काठमाडौं उपत्यकाको वायु प्रदूषण कम भएको छ। बुधबार दिउँसोदेखि परेको छिटपुट वर्षा र सामान्य हावाहुरीका कारण उपत्यकाको वायु गुणस्तरमा सुधार देखिएको हो।
बुधबार दिउँसोबाट सुरु भएको वर्षा गएराति र बिहीबार बिहान पनि जारी रह्यो। वर्षासँगै चलेको हावाहुरीले लामो समयदेखि थुप्रिएको धुलो र डढेलोको धुवाँ हटाएपछि वायु प्रदूषणमा उल्लेख्य कमी आएको हो।
'एयर क्वालिटी इन्डेक्स' (एक्यूआई) अनुसार हिजोसम्म विश्वमै सबैभन्दा प्रदूषित शहर रहेको काठमाडौं बिहीबार साँझको मापनमा १५ औं स्थानमा झरेको छ। साँझको मापन अनुसार काठमाडौंको समग्र एक्यूआई ९४ रहेको छ।

यस समय वायु प्रदूषणको दृष्टिले इराकको बगदाद पहिलो, मङ्गोलियाको उलानबाटार दोस्रो र म्यानमारको याङ्गुन तेस्रो स्थानमा छन्।

विगत लामो समयदेखिको खडेरी र उपत्यका आसपासका जंगलमा लागेको डढेलोका कारण काठमाडौंको वायु प्रदूषण अत्यधिक बढेको थियो।
तर पछिल्लो वर्षाले डढेलो निभाउने कामसमेत गर्यो। केही दिनयता वायु गुणस्तरमा सुधार आए पनि काठमाडौं उपत्यका हिजोसम्म विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा रहेको थियो। केही दिनअघि उपत्यकाको एक्यूआई ३५२ सम्म पुगेको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनु उपयुक्त मानिन्छ। यद्यपि ५० सम्मको एक्यूआईलाई सामान्य, ५१ देखि १०० सम्मलाई सतर्कता अपनाउनुपर्ने (पहेंलो सङ्केत) स्तरका रूपमा लिइन्छ।
त्यस्तै, १०१ देखि १५० सम्मको एक्यूआईले स्वासप्रस्वास तथा मुटुरोगीलाई असर पुर्याउने, १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर, २०१ देखि ३०० सम्मलाई अति अस्वस्थकर अवस्था र ३०१ देखि ४०० सम्मलाई खतरनाक मानिन्छ। ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा सूचकको रूपमा लिइन्छ।
प्रकाशित: २८ चैत्र २०८१ १८:३९ बिहीबार





