलाई पार्टी सरकारमा जाने अवस्थामा प्रधानमन्त्रीसहित पद दिएर मनाउने तयारीमा पौडेल रहेको स्रोतको दाबी छ।

शशांकको प्रस्तावमा नेता मिनेन्द्र रिजाललाई आफ्नो टोलीबाट महामन्त्रीको उम्मेदवार बनाउने आन्तरिक गृहकार्यमा पौडेल छन्। बाँकी एक महामन्त्रीमा गगनकुमार थापालाई अघि सार्ने पौडेलको तयारी छ। 

पौडेललाई भेट्न पुगेका मध्ये धेरैजसो नेता–कार्यकर्ताले थापालाई टोलीमा समेट्न सुझाएको स्रोतको दाबी छ। ‘सबैले उहाँ (थापा) लाई समेट्नुपर्छ भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘महामन्त्रीमा एकजना थापा पक्काजस्तै हो। अर्को एकजनामा शशांक उम्मेदवार नहुँदा मिनेन्द्र रिजाल उम्मेदवार बन्नुहुन्छ।’

थापा १३औं महाधिवेशनमा पौडेललाई सभापति अस्वीकार गर्दै प्रत्याशी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। सिटौलाको सिफारिसमा स्वास्थ्यमन्त्री बनेका थापाले केही समययता उनको समूह छाडेका छन्।

अहिलेसम्म अधिवेशन भएका जिल्लाबाट छानिएका महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा बढी भएको दाबी संस्थापन इतर समूहको छ। ‘जिल्ला सभापति उतातिरका (शेरबहादुर देउवा) मान्छेले जितेका ठाउँमा पनि हाम्रा साथीहरू धेरै नै प्रतिनिधि आउनुभएको छ,’ पौडेल निकट एक नेताले भने, ‘पहिला एकदुई मात्र महाधिवेशन प्रतिनिधि आएका जिल्लामा पनि अहिले आठदसजना हाम्रो पक्षका आएका छन्।’

पार्टी नेतृत्वमा पुग्न संस्थापन इतर नेताहरू मिल्नुको विकल्प नभएको जिकिर गर्दै ती नेताले भने, ‘होइन भने जो जति उम्मेदवार बने पनि केही फरक पर्दैन।’

संस्थापन पक्षबाट देउवा नै उम्मेदवार बन्ने तयारीमा छन्। विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उपसभापति तथा एक महामन्त्री प्रकाशशरण महतलाई बनाउने योजनामा देउवा रहेको निकटहरूको दाबी छ।

संस्थापन पक्षकै उपसभापति विमलेन्द्र निधिले पनि १४औं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने घोषणा गरिसकेका छन्। बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर प्रचार थालेका निधि संस्थापन र इतर दुवै समूहका नेतालाई मिलाएर आफ्नो नेतृत्वमा चुनावमा होमिने गृहकार्यमा छन्।

पूर्वमहामन्त्री सिटौलाले पनि सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका छन्। ‘मसँग को रहन्छ, को रहँदैन, त्यो पछिको कुरा हो,’ सिटौलालाई उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘म सभापतिको उम्मेदवार हो। त्यसैअनुसार तयारी गर्नुस्।’

महाधिवेशन मिति अन्योलमा

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशन तोकिएको मितिमा हुनेमा संशय पैदा भएको छ। मंसिर ९ देखि काठमाडौंमा महाधिवेशन गर्ने कांग्रेस निर्णय छ। तर अझै चार जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्न नसक्दा प्रदेश २ का आठसहित १३ जिल्लामा तल्लो तहको अधिवेशन सुरु भएको छैन। 

एक दर्जन जिल्लाको सबै तहको अधिवेशन सम्पन्न भइसकेको छ। तर बाँकी जिल्लाको तल्लो तहकाअधिवेशनको नयाँ कार्यतालिका अनिश्चित बनेको छ।

दसैंलगतै बस्ने भनिएको केन्द्रीय समिति बैठकले बाँकी जिल्लामा वडासहित सबै तहका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताइएको थियो। तर अहिलेसम्म केन्द्रीय समितिको बैठक बोलाइएको छैन। बैठकले १४औं महाधिवेशनको अन्तिम कार्यतालिका पनि केही संशोधन गर्न सक्ने एक पदाधिकारीले बताए। ‘अब बस्ने बैठकले महाधिवेशन कार्यतालिकामा केही संशोधन गर्न सक्छ,’ ती नेताले भने, ‘अब निर्धारण गरिएको मिति सकेसम्म संशोधन हुँदैन।’

विधानको व्यवस्थाअनुसार चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने कांग्रेसले साढे पाँच वर्ष गुजारी सकेको छ। विधानले दिएको एक वर्षमात्र नभएर संवैधानिक व्यवस्था अनुसार साढे पाँच वर्षमा पनि महाधिवेशन गर्न असफल उसले भदौ १८ गतेबाट वडा तहको अधिवेशन सुरु गरेको हो। 

१३ जिल्लामा कुनै तहको अधिवेशन सुरु भएको छैन भने एक दर्जन जिल्लामा सबै तहको अधिवेशन सकिएको छ। बाँकी जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सकिए पनि अरू तहको अधिवेशन कहिले हुन्छ अनिश्चित छ।

प्रकाशित: २ कार्तिक २०७८ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App