पूर्व पश्चिम लोकमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ७ कसाहा खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । अर्का एकको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
बुधबार बिहान करिब साढे ११ बजेतिर विपरीत दिशामा रहेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा सुखीपुर नगरपालिका ८ का करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका १२ का करिब २८ वर्षीय सन्तोषकुमार यादव गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा धनगढीमाई ९ मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानका अनुसार सन्तोषले चलाएको मोटरसाइकलको पछाडि बसेका सिरहा नगरपालिका १२ का अन्दाजी २४ वर्षीय सिकन्दर यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको छ ।
प्रकाशित: २८ चैत्र २०८१ १७:५६ बिहीबार





