खानेपानी, सरसफाई र ढल व्यवस्थापनको क्षेत्रमा खानेपानी मन्त्रालयले महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित खानेपानी मन्त्रालय र इसिमोडबीचको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले मन्त्रालयले नीतिनिर्माणदेखि योजना कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र समन्वयसम्मका काम गरिरहेको स्पष्ट पारे।
उनले भने, ‘खानेपानी मन्त्रालयले नागरिकलाई सुरक्षित पानी र सरसफाई सेवा प्रदान गर्न क्षेत्रीय, संस्थागत र अन्तर–निकाय समन्वयलाई उच्च प्राथमिकता दिएको छ।’
मन्त्री यादवले नेपालका पहाडी तथा तल्लो तटीय क्षेत्रका समुदायलाई सुरक्षित, दिगो र गुणस्तरीय पानी तथा सरसफाई सेवा उपलब्ध गराउन मन्त्रालय र इसिमोडबीच साझा उद्देश्य र लक्ष्य तय गरिएको जानकारी दिए।
उनले सहकार्यको माध्यमबाट अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता विकास र सूचनाको आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख गर्दै भने, ‘यस सहकार्यले नेपालमा पानी, सरसफाई र स्वच्छता क्षेत्रमा दीगो र प्रभावकारी विकास सुनिश्चित गर्न मद्दत गर्नेछ।’
कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकार, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू, जस्तै संयुक्त राष्ट्र विकास कार्यक्रम, विश्व बैंक र एशियाली विकास बैंकजस्ता निकायहरूको सहकार्यमा नागरिकलाई सुरक्षित पानी र सरसफाई सेवा विस्तार भइरहेको पनि बताए।
उनले जलवायु परिवर्तन र भूकम्पका कारण सेता हिमाल कालो हुँदै गएको र तराई–मधेसको भूमिगत पानी सतह घट्दै गएको अवस्थाले ठूलो चुनौती खडा गरेको बताए।
‘पानीका मुहान सुक्दै गएकाले अबको यात्रा सजिलो छैन,’ मन्त्री यादवले भने।
उनले हालै नेपाल र भारत सरकारबीच पानी, सरसफाई र फोहोर व्यवस्थापन सम्बन्धी हस्ताक्षर भएको तथा चैत २२ गते खानेपानी र ऊर्जा मन्त्रालयबीच पानीको उपयोगसम्बन्धी सहयोग सम्झौतामा पनि हस्ताक्षर भइसकेको जानकारी दिए।
सो अवसरमा मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालय र इसिमोडबीच भएको सहकार्य सम्झौताले सुक्दै गएका पानीका मुलहरू पुनर्जीवन पाउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘पानीका सुक्दै गएका मुहानलाई रिचार्ज गरेर आगामी पुस्तालाई पानीको व्यवस्था मिलाउने दिशामा यो सम्झौता महत्वपूर्ण हुने छ।’
सम्झौतापत्रमा मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ र इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले हस्ताक्षर गरेका थिए।
कार्यक्रममा मन्त्रालयका सहसचिव ई. रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, इसिमोडका प्रतिनिधि तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: २८ चैत्र २०८१ १९:३० बिहीबार





