लेखनाथ पुस्तकालय चन्द्रगढीले ‘चूडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार वितरण’ एवम् ‘आलेख’ चूडामणि रेग्मी अङ्क तथा लेखनाथ स्मारिका-२’ लोकार्पण गरेको छ।
पुस्तकालयको सभापति खगिन्द्रा खुसीको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य, झर्रोवादी अभियन्ता एवं अग्रज साहित्यकार चूडामणि रेग्मी र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथ्य रहेको कार्यक्रममा झर्रो शैली सम्मानबाट सम्मानित व्यक्तित्व विर्तामोड निवासी साहित्यकार हरिनारायण भट्टराई र उनकी धर्मपत्नी तिलरुपा भट्टराईलाई मञ्चासन गराइएको थियो।
सम्मानित व्यक्तित्वको छोरी शीला शर्मा र बुहारी उमा अधिकारी भट्टराईको पनि उपस्थिति रहेको थियो। झर्रो शैली सम्मान तथा पुरस्कारको स्थापना झर्रोवादी अभियन्ता चूडामणि रेग्मीका सुपुत्र प्रदीपमणि रेग्मीबाट २०७९ सालदेखि उपलब्ध गराउन प्रारम्भ गरिएको हो।
प्रमुख अतिथि, विशेष अतिथि र पुरस्कारका संस्थापक प्रदीपमणि रेग्मी र कार्यक्रमको सभाध्यक्ष तथा पुस्तकालयको सभापति खगिन्द्रा खुसीले नगद २५,००० रूपैयाँ सहित सम्मानपत्र, अविरटीका, माला, खादा र दोसल्लाले दम्पतीलाई सम्मान अर्पिएका थिए।
सोही कार्यक्रममा लेखनाथ पुस्तकालयबाट प्रकाशित लेखनाथ स्मारिका२ र काठमाण्डौबाट प्रकाशित ‘आलेख चूडामणि रेग्मी अङ्क ’ को लाेकार्पण गरिएको थियो।
लोकार्पण गरिएको गीतकार टीका भट्टराईद्वारा लिखित १०१ गीत सङ्ग्रहित कृति ‘माटोको सुगन्ध’ बारे चन्द्रमणि पौडेलले संक्षिप्त रूपमा प्रकाश पारेका थिए।
गीतकार टीका भट्टराई नेपालले सोही कृतिभित्रबाट सङ्गिनी गीत गाएका थिए। विमोचित कृति आलेख चूडामणि रेग्मी अङ्कको संक्षिप्त समीक्षा लेखनाथ पुस्तकालयका पूर्व सभापति तथा स्रष्टा नवराज घिमिरेले गरेका थिए।

अच्युत घिमिरेद्वारा सम्पादित आलेखभित्र अभागी थेगुवा, कृष्ण धरावासी, प्राडा जीवेन्द्र देव गिरी, झाँक्री खोले, पुण्यप्रसाद खरेल, प्राडा भीम खतिवडा, मधु पोखरेल, राजेश ढुङ्गाना, सरला चापागाई, हरिहर खनाल र आलेखका सम्पादक र प्रकाशक अच्युत घिमिरेका चूडामणि रेग्मीबारे लेखिएका आलेख समेटिएका छन्। लेखनाथ स्मारिका-२ मा शुभकामना, प्रकाशकीय र सम्पादकीयबाहेक ७३ रचना सङ्ग्रहीत छन्।
कृतिलाई संस्मरण, लेखरचना,समीक्षा र समालोचना खण्ड र कविता खण्ड गरी दुई खण्डमा विभाजित गरिएको देखिन्छ। पहिलो खण्डमा ४१ स्रष्टाको लेख छ भने दोस्रो खण्डमा ३२ कविका कविता, गजल र मुक्तक सङ्ग्रहीत छन्।
उक्त कृतिकाे सम्पादकमण्डलमा खगिन्द्रा खुसी, नवराज घिमिरे र होम सुवेदी छन्। यस स्मारिकाको प्रकाशक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह परिवार, पुष्पलाल चोक, भद्रपुर-९ झापा रहेको छ।
स्मारिका सम्पादन मण्डलका सदस्य होम सुवेदीले सम्पादनका क्रममा आइपरेका समस्या र लेख रचना सङ्कलन गर्दा भोगेका अप्ठ्याराेबारे अनुभूति राखेका थिए।
कार्यक्रममा जयप्रसाद आचार्य कविता, दिलीप घिमिरे गजल, मीना अधिकारी कविता वाचेका थिए।
कार्यक्रमको सभापति खगिन्द्रा खुसीले चूडामणि रेग्मीलेको कृति यक्षको पोखरा प्रवाश ’ बाट एउटा कविता वाचन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि पुण्य प्रसाद खरेल र विशेष अतिथि प्राज्ञ सुभद्रा भट्टराईले शुभकामना मन्तव्य राखेका थिए भने सम्मनित स्रष्टा हरिनारायण भट्टराईले पनि सम्मानित एवम् पुरस्कृत हुँदाको आफ्नाे अनुभूति राखेका थिए।
संस्थाका सचिव हरिकिशोर आचार्यले सञ्चालन गरेकाे कार्यक्रममा पुस्तकालयको कार्यसमिति सदस्य निर्मला बाँस्तोलाले कविता वाचनका स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
प्रकाशित: ३ वैशाख २०८२ ०९:२३ बुधबार





