७ वैशाख २०८१ शुक्रबार
राजनीति

हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं : योगेश भट्टराई

नेपाल पक्षले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरु। तस्बिरः माेनिका मल्ल/नागरिक

नेकपा एमाले (माधव नेपाल) समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले आज बालुवाटारमा ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्।

ओलीले बालुवाटारको चियापान कार्यक्रममा नेता कार्यकर्ताहरुलाई नेपाल पक्षको भेलामा नजान र गएमा कारबाही हुनसक्ने बताएका थिए।  

सोही अभिव्यक्तिलाई लिएर नेता भट्टराईले ओलीको आलोचना गरेका हुन्। उनले बुद्धको देशमा शान्तिको भाषा प्रयोग गर्न ओलीलाई आग्रह गरे। ‘यो बुद्धको देशको। बुद्धको देशमा शान्तिको भाषा हुन्छ। प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ,’ उनले भने, ‘आज तपाईंले बालुवाटारमा बोल्नुभएको भाषा शक्तिको भाषा छ। म विनम्रताका साथ भन्न चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस्।’

उनले प्रधानमन्त्रीलाई भोलिको भेलामा उपस्थित हुन पनि आग्रह गरे। ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउनको लागि कसैलाई तपाईंले खटाउनै पर्दैन, आफैं आउनुहोस्। देशभरीबाट आएका तपाईंकै कार्यकर्ता हुन्, तपाईंकै सदस्य हुन्,’ भट्टराईले भने।

ओलीले नेता कार्यकर्ताहरुलाई नेपाल पक्षको भेलामा नजान भनको सन्दर्भमा नेता भट्टराईले अब मुलुक, पार्टी र राजनीति कारबाहीबाट नचल्ने बताए। ‘कारबाहीको कुरा गर्नुभएको छ। कारबाहीले मुलुक, राजनीति र पार्टी अगाडि बढ्दैन। यो अहंकारीपूर्ण अभिव्यक्ति हो। हामीलाई कुनै पश्चाताप छैन। हामी कारबाहीका लागि लामवद्ध भएर उभिन तयार छौं,’ उनले भने, ‘किनभने हामी मुलुकको लागि, संविधानको लागि र हामीले पाएको जनसमर्थको पक्षमा उभिएको मान्छे हो।’

प्रकाशित: ३ चैत्र २०७७ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App