जिल्लामा परीक्षण गर्न नसकिने मानव जैविक नमूना संकलन गरेर कुरियर सेवामार्फत कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाई परीक्षण सुरु गरिएको छ। ताप्लेजुङबाट पहिलो पटक यस्तो नमूना कुरियरमार्फत प्रयोगशालामा पठाएर परीक्षण थालिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले बताए।
ताप्लेजुङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले यस्ता नमूना संकलन गरेर प्रयोगशालासम्म पठाउने जिम्मा नेपाल क्यान मुभलाई दिएका छन्। प्रभावकारी प्याकेजिङ र ढुवानीपछि ताप्लेजुङबाट पहिलो पटक संकलित मानव जैविक नमूना परीक्षणका लागि कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पुगेको कार्कीले जानकारी दिए।
नेपाल क्यान मुभले संकलित नमूना ढुवानी गरेर प्रयोगशालासम्म पठाउने जिम्मेवारी पाएको छ। यो संस्था कुरियरजस्तै सेवा दिने निकाय हो। कोशी प्रदेशका १४ जिल्लाबाट संकलित मानव जैविक नमूना ढुवानी गरेर प्रयोगशालासम्म पठाउने काम पनि नेपाल क्यान मुभले नै गर्नेछ। ढुवानी खर्च प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नै बेहोर्ने कार्कीले बताए।
उनका अनुसार जिल्लामा परीक्षण गर्न नसकिने अवस्थाका बिरामीले सम्बन्धित जिल्ला अस्पतालमा नमूना दिन्छन्। स्वास्थ्यकर्मीले त्यसलाई राम्ररी प्याक गरेर नेपाल क्यान मुभलाई जिम्मा लगाउँछन्। त्यसपछि यो संस्थाले सुरक्षित तरिकाले प्रयोगशालासम्म पु¥याउँछ। प्रयोगशालाले नमूना परीक्षण गरेर नतिजा सम्बन्धित जिल्ला अस्पतालमा पठाउँछ।
जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले परीक्षण गर्न नसक्ने खालका मानव जैविक नमूना संकलन गरेर कुरियरमार्फत प्रयोगशालामा पठाई नतिजा दिने यो अभियान नेपालमै पहिलो पटक कोशी प्रदेशले सुरु गरेको हुन सक्ने बताइएको छ। यसअघि प्रयोगशालाले जिल्लाका अस्पतालसँग यो विषयमा सम्झौता गरेको थियो। सम्झौताअनुसार कोशी प्रदेशका जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले नमूना संकलन गर्छन्। संकलित नमूना नेपाल क्यान मुभले सुरक्षित, भरपर्दो र विश्वसनीय तरिकाले प्रयोगशालासम्म पु¥याउन थालेको ताप्लेजुङ प्रतिनिधि मनिषा निरौलाले बताइन्।
जिल्लामा परीक्षण सम्भव नहुने तर नतिजा अनिवार्य चाहिने बिरामीका लागि यो अभियान निकै उपयोगी हुने ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमाण जैरुले बताए। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना संकलन गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई संकलन, प्याकेजिङ र भण्डारणबारे तालिम दिने योजना बनाएको छ।
कुरियर निकायलाई पनि व्यवस्थापनबारे अभिमुखीकरण गराइनेछ। स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले मापदण्डअनुसार संकलन, भण्डारण, व्यवस्थापन र ढुवानीमा ध्यान दिए यो अभियान प्रभावकारी र लाभदायक हुने विश्वास व्यक्त गरे।
प्रकाशित: २२ चैत्र २०८१ १९:२१ शुक्रबार