३ वैशाख २०८२ बुधबार
image/svg+xml २३:१ अपराह्न
राजनीति

जलाद खोलामा अवैध उत्खनन भेटिएपछि मुख्यमन्त्रीको एक्सन : सात टिपर र दुई जेसिबी जफत

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार दिउँसो धनुषाको मिथिला नगरपालिका–४ मा पर्ने जलाद खोलाको अनुगमन गरेका छन्। 

अनुगमनका क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको पाइयो। त्यसपछि उत्खनन र ओसारपसारमा प्रयोग भएका सात टिपर र दुई जेसिबी मेसिन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाइएको छ। 

मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्छ। त्यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य हुन्छ। सो प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्छ।  

‘वन मन्त्रालयको स्वीकृति पश्चात् मात्र सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति जनाउँछ र त्यसपछि मात्र स्थानीय तहले ढुंगा, गिट्टी र बालुवा उत्खननको ठेक्का दिन पाउँछ,’ उनले भने, ‘तर मिथिला नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन आफैंले स्वीकृत गरेको देखियो, जुन वैधानिक प्रक्रियाविपरीत छ।’  

यसरी स्वीकृति नलिई खोलामा ठेक्का लगाएर उत्खनन कार्य अघि बढाएको पाइएपछि मुख्यमन्त्री सिंहले सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्। 

उनले अनुगमनका क्रममा अवैध उत्खननको विरुद्ध कडा कारबाही गरिने चेतावनी पनि दिए। ‘सरकारले वातावरणीय संरक्षण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। नियमविपरीत गतिविधि गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याइनेछ,’ उनले भने। 

प्रकाशित: २२ चैत्र २०८१ २०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App