११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सुकुना क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले उच्च शिक्षाको दिगोपनका लागि पूर्व क्षेत्रमै पहिलो पटक आगामी वैशाख ६ र ७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ।

सुकुना क्याम्पस शैक्षिक केन्द्र बन्दै गएको अवस्थामा शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक, विज्ञान र प्रविधि क्षेत्रमा ज्ञानको खोजी गर्न सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक सहायक क्याम्पस प्रमुख गणेश दहालले बताए। उनका अनुसार क्याम्पसले ठूलो क्षेत्र समेट्ने गरी खास विषयमा अन्तर्राष्ट्रिय भेला, सम्मेलन र कार्यशाला गरेर ज्ञान संकलन, प्रतिपादन र विस्तार गर्न यो कार्यक्रम आयोजना गरेको हो।  

‘उच्च शिक्षामा दिगोपन: स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ विषयमा हुने यो सम्मेलनमा स्थानीय ज्ञान, विश्वव्यापी अभ्यास र तिनका प्रयोगबारे बौद्धिक छलफल र बहस हुने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताए। सुकुना क्याम्पसले कोशी, मधेश र आंशिक रूपमा अन्य प्रदेशका विद्यार्थीलाई उच्च शिक्षा दिइरहेको छ।  

सम्मेलनको पहिलो दिन १८ वटा प्यानल सेसनमा चारदेखि छ ठाउँमा अवधारणापत्र प्रस्तुत हुनेछन्। दोस्रो दिन २७ वटा अवधारणापत्र छ ठाउँमा प्रस्तुत गरिनेछन्। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारतको गुवाहाटीस्थित आसाम डाउनटाउन युनिभर्सिटीका उपकुलपति प्राध्यापक डाक्टर नारायणचन्द्र तालुकदार, गोविन्द गुरु विश्वविद्यालय गुजरातका उपकुलपति प्राध्यापक डाक्टर प्रतापसिंह चौहान र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाँ मुख्य वक्ताको रूपमा सहभागी हुनेछन्। 

त्यस्तै, कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलिया, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजु थपलिया, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्राध्यापक डाक्टर बालचन्द लुइँटेल र काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवाली पनि मुख्य वक्ताको रूपमा सहभागी हुनेछन्।  

सम्मेलनमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापक डाक्टर देवेन्द्र अधिकारी, प्राध्यापक डाक्टर बासुदेव काफ्ले, नेपालका लागि अमेरिकी राजदूतावासका अंग्रेजी भाषा क्षेत्रीय अधिकारी रोजर एफ कोहेन र प्रिन्स अफ सोङ्कला विश्वविद्यालय थाइल्यान्डका सहप्राध्यापक डाक्टर अपिराडी लिमले समूहगत वक्ताको रूपमा प्रस्तुति दिनेछन्। विभिन्न शिक्षाविद्को प्यानल छलफल पनि हुनेछ। यो कार्यक्रममा विश्वविद्यालय, क्याम्पस र उच्च शिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व गरी कम्तीमा ३०० जना सहभागी हुने अपेक्षा आयोजक समितिका सदस्य गुणराज नेपालले बताए।  

कार्यक्रमका लागि २४ लाख रुपैयाँ खर्च हुने अनुमान छ। यो रकम प्रदेश सरकार, विभिन्न नगरपालिका र गाउँपालिका, विश्वविद्यालय अनुदान आयोग, व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानबाट प्राप्त अनुदान र सहयोगबाट जुटाइनेछ। अवधारणापत्र प्रस्तोता र सहभागीबाट पनि शुल्क लिइनेछ भने बाँकी रकम क्याम्पसको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने क्याम्पस प्रमुख अधिकारीले बताए।  

कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमिति बनाएर जिम्मेवारी दिइएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललित श्रेष्ठले बताए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर सुनिश्चितता प्रत्यायन गरेको छ। यहाँ स्नातक तहमा बिएड, बिबिएस, बिएस्सी, बिए, बिबिए, बिआईसीटीई र बिएड विज्ञान कार्यक्रम सञ्चालित छन्। स्नातकोत्तर तहमा एमएड र एमबिएस कक्षा चलिरहेका छन्। उच्च शिक्षा र कक्षा ११ तथा १२ मा गरी चार हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २२ चैत्र २०८१ १९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App