प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक भएको र बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सफल भएको बताए। यो शिखर सम्मेलन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ।
थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनका लागि बैंककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि आज प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गरे। त्यहाँ उनले यो भ्रमण सफल रहेको बताए।
नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको यो पहिलो भ्रमण हो। ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताले ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपाल भ्रमणको निम्ता दिए। दुईपक्षीय वार्तामा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो।
उनले नेपाली राजदूतावास आफ्नै जग्गामा सञ्चालन भएकोमा खुसी व्यक्त गरे। साथै, आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावास अवलोकन गरे।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले भ्रमण दललाई स्वागत गर्दै दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराए।
आज साँझ दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा उनीसहित भ्रमण दलका सदस्य र त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधि सहभागी भए।
शिखर सम्मेलनले यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर ‘समृद्धि, अनुकूलन र खुलापन’ को नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित छ बुँदे प्रस्ताव पारित गरेको थियो। रासस
प्रकाशित: २२ चैत्र २०८१ २०:२० शुक्रबार